नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आगामी निर्वाचनमा गठबन्धनमा रहेका दलहरू मिलेर जाने बताएका छन्। बिहीबार रिपाेर्टर्स क्लबको २४औँ वार्षिकोत्सव समारोहलाई सम्बोधन गर्दै अध्यक्ष दाहालले आगामी निर्वाचनमा गठबन्धनका दलहरू मिलेर जाने बताएका हुन्।
संविधान, लोकतन्त्र र राष्ट्रियताको रक्षाको निम्ति गठबन्धन बनेको उल्लेख गर्दै उनले गठबन्धनलाई अगाडि बढाउन आफूहरू प्रस्ट रहेको बताए। उनले गठबन्धनको सम्बन्धमा कांग्रेस केन्द्रीय कमिटी बैठकले निर्णय गरेसँगै अब गठबन्धन हुने कि नहुने भन्ने द्विविधा नरहेको प्रस्ट पारे।
‘गठबन्धन एउटा सन्दर्भमा जन्मिएको हो। हामीले संविधान, लोकतन्त्र र राष्ट्रियताको रक्षाको निम्ति गठबन्धन भनेर बनाएका छौँ। अब निर्वाचन अगाडि छ, र गठबन्धनकै रूपमा जाने भन्नेतिर हामी प्रस्टै छौँ। नेपाली कांग्रेसको कार्यसमितिले के गर्ला भन्ने थियो, कार्यसमितिको पनि करिबकरिब गठबन्धनलाई कायम राखेर जाने भन्ने भइसकेपछि त्यसमा कुनै द्विविधा हामीभित्र छैन। हामी मिलेर नै जान्छौँ,’ अध्यक्ष प्रचण्डले भने।
देशको अर्थतन्त्रमा समस्या देखिएको भन्दै उनले समस्या समाधान गर्न गठबन्धनमा छलफल भइरहेको बताए। उनले देशको अर्थतन्त्रको अवस्थाको सम्बन्धमा बृहत्तर छलफल आयोजना गरेर साझा निष्कर्ष निकालेर समाधानको उपाय खोजिने बताएका छन्।