निर्वाचनकेन्द्रित एजेन्डाहरू रहँदै अखिल नेपाल फुटबल संघ (एन्फा)को विशेष साधारणसभा सुरु भएको छ। साधारणसभाको मुख्य एजेन्डा जेठ १५ मा हुने चुनावका लागि निर्वाचन समिति गठनसम्बन्धी रहेको छ। साधारणसभामा निर्वाचन पुनरावेदन समिति गठनसम्बन्धी छलफलसमेत हुनेछ।
त्यस्तै, चुनावका लागि संघको वार्षिक कार्यक्रम तथा बजेट एवं आर्थिक वर्ष ०७७–७८ को लेखा परीक्षण प्रतिवेदन पारित गर्नेसम्बन्धी र निर्वाचनमा सहभागी उम्मेदवारको मनोनयन शुल्क सम्बन्धमा छलफल हुनेछ।
एन्फा कार्यसमितिले सहमतिमा श्रीराम दवाडीको संयोजकत्वमा पाँच सदस्यीय निर्वाचन समिति बनाउने प्रस्ताव गर्ने भएको छ। समितिको सहसंयोजकमा रामचन्द्र गौतम तथा दामोदर भट्टराईको नाम प्रस्ताव हुनेछ। यसैगरी, प्रस्तावित निर्वाचन समितिको वैकल्पिक सदस्यमा सरस्वती श्रेष्ठ र प्रतिमा कार्की रहनेछन्।
त्यस्तै, विशेष साधारणसभामा एन्फा कार्यसमितिको तर्फबाट अध्यक्ष पदका लागि उम्मेदवारको मनोनयन शुल्क प्रस्ताव गरिनेछ। लामो समयपछि हुन लागेको साधारणसभामा भाग लिन देशभरबाट प्रतिनिधिहरू काठमाडौं आइसकेका छन्। फागुन ८ गतेलाई पहिलोपटक विशेष साधारणसभा बोलाइँदा तीन एजेन्डा तय गरिएको थियो। तर, दुईपटक स्थगित भएपछि आजका लागि साधारणसभाको सूचना जारी गर्दा एन्फा सचिवालयले एक एजेन्डा थप गरेको हो।
एन्फाको गत फागुनमै हुने भनिएको विशेष साधारणसभा दुईपटक स्थगित भएको थियो। एन्फाले फागुन ८ का लागि विशेष साधारणसभा तय गरेको थियो।