पूर्वकप्तान रोहितकुमार पौडेलको शतकको सहयोगमा नेपालले आइसिसी पुरुष क्रिकेट विश्वकप लिग २ मा आइतबार क्यानडामाथि २४ रनको जित निकालेको छ । नेपालले विश्वकप लिग २ मा महत्वपूर्ण २ अंक जोड्दै एकदिवसीय मान्यता जोगाउने सम्भावना कायम राखेको छ । ओमानस्थित अल अमेरात मैदानमा टस हारेर ब्याटिङ गरेको नेपालले निर्धारित ५० ओभरमा अलआउट हुँदै २३५ रनको मध्यम योगफल खडा गरेको थियो ।
प्रत्युत्तरमा क्यानडाले ४८.४ ओभरमा अलआउट हुँदा २११ रन बनाएको थियो । नेपालको जितमा रोहितको शतकीय इनिङ्ससँगै गुल्सन झाले आक्रामक ब्याटिङ गरेका थिए । बलिङतर्फ नन्दन यादव, करण केसी, ललित राजवंशी र कप्तान सन्दीप लामिछाने चम्किएपछि क्यानडाको ब्याटिङ कमजोर भएको हो । जितपछि नेपाल क्यानडालाई पछि पार्दै छैटौँ स्थानमा उक्लिएको छ । नेपालको ३३ खेलबाट २६ अंक छ । ३४ खेल खेलेको क्यानडा २५ अंकसहित सातौँ स्थानमा झरेको छ ।
१९ अंक जोडेको युएई आठौँ स्थानमा छ । विश्वकप लिग २ मा अमेरिका ४७ अंकसहित लिग २ को च्याम्पियन बनिसक्यो । अमेरिकासँगै स्कटल्यान्ड, नेदरल्यान्ड्स र ओमानले आगामी चार वर्षलाई एकदिवसीय मान्यता जोगाइसकेका छन् । यी चार शीर्ष राष्ट्रले आगामी वर्ष हुने एकदिवसीय विश्वकप क्रिकेट प्रतियोगिताको ग्लोबल छनोटमा स्थान बनाएका छन् । नेपालले ग्लोबल छनोटमा स्थान बनाउन गणितीय आधार बनाएको छ । अब, बाँकी तीन खेल जित्दा नेपाललाई कम्तीमा एकदिवसीय मान्यता जोगाउने अवसर छ । अब, नेपालले १३ अक्टोबरमा ओमानसँग खेल्नेछ ।
रोहितले बनाए १०१ रन
रोहितले आफ्नो एकदिवसीय करिअरमा तेस्रो शतक लगाएका हुन् । २४ वर्षीय रोहितले यसअघि कीर्तिपुर मैदानमा पपुवा न्युगिनी र युएईविरुद्ध दुबईमा शतक बनाएका थिए । एकदिवसीयमा तेस्रो शतक प्रहार गर्ने उनी एक मात्र नेपाली क्रिकेटर हुन् । क्यानडाविरुद्ध रोहितले १२७ बलमा आठ चौका र एक छक्कासहित १०१ रन बनाएका हुन् ।
३४ बल सामना गरेका गुल्सनले चार चौका र तीन छक्कासहित ४८ रनको महत्वपूर्ण योगदान दिए । रोहित र गुल्सनबिच छैटौँ विकेटका लागि सर्वाधिक ८२ रनको साझेदारी भएको थियो । रोहित र बसिर अहमदबिच ७७ रनको साझेदारी भएको हो । बसिरले ५७ बलमा ३० तथा अर्जुनले ५४ बलमा २३ रन बनाएका थिए ।
यसअघि ओपनर आसिफ शेखले चार रन बनाए भने ईशान पाण्डे डकआउट भए । नेपालले इनिङ्सको २.६ ओभरमा १० रन बनाउँदा विकेट गुमाएको थियो । त्यसपछि रोहितले अर्जुन, बसिर र गुल्सनसँग गतिलो साझेदारी गर्दै नेपाललाई सम्मानजनक स्थितिमा पुर्याएका थिए ।
अलराउन्डर दीपेन्द्रसिंह ६, करण केसी चार तथा नन्दन यादव दुई रन बनाएर आउट भए । क्यानडाका लागि अखिल कुमारले चार विकेट हात पारे । उनले १० ओभरमा एक मेडनसहित ६८ रन खर्चिएका थिए । सुखजिन्द सिंहले तीन तथा जाहिद सिर्जादले दुई विकेट लिएका थिए ।
धर्मराएको क्यानडाको ब्याटिङ
नेपाली बलरले लगातार दबाब बनाएपछि क्यानडाको ब्याटिङ खासै चल्न सकेन । आरोन जोनसनले सर्वाधिक ४४ रन बनाएका थिए । उनले ४९ बलमा ६ चौका हिर्काए । समित गोहिल ३५ रन बनाउँदा दीपेन्द्र सिंह र आसिफ शेखबाट रन आउट आउट भए । श्रेयस मोब्बा र हम्जा तरिकले समान २६ रन बनाए । अखिल कुमारले नटआउट ३० रनको योगदान गरे । नेपालका लागि सन्दीप लामिछाने, ललित राजवंशी, करण केसी र नन्दन यादवले समान दुई विकेट लिएका थिए ।
नेपालका सर्वाधिक शतक लगाउने रोहित
सन् २०१८ मा नेपालले नेदरल्यान्ड्ससँग आधिकारिक रूपमा पहिलोपटक एकदिवसीय खेल खेलेको थियो । एकदिवसीय मान्यता पाएको आठ वर्षमा नेपालबाट अहिलेसम्म १३ शतकीय इनिङ्स भएका छन् । यसमा सबैभन्दा धेरै शतक लगाउने सूचीको शीर्ष स्थानमा पूर्वकप्तान रोहित उक्लिएका छन् ।
उनले क्यानडाविरुद्ध लगाएको शतक करिअरकै तेस्रो रह्यो । यसअघि रोहित, कुशल भुर्तेल, आसिफ शेख र दीपेन्द्रसिंह ऐरीले समान दुई शतक लगाएका थिए । अब रोहितले उनीहरूलाई उछिनेका छन् । नेपालबाट ५० ओभरको फम्र्याटमा पहिलो शतकीय इनिङ्स खेल्ने पारस खड्का हुन् ।
उनले सन् २०१९ मा युएईविरुद्ध ११५ रन बनाएका थिए । एकदिवसीय खेलमा नेपालका लागि सबैभन्दा बढी रन बनाउने खेलाडी पनि रोहित नै हुन् । उनले ९० खेलमा ८५ इनिङ्स ब्याटिङ गरी दुई हजार ४५४ रन बनाएका छन् । यसक्रममा १२ अर्धशतकीय इनिङ्स खेलेका छन् । उनले १७४ चौका र ४३ छक्का प्रहार गरेका छन् ।
