प्रमुख प्रतिपक्षी दल एमालेले स्थानीय निर्वाचनको घोषणापत्रलाई अन्तिम रूप दिन भर्चुअल बैठक बोलाएको छ । राजधानीको एक पाटी भेन्युमा आइतबार बसेको एमाले स्थायी कमिटी बैठकले १६ चैतमा हुने भर्चुअल बैठकमा केन्द्रीय नेतासहित विज्ञ, प्रदेश र जिल्ला कमिटीका पदाधिकारी, स्थानीय तहका इन्चार्ज र अध्यक्ष तथा एमालेबाट निर्वाचित स्थानीय तहका प्रमुख र उपप्रमुखलाई सहभागी गराउने निर्णय गरेको स्थायी कमिटी सदस्य भीम आचार्यले जानकारी दिए ।
यस्तै, घोषणापत्र मस्यौदा कमिटीका सदस्यहरू, एमालेको अर्थ र योजना विभागका प्रमुख, परराष्ट्र मामिला विभागका प्रमुख र कानुन विभागका प्रमुख पनि सहभागी हुनेछन् ।
आगामी १६ चैतमा हुने अर्चुअल बैठकमा अध्यक्ष केपी ओलीले संक्षिप्त राजनीतिक प्रतिवेदन पनि पेस गर्नेछन् । त्यसपछि घोषणापत्रको मस्यौदापत्रमाथि छलफल हुनेछ ।
केन्द्रीय घोषणापत्रको मस्यौदामा स्थायी कमिटीका सदस्यले २० चैतसम्म लिखित रूपमा सुझाब दिएपछि अन्तिम रूप दिने निर्णय बैठकले गरेको छ । बैठकले मूल्यवृद्धि नियन्त्रण गर्न सरकारसँग मागसमेत गरेको छ । जनतालाई राहत दिन सरकार अनुदार बनेको आरोप एमालेको छ ।
बैठकमा पाँच वर्षको कामको समीक्षा, कानुनी पक्ष, नीति र योजना, शिक्षा, स्वास्थ्य, रोजगारी, पर्यटन, सहरी विकास, विद्युतीकरण, कला, संस्कृति र सम्पदा, गरिबी निवारण, भूकम्पपछिको पुनर्निर्माणलगायतका विषयमा छलफल हुने आचार्यले जानकारी दिए । स्थानीय प्रतिबद्धता तयार पार्न पनि बैठकले सहजीकरण गर्ने उनले बताए ।
नेपाल कम्युनिस्ट पार्टीको स्थापना दिवसको अवसरमा एमालेले ९ वैशाखमा घोषणापत्र सार्वजनिक गर्ने तयारी गरेको छ।