घुससहित पक्राउ परेका दुई वडाध्यक्षलाई सफाइ

आइतबार, ६ चैत, २०७८
डिजिटल संस्करण

घुस रकमसहित पक्राउ परेका दुई वडाध्यक्षलाई विशेष अदालतले सफाइ दिएको छ । शुक्रबार विशेष अदालतका दुई इजलासले नवलपरासीको रामग्राम नगरपालिका– १८ का वडाध्यक्ष गोपाल डिस्वा मगर र रुपन्देहीको रोहिणी गाउँपालिका– २ का वडाध्यक्ष सरोजकुमार पाण्डेलाई सफाइ दिने आदेश गरेको हो । 

विशेषका अध्यक्ष श्रीकान्त पौडेल तथा न्यायाधीशहरू बलभद्र बाँस्तोला र खुसीप्रसाद थारूको इजलासले नवलपरासीको रामग्राम नगरपालिका– १८ का वडाध्यक्ष गोपाल डिस्वा मगरलाई सफाइ दिएको हो । मगरविरुद्ध रिसवत (घुस) मुद्दामा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले दुई वर्षअघि अभियोगपत्र दायर गरेको थियो । २७ पुस ०७६ मा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले दायर गरेको मुद्दामाथि शुक्रबार विशेषले फैसला सुनाएको हो । 

मगरले सेवाग्राहीसँग दुई लाख रुपैयाँ घुस लिएको आरोप अख्तियारको थियो । उनले सेवाग्राहीको नाता प्रमाणित, घर–गोठ बाटो प्रमाणित तथा औषधि उपचार सिफारिस गरिदिने बहानामा उक्त रकम माग गरेको अभियोगपत्रमा जनाइएको छ । उनी अध्यक्ष रहेकै वडाबाट उनलाई आयोगको टोलीले नियन्त्रणमा लिएको थियो । यस घटनामा मगरसहित लेखनदास रवीन्द्रप्रसाद यादव पनि पक्राउ परेका थिए । उनीविरुद्ध भने सोही वर्ष ९ पुसमै भ्रष्टाचार मुद्दा दायर भएको थियो । घुसका लागि दुरुत्साहन गरेको र मिलेमतो गरेको आरोप लागेका यादवलाई पनि अदालतले सफाइ दिएको छ । 

रुपन्देहीको रोहिणी गाउँपालिका– २ का वडाध्यक्ष पाण्डेलाई पनि २८ मंसिर ०७७ मा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले घुस लिएको दाबी गर्दै मुद्दा दायर गरेको थियो । शुक्रबार न्यायाधीशत्रय रमेशकुमार पोखरेल, यमुना भट्टराई र शालिग्राम कोइरालाको इजलासले उनलाई सफाइ दिएको हो । उनले स्थानीय सहकारीबाट अनुदानका लागि सहजीकरण गरिदिएबापत सेवाग्राहीसँग ४५ हजार रुपैयाँ घुस मागेको उजुरी परेपछि आयोगको बुटवलस्थित कार्यालयले नियन्त्रणमा लिएको थियो । 

सुझावित समाचार