चालू आर्थिक वर्षमा सरकारले ऋण र अनुदान गरी दुई खर्ब ५६ अर्ब रुपैयाँ वैदेशिक सहयोग ल्याउने लक्ष्य लिएको छ, अहिलेसम्म शोधभर्नाबापत अनुदान ४० अर्ब ३५ करोड तथा ऋण ६६ अर्ब ९४ करोड आएको छ
सरकारले वैदेशिक सहायतामा भएका आयोजनाको शोधभर्नाबापत करिब एक खर्ब रुपैयाँ भित्र्याएको छ । चालू आवको हालसम्म कुल एक खर्ब सात अर्ब २९ करोड रुपैयाँ भित्रिनुपर्नेमा अहिलेसम्म ९९ अर्ब ५२ करोड प्राप्ति भइसकेको महालेखा नियन्त्रकको कार्यालयले जानकारी दिएको छ । अहिलेसम्म शोधभर्ना हुनेमा अनुदान ४० अर्ब ३५ करोड तथा ऋणबापत ६६ अर्ब ९४ करोड हो । प्राप्ति भएकोमध्ये अनुदान ३१ अर्ब पाँच करोड र ऋण ६८ अर्ब ४७ करोड रुपैयाँ छ ।
चालू आर्थिक वर्षमा सरकारले ऋण र अनुदान गरी दुई खर्ब ५६ अर्ब रुपैयाँ वैदेशिक सहयोग ल्याउने लक्ष्य लिएको छ । सरकारले बजेटको अर्धवार्षिक समीक्षामार्फत अनुदानतर्फ ५० अर्ब र वैदेशिक ऋणतर्फ दुई खर्ब ६ अर्ब ४६ करोड खर्च हुने संशोधित अनुमान गरेको हो ।
खर्च कम हुँदा सञ्चित कोषको घाटा घट्यो
चालू आर्थिक वर्षको हालसम्मको अवधिमा आम्दानीको तुलनामा खर्च अपेक्षित रूपमा कम हुँदा संघीय सञ्चित कोषको घाटा कम भएको छ । चालू आर्थिक वर्षमा हालसम्म सात खर्ब ४३ अर्ब ८० करोड रुपैयाँ आम्दानी गरेकोमा ६ खर्ब ८१ अर्ब ५३ करोड रुपैयाँ खर्च भएको छ । यस हिसाबले चालू आर्थिक वर्षको हालसम्मको अवधिमा सरकारको बचत ६२ अर्ब २७ करोड भएको छ । यो रकमले गत आर्थिक वर्षको अन्त्यसम्ममा एक खर्ब आठ अर्ब ७९ करोड घाटामा रहेको संघीय सञ्चित कोषको घाटा कम गर्न सहयोग पुगेको छ । अझै पनि संघीय सञ्चित कोष ४६ अर्ब ५२ करोड रुपैयाँ घाटामा रहेको छ ।
बेरुजुको अवस्था
आन्तरिक लेखापरीक्षणको एकीकृत वार्षिक प्रतिवेदनअनुसार विनियोजनतर्फ आन्तरिक लेखापरीक्षणमा २५ अर्ब दुई करोड बेरुजु देखिएको छ । जसमा १४ खर्ब ७४ अर्ब ६४ करोड रुपैयाँ विनियोजन गरिएको थियो भने ११ खर्ब ९६ अर्ब ६० करोड रुपौयँ निकासा–खर्चबाट यो बेरुजु देखिएको हो । त्यस्तै, राजस्वतर्फ २३ करोड ६१ लाख, धरौटीतर्फ ६ लाख र कार्य सञ्चालन कोषतर्फ २९ लाख रुपैयाँ बेरुजु देखिएको छ ।
आन्तरिक लेखापरीक्षणका लागि छुट्टै जनशक्ति
महालेखा नियन्त्रक कार्यालयले आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व ऐन, २०७६ को व्यवस्थाबमोजिम आन्तरिक लेखापरीक्षणका लागि छुट्टै जनशक्ति व्यवस्थापन गरेको छ । आन्तरिक लेखापरीक्षणलाई स्वतन्त्र, निष्पक्ष, प्रभावकारी र व्यावसायिक बनाउन लेखापरीक्षणलाई पूर्णतः लेखापालन कार्यबाट स्वतन्त्र गराई लेखा समूहभित्रै छुट्टै कार्य–जिम्मेवारी तोकी आन्तरिक लेखापरीक्षण गर्ने गरी विशिष्टीकृत जनशक्ति व्यवस्थापन गरिएको हो ।
त्यस्तै, कार्यालयले सरकारी जिन्सी तथा सम्पत्ति व्यवस्थापनका लागि लिलाम बिक्रीसम्बन्धी कार्यविधिको मसौदा तयार गरी स्वीकृतिका लागि अर्थ मन्त्रालयमा पेस गरेको छ । विदेशस्थित नियोगको राजस्व, धरौटी र लिलाम बिक्रीसम्बन्धी आर्थिक कार्यविधिको अन्तिम मस्यौदा तयार भई स्वीकृतिको चरणमा रहेको जानकारी दिएको छ । आन्तरिक लेखापरीक्षण प्रतिवेदनलाई एकल खाता कोषको सहायक प्रणालीमा आबद्ध गरी एकीकृत वार्षिक प्रतिवेदन प्राप्त गर्ने कार्य सुरु भएको छ । आन्तरिक लेखापरीक्षण निर्देशिका, सरकारी लेखा निर्देशिका, मलेफा फाराम र आर्थिक संकेत तथा वर्गीकरण र व्याख्याको परिमार्जन कार्य अन्तिम चरणमा रहेको कार्यालयले जानकारी दिएको छ ।
बैंकको बढ्दो ब्याजदरप्रति अर्थमन्त्री चिन्तित
बैंकको बढ्दो ब्याजदरप्रति अर्थमन्त्रीले चिन्ता व्यक्त गरेका छन् । ‘बैंकिङ क्षेत्र र व्यवसाय एकै ठाउँमा हुन्छ । अहिले ब्याजदर बढ्यो भनेर व्यवसायीले विरोध गरिरहेका छन् । यसलाई समाधान गर्ने कि हामीले यस्तै चलाइरहने हो भन्ने कुरामा राष्ट्र बैंकले ध्यान दिनुहोला,’ उनले भने । बैठकमा राष्ट्र बैंकका अन्य अधिकारीसहित गभर्नर महाप्रसाद अधिकारी उपस्थित थिए । मन्त्रीले डलर भित्र्याउन सहजीकरण गर्नुपर्ने, रेमिट्यान्स एजेन्टको कमिसनदरबारे अध्ययन गरेर विदेशमा रहेका नागरिकको पैसा सहज रूपमा नेपाल भिœयाउन पहल गर्ने तथा रेमिट्यान्सलाई बैंकिङ प्रणालीबाट ल्याउन सबै प्रकारका पहलकदमी अवलम्बन गर्नुपर्ने सुझाब दिए ।
बैठकमा राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा. विश्व पौडेलले विदेशी मुद्राको चाप बढेको भन्दै समाधानका लागि ध्यान दिनुपर्ने बताए । ‘सबै निकाय जिम्मेवार भई काम गरे वर्तमान अर्थव्यवस्थामा सुधार गरी जनतामाझ राम्रो नतिजा दिन सकिन्छ,’ उनले भने । त्यस्तै राजस्व सचिव कृष्णहरि पुष्करले गरेको काम जनस्तरसम्म पुग्ने गरी जिम्मेवारी वहन गर्नुपर्ने बताए ।
नेप्से बन्द भएकोमा ध्यानाकर्षण
अर्थमन्त्रीले केही दिनअघि नेप्से बन्द भएको विषयमा ध्यानाकर्षण भएको भन्दै त्यस्तो समस्याको तत्कालन छानबिन गर्न र आइन्दा यस्ता समस्या दोहोरिन नदिन धितोपत्र बोर्ड र नेप्सेका अधिकारीलाई निर्देशन दिए । ‘केही दिनअघि नेप्से बन्द भएको कुरा गम्भीर हो । यो सामान्य विषय होइन, त्यसैले अहिलेको नेतृत्वले यो समस्या समाधान गरोस्,’ उनले भने । यो प्राविधिक विषय मात्र नभएर समग्र पुँजी बजारलाई नै असर गरेको उनको भनाइ छ । राजस्व सचिव कृष्णहरि पुष्करले पनि सेयर बजार बन्द भएको विषयमा जनताले दोषी थाहा पाउने गरी छानबिन गर्न सम्बन्धित निकायलाई निर्देशन दिए । बैठकमा राष्ट्र बैंकका अधिकारीले मूल्यवृद्धिको वार्षिक लक्ष्य ६.५ प्रतिशत रहेको र माघ मसान्तसम्म ५.९७ प्रतिशत रहेको जानकारी दिए । यो वाञ्छित सीमाभित्रै रहेको जानकारी गराए ।
अर्थतन्त्रमा सुधार गर्न र पुँजी निर्माणमा ध्यान दिनुस् : अर्थमन्त्री
अर्थ मन्त्रालयमातहतका निकायहरूको दोस्रो त्रैमासिक समीक्षा बैठक शनिबार सम्पन्न भएको छ । बैठकमा अर्थमन्त्री जनार्दन शर्माले नीति–निर्माणमार्फत अर्थतन्त्रमा सुधार गर्न र पुँजी निर्माणमा ध्यान दिन निर्देशन दिए । ‘संस्था सुधार गर्ने, प्रविधिको प्रयोग गर्ने, प्रविधिको अपडेट गरिरहनेलगायतका कुरामा ध्यान दिनुपर्नेछ,’ उनले भने ।
मन्त्रीले अन्तर्राष्ट्रिय बजारमा भएको मूल्यवृद्धि र आयातमा परेको चापका कारण अर्थतन्त्रका केही सूचक अपेक्षाकृत नभए पनि बिस्तारै सुधार भइरहेको दाबी गरे । ‘आयातमा भएको वृद्धि हामीले लिएको नीतिअनुसार बिस्तारै सुधार भइरहेको छ । राष्ट्र बैंक अझै उदार भयो भने यो समस्या सुधार हुन्छ । अन्य बैंक वित्तीय संस्थालाई पनि मैले सुधारका काममा केन्द्रित गर्न भनेको छु,’ उनले भने ।