- नेपालमा सञ्चालित ९२ मध्ये ७२ ब्रोकरको टिएमएस सर्भर राखिएको डेटा सेन्टरमा आक्रमण, समस्या समाधान नभए मंगलबार बाँकी ब्रोकरबाट सेयर कारोबार गराउने तयारी
अनलाइन सेयर कारोबार प्रणाली अर्थात् ट्रेड म्यानेजमेन्ट सिस्टम (टिएमएस)को सर्भर राखिएको डेटा सेन्टरमा साइबर आक्रमण भएको छ । ७२ ब्रोकरको टिएमएस सर्भर राखिएको ‘डेटा हब प्रालि’को डेटा सेन्टर आक्रमणमा परेपछि सोमबारको सेयर कारोबार नै स्थगन गरिएको हो । पुँजीबजारमा पहिलोपटक यति ठुलो साइबर आक्रमण भएको हो । पुँजीबजारमा लगानीकर्ताको साढे ४५ खर्ब लगानी छ । आइतबार बिहान साढे पाँच बजे डेटा हब प्रालिको प्रणालीमा साइबर आक्रमण भएको पहिचान भए पनि आक्रमण कसले गर्यो भन्ने विषय अझै अज्ञात छ ।
डेटा हबमा विभिन्न बैंक, कम्पनी, संस्थालगायतका धेरै कम्पनीले सर्भर राखेका छन् । तर, ७२ ब्रोकरको टिएमएस सर्भर भएको प्रणालीमा मात्रै साइबर आक्रमण भएको हो ।
सेयर कारोबारका लागि १ साउन ०७५ देखि टिएमएस प्रणाली सञ्चालनमा ल्याइएको थियो । यसलाई पूर्ण रूपमा भने २० कात्तिक ०७५ बाट सञ्चालनमा ल्याइएको हो । टिएमएस वाइको प्रालि (योमरी कम्पनी)ले बनाएको प्रणाली हो । यसले सेयर खरिद–बिक्रीलाई पूर्ण रूपमा डिजिटलाइज गरेको छ । टिएमएस ‘सफ्टवेयर’ सञ्चालन गर्न ‘सर्भर’ चाहिन्छ । ब्रोकरहरू एक्लाएक्लैले यस्तो डेटा सेन्टर सञ्चालन गरेर सर्भर राख्न मिल्छ । तर, लागत उच्च पर्ने भएपछि ब्रोकरहरूले क्लाउड सेवा अर्थात् डेटा सेन्टरबाट ‘सर्भर’ सेवा आउटसोर्स गर्दै आएका छन् ।
हाल नेपालमा सञ्चालित ९२ मध्ये ७२ ब्रोकरले ‘डेटा हब प्रालि’मा सर्भर राखेका छन् । अर्थात्, उनीहरूको डेटा सेन्टर नै डेटा हब प्रालि हो । अन्य ब्रोकरले भने ‘क्लाउड हिमालयन’मा सर्भर राखेका छन् । यसमा वाइको कम्पनीले पनि समन्वयन गरिदिन्छ ।
आइतबार साप्ताहिक बिदा भएका कारण सेयर कारोबार पनि स्वतः बन्द अवस्थामा थियो । सोमबार बिहान ११ बजेदेखि दिउँसो ३ बजेसम्म नियमित सेयर कारोबार हुँदै थियो । त्यो अवस्थामा डेटा हब प्रालिले आइतबार दिन र राति साइबर आक्रमणको समस्या समाधान गरेर कारोबार हुने समयभित्रै प्रणालीलाई सामान्य अवस्थामा ल्याउने योजना बनाएको थियो । त्यही कारण डेटा हबले आक्रमण भएको विषय नै गोप्य राख्यो । तर, योजनाअनुसार प्रणाली सञ्चालनमा ल्याउन नसकेपछि डेटा हब प्रालिले सोमबार बिहान वाइको कम्पनीमार्फत ब्रोकर कम्पनी र नेपाल स्टक एक्सचेन्ज (नेप्से)लाई यसबारे जानकारी दिएर प्रणाली सञ्चालन गर्न नसकिने बताएको थियो । त्यसपछि स्टक ब्रोकर एसोसिएसनको प्रस्तावमा नेप्सेले सोमबारका लागि कारोबार स्थगन गरेको हो ।
क्लाउड हिमालयनमा सर्भर राखेका बाँकी २० ब्रोकरको टिएमएस भने सञ्चालन गर्न सकिने अवस्थामै छन् । तर, कुनै बन्द हुने र कुनैलाई सञ्चालन गर्न दिँदा विभेद हुने देखिएपछि सोमबार कारोबार स्थगन गरिएको हो ।
अपहरण शैलीको आक्रमण
‘र्यान्समवेयर’ आक्रमणपछि सम्बन्धित प्रणाली सञ्चालन हुन सक्दैन । त्यसपछि आक्रमण गर्ने व्यक्तिले प्रणाली सञ्चालकलाई ‘निश्चित रकम’ माग्न सक्छ । तोकिएको रकम तिरेपछि आक्रमण गर्ने व्यक्तिले प्रणाली खुलाइदिन सक्छ । वा यस्तो आक्रमणपछि प्रणालीको ‘साइबर सेक्युरिटी प्रणाली’ले पनि समस्या समाधान गर्न सक्छ ।
नयाँ पत्रिकासँगको कुराकानीमा एक प्राविधिकले यो आक्रमण साइबर अपहरण शैलीको भएको बताए । ‘र्यान्समवेयर आक्रमण भनेको कुनै गुन्डाले बच्चालाई अपहरण गरेर बाबाआमामालाई निश्चित रकम फिरौती मागेजस्तो हो,’ एक प्राविधिकले भने ।
आइतबार बिहानै आक्रमण
डेटा हबले वाइको कम्पनी तथा ब्रोकरलाई दिएको जानकारीअनुसार ‘र्यान्समवेयर’ आक्रमण भएको छ । यो आइतबार बिहान ५ः३० बजेतिर भएको थियो । तर, त्यसभन्दा करिब डेढ घण्टाअघि अर्थात् आइतबार बिहान चार बजे प्रणालीको सम्पूर्ण ब्याकअप ल्याइसकिएको थियो । त्यसले गर्दा सम्पूर्ण तथ्यांक सुरक्षित भएको जानकारी डेटा हबले दिएको छ । साथै, प्रणालीलाई नेप्से, ब्रोकरलगायतका सिस्टमसँग छुट्याएर अर्थात् आइसोलेटेडमा राखेर समस्या समाधान गर्ने काम भइरहेको बताइएको छ । अधिकांश प्रणालीलाई अफलाइनमा समेत राखिएको छ । यो नेप्सेमा नभएर टिएमएसको सर्भर राखिएको डेटा सेन्टर डेटा हबमा भएको आक्रमण हो, जुन डेटा सेन्टरमा अन्य कम्पनी तथा संस्थाको पनि सर्भर हुन सक्छन् । डेटा हब प्रालि ‘क्लाउड सेवा’ दिने निकाय हो ।
मंगलबार बाँकी ब्रोकरबाट भए पनि सेयर कारोबार खुलाइने
नेप्सेले मंगलबार बाँकी सेयर ब्रोकरबाट भए पनि कारोबार खुलाउने तयारी गरेको छ । नेप्सेका प्रवक्ता मुराहरि पराजुलीले मंगलबार सेयर कारोबार खुलाउने बताए । ‘कारोबार समयभन्दा अघि यो समस्या समाधान भयो भने ठिकै छ । अन्यथा बाँकी ब्रोकरबाट भए पनि सेयर कारोबार खुलाउने योजनामा छौँ,’ उनले भने, ‘सोमबार पनि बाँकी रहेका ब्रोकरबाट कारोबार गराउन सकिन्थ्यो । तर, विभेदजस्तो देखिने भएका कारण सोमबार स्थगित भयो । मंगलबार भने सेयर कारोबार खुलाउनेछौँ ।’ लगानीकर्ता छोटेलाल रौनियारले टिएमएस प्रणाली नै फेर्नुपर्ने बताए । ‘यो घटनाले अन्तर्राष्ट्रिय बजारमै नराम्रो सन्देश गयो । यसले लगानीकर्ताको लगानी जोखिममा देखायो । धन्न, डेटा सुरक्षित रहेछन् । तर, जोखिम त देखायो,’ उनले भने, ‘विदेशी लगानी ल्याउने भनेका छौँ । एनआरएन ल्याउने भनेको छौँ । त्यो अवस्थामा यसले नराम्रो सन्देश गएको छ ।’ अर्थ मन्त्रालय र सेबोनले यसमा उचित निर्णय लिनुपर्ने वला आएको उनी बताउँछन् । ‘यो कुरा पहिलेदेखि नै उठेको हो,’ उनले भने, ‘यसमा अर्थ मन्त्रालय र सेबोनले ठोस र उचित निर्णय लिन आवश्यक छ ।’
१२ गतेभित्र प्रतिवेदन बुझाउन निर्देशन
घटनापछि नेपाल धितोपत्र बोर्डले असोज १२ गतेभित्र छानबिनसहितको प्रतिवेदन बुझाउन निर्देशन दिएको छ । बोर्डले भनेको छ, ‘बोर्डबाट नेप्सेलाई धितोपत्रको कारोबार रोक्नुपर्ने गरी उत्पन्न विषम परिस्थितिको सम्बन्धमा आवश्यक अध्ययन तथा जाँचबुझ गरी यस्ता घटनाहरू पुनः दोहोरिन नदिन गर्नुपर्ने सुधारसहितको प्रतिवेदन मिति २०८३/६/१२ भित्र पेस गर्न निर्देशन दिइएको छ ।’