शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेलले माओवादी एक्लै चुनाव लड्न तयार भएको बताएका छन्। बाग्लुङ - काठमाडौं सम्पर्क समन्वय समिति काठमाडौंले आयोजना गरेको वनभोज कार्यक्रममा बोल्दै उनले माओवादी एक्लै चुनावी प्रतिस्पर्धा गर्न तयार रहेको बताए।
‘हामी अरूभन्दा धेरै लचिलो छौँ,’ मन्त्री पौडेलले भने, ‘हामी आफ्नै बुताले चुनाव लडेर जित्छौँ। हामीले चुनाव जित्ने ठाउँ हिजो पनि थिए आज पनि छन्।‘ कांग्रेसका कार्यकर्ताले माओवादीको कारण परिर्वतन भएको भन्ने बहस भएको भन्दै सहिद परिवारले उनीहरूको सपना साकार पार्न सक्रियतापूर्वक राजनीतिमा लाग्न आग्रह गरे।

माओवादीको कारण धर्मनिरपेक्षता, संघीयता, समावेशी समानुपातिकलगायतका उपलब्धि हासिल भएको बताउँदै यसलाई भत्काउन प्रतिक्रियावादी लागेको आरोप लगाए। विचार, राजनीति र दृष्टिकोण फरक भए पनि जिल्लाको विकासका लागि नेताहरू एक रहेको भन्दै बाग्लुङको विकासका लागि जीवनरहुन्जेल व्यतित गर्ने पौडेलले बताए।
यस्तै माओवादी केन्द्रीय सदस्य दिनानाथ शर्माले अहिले सरकारमा राख्ने र सडकमा पुर्याउने शक्ति माओवादी भएको बताए। जिल्लाभन्दा बाहिर रहेका जिल्लावासीहरूलाई एकताको मालामा जोड्न यस प्रकारको कार्यक्रम गरिएको बाग्लुङ - काठमाडौं सम्पर्क समन्वय समितिका अध्यक्ष विष्णु आचार्यले बताए।