एउटै गाउँका २० जनाविरुद्ध भ्रष्टाचार मुद्दा

मंगलबार, १ चैत, २०७८
डिजिटल संस्करण

सरकारी स्कुलको जग्गा मिलेमतोमा बिक्री गरेको आरोपमा एउटै गाउँका २० जनाविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भ्रष्टाचार मुद्दा दायर गरेको छ । जग्गा बिक्रीमा संलग्न विद्यालय व्यवस्थापन समितिका अध्यक्ष, प्रधानाध्यापक तथा स्थानीयविरुद्ध अख्तियारले सोमबार विशेष अदालतमा मुद्दा दर्ता गरेको हो । तनहुँ शुक्लागण्डकी नगरपालिका–१६ स्थित हिमाली प्राविको जग्गा २७ वर्षअघि मिलेमतोमा बिक्री भएको थियो । 

११ वैशाख ०५१ को विद्यालय व्यवस्थापन समितिको बैठकले साविक ढोरफिर्दी गाविसमा रहेको सरकारी/सार्वजनिक जग्गालाई घरसारको कागजात बनाई आफैँले घडेरी नम्बर कायम गरी सरकारी सार्वजनिक सम्पत्ति (जग्गा) गैरकानुनी रूपमा भोगचलन गराएको अख्तियारको अभियोग छ ।

विद्यालय व्यवस्थापन समितिका तत्कालीन अध्यक्ष यामबहादुर बानिया, सदस्य–सचिव (प्रधानाध्यापक) यामबहादुर ठकुरी, सदस्यहरू घनश्याम बानिया, हरिकुमारी महत, धुनबहादुर पुलामी, ज्ञानबहादुर बानिया र खडकबहादुर बानियाले एक लाख ६९ हजार ५१ रुपैयाँ लिई सरकारी जग्गा भोगचलन गर्ने गराउने कसुर गरेको पुष्टि भएको आयोगले जनाएको छ । यामबहादुर बानिया, धुनबहादुर, ज्ञानबहादुर र खडकबहादुरको मृत्यु भइसकेको छ ।    

त्यस्तै सन्तबहादुर सिजाली मगर, तिलुदेवी बराल, डोलराज आचार्य, डिलबहादुर आले, विष्णुमाया थापा, विष्णुप्रसाद लम्साल, शरणबहादुर विक, बलराम बानिया, बुद्धिमाया विक, बाबुराम बानिया, लोकबहादुर माकिम, पूर्णबहादुर विक र धनबहादुर विकविरुद्ध पनि मुद्दा दायर भएको छ ।  उनीहरूमध्ये लोकबहादुर, डोलराज र धनबहादुरको मृत्यु भइसकेको छ ।

सुझावित समाचार