सञ्चार मन्त्रालयमातहतका निकायसँग कार्यसम्पादन सम्झौता

मंगलबार, २० असोज, २०८३
डिजिटल संस्करण

काठमाडौं/ सूचना तथा सञ्चारमन्त्री डा. विक्रम तिमिल्सिना र सञ्चारसचिव राजेन्द्रकुमार पौडेलबिच आर्थिक वर्ष ०८३/८४ का लागि कार्यसम्पादन सम्झौता भएको छ। सोही अवसरमा मन्त्रालयका महाशाखा प्रमुख तथा मातहतका विभिन्न निकायका प्रमुखसँग पनि कार्यसम्पादन सम्झौता गरिएको छ।

सञ्चारसचिव पौडेलसँग नेपाल दूरसञ्चार प्राधिकरणका अध्यक्ष अर्जुन घिमिरे, नेपाल टेलिकमका प्रबन्ध निर्देशक संगीता पहाडी (अर्याल), सुरक्षण मुद्रण केन्द्रका कार्यकारी निर्देशक देवराज ढुंगाना, राष्ट्रिय समाचार समितिका महाप्रबन्धक सन्दीप राई, सार्वजनिक सेवा प्रसारण संस्थाका कार्यवाहक अध्यक्ष उर्वशी बस्न्यात, गोरखापत्र संस्थानका महाप्रबन्धक हिक्मतबहादुर रावल र विज्ञापन बोर्डका अध्यक्ष सन्तोष श्रेष्ठले सम्झौता गरेका हुन्।

आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्वसम्बन्धी कानुनी व्यवस्थाअनुसार मन्त्रालय तथा मातहतका निकायका कामलाई जिम्मेवार, परिणाममुखी र मापनयोग्य बनाउन सम्झौता गरिएको हो।

कार्यसम्पादन सम्झौता हस्ताक्षर कार्यक्रममा सञ्चारमन्त्री डा. तिमिल्सिनाले सम्झौतालाई औपचारिकतामा सीमित नगरी दैनिक कार्यसम्पादन र वार्षिक लक्ष्य प्राप्तिको मार्गदर्शक दस्ताबेजका रूपमा लिनुपर्ने बताए। उनले सम्बन्धित निकायले आफ्ना लक्ष्यअनुसार निर्धारित समयमै काम सम्पन्न गर्नुपर्नेमा जोड दिए।

मन्त्रालय सफल हुन मातहतका निकायसमेत सफल हुनुपर्ने उल्लेख गर्दै उनले सबै पदाधिकारी र कर्मचारी आफ्नो जिम्मेवारीप्रति जवाफदेही हुनुपर्ने बताए। सुशासनका विषयमा सरकारले शून्य सहनशीलताको नीति लिएको उल्लेख गर्दै मन्त्री तिमिल्सिनाले कार्यसम्पादन सम्झौतामा तोकिएका लक्ष्य र माइलस्टोनको निरन्तर मूल्यांकन गरिने बताए।

सञ्चारसचिव पौडेलले वार्षिक नीति, कार्यक्रम तथा बजेटमा समावेश लक्ष्य हासिल गर्न कार्यसम्पादन सम्झौता महत्वपूर्ण हुने बताए। उनले सम्झौतामा उल्लेखित सूचकअनुसार परिणाम हासिल गर्न सबै निकाय प्रतिबद्ध भएर काम गर्नुपर्नेमा जोड दिए।

सम्झौतामा सुशासन तथा सार्वजनिक सेवा प्रवाहमा सुधार, सञ्चार पूर्वाधार विस्तार, डिजिटल प्रविधिको पहुँच वृद्धि, दूरसञ्चार सेवाको गुणस्तर सुधार, ग्रामीण तथा दुर्गम क्षेत्रमा सञ्चार सेवाको विस्तार र प्रशासनिक तथा वित्तीय कार्यसम्पादन सुधारलाई प्राथमिकता दिइएको छ। साथै, नागरिकका गुनासो सम्बोधन तथा सेवा प्रवाहमा सुधारका लागि प्राप्त गुनासो शतप्रतिशत फर्स्योट गर्ने लक्ष्यसमेत राखिएको छ।

यसअघि भदौ ३ गते प्रधानमन्त्री बालेन्द्र शाह र सञ्चारमन्त्री डा. विक्रम तिमिल्सिनाबिच पनि आर्थिक वर्ष ०८३/८४ का लागि कार्यसम्पादन सम्झौता भएको थियो।

सुझावित समाचार