ब्रोकर डेटा सेन्टरमा समस्याका कारण बीचैमा सेयर कारोबार बन्द

मंगलबार, १ चैत, २०७८
डिजिटल संस्करण

ब्रोकर डेटा सेन्टरमा समस्या देखिएपछि सोमबार कारोबार सुरु भएको करिब दुई घन्टामै बजार बन्द भयो । प्राविधिक समस्या देखिएको भन्दै नेपाल स्टक एक्सचेन्ज (नेप्से)ले बजार नै बन्द गरेको थियो । केही समयका लागि बजार बन्द भएको भनिए पनि समाधान नहुने देखिएपछि सोमबारको कारोबार नै बन्द भएको हो । 

नेप्सेले प्राविधिक समस्याको समाधान गर्न नसकेपछि लगानीकर्ता आक्रोशित भएका छन् । अघिल्लो दिन सूचक एक सय १ अंकले बढेको तथा चैतभरि बैंकहरूले ब्याजदर वृद्धि नगर्ने निर्णय गरेपछि लगानीकर्ता बजारप्रति आशावादी थिए । त्यसैले आइतबार बढेको बजारबाट सोमबार लगानीकर्ता प्रोफिट बुकिङ गर्न चाहन्थे । एक लगानीकर्ता भन्छन्, ‘ठूला लगानीकर्ताले बजार घटाएर सस्तोमा सेयर किनेका थिए, आइतबार र सोमबार पनि बढेको बजारमा प्रोफिट बुक गर्न चाहन्थे, तर नेप्सेमा देखिएको प्राविधिक समस्याका कारण अधुरो रह्यो ।’

नेपाल स्टक एक्सचेन्जका कार्यकारी अधिकृत कृष्णबहादुर कार्कीले ब्रोकरको डेटामा समस्या देखिने यस्ता समस्या ब्रोकर आफैँले नयाँ कारोबार प्रणाली (टिएमएस) पाएपछि हटेर जाने बताए । ‘अहिले टिएमएसमा भन्दा पनि ब्रोकरको डेटामा समस्या देखिएको हो, ब्रोकरलाई दिने टिएमएस पोलिसी धितोपत्र बोर्डमा पुगेको छ, त्यो स्वीकृत भएर आएसँगै कार्यान्वयनमा आउँछ र यस्ता समस्याहरू हटेर जान्छन्,’ कार्कीले भने ।

सेयर बजार दबाब समूहका महासचिव नयन बास्तोलाले धेरैपटक यस्ता समस्या झेल्नुपरेको भन्दै बजार बढिरहेका वेला कतै चलखेल त भएन भन्ने प्रश्न गर्ने ठाउँ रहेको बताए । अर्का लगानीकर्ता तथा पुँजी बजार संघकी अध्यक्ष राधा पोखरेलले नेप्सेमा यस्ता प्राविधिक कारणले समस्या भइरहेको बताइन् । त्यस्तै, ब्रोकर एसोसिएसनका अध्यक्ष सन्तोष मैनाली सोमबारको समस्या प्राविधिक भए पनि यसलाई दीर्घकालीन समाधानतर्फ लाग्नुपर्ने बताउँछन् । ‘हामीले आफ्नै छुट्टै कारोबार प्रणाली (टिएमएस) राख्न भनिरहेका छौँ, सरकारलाई पनि पटक–पटक आह्वान गरेका छौँ, सामाधान हुन्छ भन्नुभएको छ, तर समाधान हुन सकेको छैन, यस्ता समस्यालाई सामाधन गर्नुपर्छ,’ मैनालीले भने । 

छोटो समयमै बजार बन्द
कारोबार सुरु भएदेखि १२ बजेर ५३ मिनेटसम्म आइपुग्दा नेप्से सूचक शून्य दशमलव १५ अंकले बढेर दुई हजार ६ सय ६८ दशमलव ३५ बिन्दुमा पुगेर बन्द भएको थियो । जसमा ७७ वटा कम्पनीको मूल्य बढेको थियो भने सय कम्पनीको सेयर मूल्य घटेको छ । सोमबार एक अर्ब ३४ करोड रुपैयाँको कारोबार भएको छ । सो दिन धितोपत्र र ऋणपत्र गरी कारोबारमा दुई सय २० कम्पनीको २३ लाख कित्ता सेयर खरिद–बिक्री भएको थियो । 

बजार बन्द नहुँदासम्म नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको सेयर खरिद–बिक्रीमा लगानीकर्ता बढी केन्द्रित देखिएका थिए । नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको ६ करोड ६५ लाख रुपैयाँको कारोबार भएको छ । त्यस्तै, लाइफ इन्योरेन्स कर्पोरेसन (नेपाल), अपि पावर कम्पनी, हिमालयन डिस्टिलरी, अरुण भ्याली हाइड्रोपावर कम्पनीको चार करोडदेखि ६ करोड रुपैयाँको सबैभन्दा धेरै कारोबार भएको छ ।

छोटो समयमा पनि राष्ट्र उत्थान लघुवित्त वित्तीय संस्था, इमर्जिङ नेपाल, कर्पोरेट डेभलपमेन्ट बैंक, स्वावलम्बन लघुवित्त वित्तीय संस्था, प्रभु इन्स्योरेन्स कम्पनीको सेयर ३ प्रतिशतदेखि ६ प्रतिशतले सबैभन्दा धेरै बढेको छ । सानिमा लार्ज क्याप फन्ड, युनाइडेट इदी मर्दी एन्ड आरबी हाइड्रोपावर कम्पनी, साल्ट ट्रेडिङ कर्पोरेसन, मैलुङ खोला जलविद्युत् कम्पनी, गुराँस लघुवित्त वित्तीय संस्थाको सेयर सबैभन्दा धेरै ३ प्रतिशतदेखि करिब ६ प्रतिशतले सबैभन्दा धेरै घट्न पुगेको छ ।

सुझावित समाचार