अर्थतन्त्रमा देखिएको चुनौती समाधान गर्न आयातमा सीमा राखिएको हो : अर्थमन्त्री

आइतबार, २९ फागुन, २०७८
डिजिटल संस्करण

अर्थमन्त्री जनार्दन शर्माले अर्थतन्त्रमा देखिएको चुनौती समाधान गर्न आयातमा मार्जिनको व्यवस्था गरिएको बताएका छन्। भन्सार विभाग, त्रिपुरेश्वरमा आइतबार आयोजित भन्सार व्यवस्थापन गोष्ठीलाई सम्बोधन गर्दै उनले आयातमा गरिएको कडाइले भन्सार असुली प्रभावित भए पनि मिहिनेत गरेर लक्ष्यमा पुग्न निर्देशन दिए।

‘देशको अर्थतन्त्र यतिवेला चुनौतीपूर्ण अवस्थामा छ। यसलाई समाधान गर्न हामीले केही वस्तुको आयातमा मार्जिन राखेका छौं,’ उनले भने, ‘यस्तो अवस्थाले भन्सार प्रभावित पनि भएको छ। तर, यो सधैँका लागि राखिएको होइन। हाम्रो बाध्यकारी परिस्थितिले यो अवस्था सिर्जना भएको छ। स्थिति सामान्य हुनासाथ भन्सार प्रणालीले नियमित काम गर्नेछ।’

अर्थमन्त्री शर्माले भन्सार कार्यालयमा देखिएका समस्या समाधान गर्न, नीतिबाट सिर्जित नयाँ चुनौतीको सामना गर्दै राजस्व परिचालनमा प्रभावकारी हुन र व्यापार सहजीकरणमा उत्कृष्ट भूमिका खेल्न गोष्ठी प्रभावकारी हुने आफूले विश्वास लिएको बताए।

त्यस्तै, वस्तु आयातमा गरिएको वर्गीकरणसम्बन्धी व्यवस्थाले व्यवसायीमा असन्तुष्टि देखिएकाले त्यसलाई पनि गोष्ठीका माध्यमबाटै समाधानको सूत्र पहिल्याउन पनि उनले निर्देशन दिए। उनले भन्सार कार्यालयमा प्रयोग हुने भेहिकल स्क्यानिङसम्बन्धी निर्देशिका बन्दै गरेको र चाँडै कार्यान्वयनमा आउने जानकारी दिए। अर्थमन्त्री शर्माले व्यापारलाई सहजीकरण गर्दै राजस्व परिचालनमा अगाडि बढ्न सबै कर्मचारीलाई निर्देशन दिए। माघ मसान्तसम्मको लक्ष्यभन्दा बढी भन्सार राजस्व परिचालन गरेकोमा उनले खुसी व्यक्त गरे। 

भन्सार विभागका उपमहानिर्देशक आनन्द काफ्लेले माघ मसान्तसम्म रु. तीन खर्ब ५ अर्ब राजस्व संकलनको लक्ष्य भए पनि आयातमा गरिएको कडाइका बाबजुद रु. तीन खर्ब ८ अर्ब राजस्व संकलन भएको जानकारी दिए। यो गत वर्षको सोही अवधिको तुलनामा २९ प्रतिशत बढी हो ।

सो अवसरमा अर्थमन्त्री शर्माले निर्यातमा सुधार भइरहेकामा खुसी व्यक्त गरेका थिए। ‘कुल वैदेशिक व्यापारमा निर्यातको हिस्सा १० प्रतिशत नाघेको छ। हामीले माघ मसान्तसम्म रु. एक खर्ब ३१ अर्बको निर्यात गरेका छौँ,’ उनले भने, ‘तर, हामी यतिमा रोकिनुहुँदैन। प्रत्येक वर्ष १० प्रतिशतका दरले निर्यातमा हिस्सा थप्दै एक दिन आत्मनिर्भर हुने बाटोमा जानुपर्छ।’ उनले सबै कर्मचारीलाई मिहिनेत गरेर राजस्व प्रशासन र राजस्व परिचालनमा उत्कृष्ट काम गर्न निर्देशन पनि दिए। रासस

सुझावित समाचार