जलवायु परिवर्तनका असरबारे ध्यानाकर्षण गराउन ‘कालापत्थर घोषणापत्र’ जारी

मंगलबार, २४ फागुन, २०७८
डिजिटल संस्करण
जलवायु परिवर्तनका असरबारे ध्यानाकर्षण गराउन ‘कालापत्थर घोषणापत्र’ जारी

फाइल फाेटाे ।

विश्वको अग्लो हिमाल सगरमाथाको कालापत्थर क्षेत्रबाट जलवायु परिवर्तनका असरबारे विश्वको ध्यानाकर्षण गराउन १०बुँदे घोषणापत्र जारी गरिएको छ। समाजका विभिन्न क्षेत्रका प्रतिष्ठित ४० महिलाको समूहले काठमाडौंदेखि १३ दिने पदयात्रा सुरु गरी कालापत्थर क्षेत्रमा मंगलबार विशेष कार्यक्रम गरेर सो घोषणापत्र जारी गरेको हो।

अन्तर्राष्ट्रिय नारी दिवसका अवसरमा ‘साथसाथै’ संस्थाको आयोजना एवं वन तथा वातावरण मन्त्रालय र विभिन्न अन्तर्राष्ट्रिय संस्थाहरूको सहयोगमा कालापत्थरमा विशेष कार्यक्रम गरिएको हो। घोषणापत्रमा जलवायु परिवर्तन प्रभावित क्षेत्रका महिला र विपन्न समूहको अनुकूलन क्षमता सुधार ‘जलवायु न्याय’ मुद्दाको वकालत गर्ने, जलवायु परिवर्तनको न्यूनीकरण र अनुकूलनमा महिलाको भूमिका परिभाषित गर्न हरसम्भव प्रयास गर्ने,  मानव स्वास्थ्य प्रणालीको दिगो व्यवस्थापनका लागि प्रवर्द्धन गर्न अपिल गर्ने उल्लेख छ।

यसैगरी, हिमाली जनता विशेषगरी महिलालाई जलवायु परिवर्तनका चुनौती सामना गर्न सक्षम बनाउन अन्तर्राष्ट्रिय समुदायबाट सहयोग खोज्ने, हिमालय र तल्लो तटीय क्षेत्रमा जलवायु परिवर्तनका चुनौतीमा विश्वव्यापी ध्यान आकर्षित गराउने, विश्व तापमान वृद्धिले हिमाल पग्लने क्रम बढेको चिन्ताबारे ध्यानाकर्षण गराउने, हिमाल, पहाड र तराईमा बसोवास गर्ने लाखौँ मानिसलाई अपार सेवा प्रदान गर्ने हिमालयन पारिस्थितिकीय प्रणालीको सुरक्षाको समर्थन गर्ने घोषणापत्रमा जनाइएको छ।

‘साथसाथै’का अध्यक्ष प्रतिजा कार्कीले वाचन गरेको घोषणापत्रमा विश्वव्यापी जलवायु न्याय आन्दोलनसँग हात मिलाउन आफ्नो प्रतिबद्धता व्यक्त गर्ने, हिमालयलाई प्रमुख प्रकृतिमा आधारित पर्यटन गन्तव्यको रूपमा प्रवर्द्धन गर्न पहल गर्ने, परिवर्तनशील जलवायुको सामना गर्न कमजोर समुदाय विशेषगरी महिलालाई जागरुकता उत्पन्न गर्न र सक्षम बनाउन प्रतिबद्धता व्यक्त गरिएको छ।

सो अवसरमा कार्कीले जलवायु परिवर्तनले बढी प्रभावित क्षेत्र हिमालयको कालापत्थरमा जलवायु परिवर्तन र महिला न्यायका विषयमा सरोकारवाला निकाय, वातावरणविद्, अनुसन्धानकर्तालगायत विश्वको ध्यानाकर्षण गराउन अभियान प्रारम्भ गरिएको जानकारी दिइन्। ‘वुमन युनाइटेड फर क्लाइमेट जस्टिस’ मूल नाराका साथ प्रारम्भ गरिएको अभियानका क्रममा जलवायु परिवर्तनले विशेषगरी महिलाको जनजीवनमा पारेका प्रभाव र त्यसमा न्याय खोज्न हुनुपर्ने पहलबारे समेत गम्भीर बहस गरिएको उनको भनाइ थियो।

‘नेपालजस्ता मुलुकले विश्वमञ्चमा आवाज उठाइरहनुपर्छ’
समूहमा आबद्ध सहभागीले जलवायु परिवर्तनजस्ता प्रकृतिले उब्जाएका ज्वलन्त समस्याबाट कोही पनि उम्कन नपाउने र समयमै यसको चेतावनीलाई ध्यान दिएनौँ भने नेपालजस्ता भौगोलिक जोखिममा रहेका मुलुक सबैभन्दा बढी पीडित हुनेबारेमा समयमै सचेत हुनुपर्नेमा जोड दिएका थिए। उनीहरूले यसका लागि नेपालजस्ता मुलुकहरूले विश्वमञ्चमा यसबारेमा दबाब दिइरहनुपर्ने खाँचो औँल्याएका थिए।

पदयात्रामा प्रारम्भदेखि नै सहभागी सर्वोच्च अदालतकी न्यायाधीश सपना प्रधान मल्लले जलवायु न्यायका लागि नेपालजस्ता मुलुकले विश्व मञ्चमा आवाज बुलन्द गर्नुका साथै अब कानुनी लडाइँ पनि लड्नुपर्ने वेला आएको बताइन्। उनले नेपाल संलग्न भएका अन्तर्राष्ट्रिय सन्धि–सम्झौता कार्यान्वयनका लागि कानुनी बाटोसमेत खोज्नुपर्ने वेला आएकाेमा जोड दिइन्।

वलिउड अभिनेत्री मनीषा कोइरालाले जलवायु परिवर्तनका असरबाट महिला बढी पीडित भएकाले यसको समाधानका लागि पहल गर्न महिला एकजुटको आवश्यकता रहेको बताइन्। उनले जलवायु अनुकूलन र न्यूनीकरणका कार्यमा महिलाको योगदान ठूलो रहेको उल्लेख गर्दै आगामी दिनमा यस विषयलाई सार्वजनिक रूपमै उजागर गर्नुपर्ने खाँचो औँल्याइन्।

संयुक्त राष्ट्र संघको महिलामाथिका सबै विभेद अन्त्य गर्ने महासन्धिकी सदस्य बन्दना राणाले पछिल्लो समय जलवायु परिवर्तनका मुद्दा पेचिलो बन्दै गएको र हाम्रै पुस्ताले विभिन्न विपत् भोग्न बाध्य भएको बताउँदै यसको समाधानका लागि विश्व नै एकजुट भएर लाग्नुपर्ने आवश्यकता रहेकामा जोड दिइन्।

वन तथा वातावरण मन्त्रालयकी सहसचिव एवं जलवायु परिवर्तन व्यवस्थापन महाशाखाकी प्रमुख डा. राधा वाग्लेले जलवायु परिवर्तनका असर नियन्त्रण गर्न सरकारले अनुकूलन न्यूनीकरणका कार्यक्रमलाई प्राथमकितामा राखेको जानकारी दिइन्। 

कार्यक्रममा वरिष्ठ पत्रकार बबिता बस्नेत, राष्ट्रिय सूचना आयोगका पूर्वआयुक्त यशोदा तिम्सिना, अधिकारकर्मी सरू जोशीलगायतले कालापत्थरबाट महिलाको आवाज बुलन्द गरेर विश्वलाई हिमालय पग्लिने क्रम बढेको र त्यसबाट नेपाल मात्र नभई एसियाका अधिकांश जनसंख्या प्रभावित हुने भएकाले त्यसका असरविरुद्ध एकबद्ध भएर जुट्नका लागि आह्वान गरेका थिए। रासस

सुझावित समाचार