अध्यक्ष पदमा आठ, महासचिवमा सातजनाको उम्मेदवारी
नेपाल बार एसोसिएसनको अध्यक्ष पदका लागि आठजनाले उम्मेदवारी दर्ता गराएका छन् । जसमा तीनजना वरिष्ठ अधिवक्ता छन् । वरिष्ठ अधिवक्तात्रय विष्णुमणि अधिकारी, अमितालक्ष्मी सैंजु र गोपालकृष्ण घिमिरेले अध्यक्ष पदका लागि सोमबार उम्मेदवारी दर्ता गराएका हुन् । बारको चुनावमा सत्तारुढ दलहरूको साझा गठबन्धन बनेको छ । कांग्रेसनिकट घिमिरे सत्ता गठबन्धनबाट अध्यक्षका साझा उम्मेदवारका रूपमा चयन भएका हुन् भने अधिकारी प्रगतिशील समूहबाट उम्मेदवार भएका हुन् ।
उद्धवचन्द्र घिमिरे, उत्तमबहादुर श्रेष्ठ, अनिता जधारी, कमलप्रसाद मलेगो र पृथ्वीनाथ राईले पनि अध्यक्षमा उम्मेदवारी दर्ता गराएको बारको निर्वाचन समितिले जनाएको छ । बारले २६औँ कार्यसमितिका लागि १९ चैतमा निर्वाचन हुँदै छ ।
बारको महासचिवका लागि सात र कोषाध्यक्षमा तीनजनाको उम्मेदवारी परेको छ । महासचिवमा अधिवक्ताहरू राधेश्याम सुवाल, केदारप्रसाद कोइराला, त्रिलोकबहादुर चन्द, वीरेन्द्रकुमार ठाकुर, उमेश प्रसाद, अञ्जिता खनाल र इन्द्रबहादुर अधिकारी उम्मेदवार छन् । अधिवक्ता खनाल सत्ता गठबन्धननिकट कानुन व्यवसायीहरूको प्यानलबाट उठेकी हुन् भने कोइराला प्रगतिशील तथा पेसागत कानुन व्यवसायी समूहबाट उम्मेदवार बनेका हुन् ।
कोषाध्यक्षमा अधिवक्ताहरू जगतबहादुर कार्की, गोविन्दराज उपाध्याय र भरतबहादुर राउतले दाबी गरेका छन् । जसमध्ये कार्की पिपिएलएनिकट हुन् भने राउत डिएलएनिकट हुन् । कार्यसमितिमा प्रदेश १ को उपाध्यक्षका लागि धनकुटा उच्च बारमा आबद्ध रोहितकुमार डाँगी र झापा बारका सुरज खत्रीको उम्मेदवारी परेको छ । मधेस प्रदेश उपाध्यक्षमा अधिवक्ताद्वय केशवप्रसाद दास र सुधीरकुमार कर्णबीच प्रतिस्पर्धा हुनेछ । बागमती प्रदेशमा भने एक पदका लागि चारजनाले उम्मेदवारी दिएका छन् । अधिवक्ताहरू राजेन्द्र शर्मा, डिल्लीराम मैनाली, गणेश गिरी र हर्कबहादुर रावलले उम्मेदवारी दिएका छन् ।
गण्डकी प्रदेशबाट उपाध्यक्षमा भूपेन्द्र खनाल र वीरेन्द्र केसीको दाबेदारी छ । लुम्बिनीमा वासुदेव ज्ञवाली, पशुपति भण्डारी र महेन्द्रप्रसाद पाण्डेयको उम्मेदवारी परेको छ । कर्णालीमा अधिवक्ताद्वय विष्णुप्रसाद तिमल्सिना र उत्तमप्रसाद आचार्य उम्मेदवार छन् भने सुदूरपश्चिममा चंखबहादुर साउद, तुलाराम गिरी उपाध्यक्ष पदका आकांक्षी देखिएका छन् । महिला उपाध्यक्षमा अधिवक्ताहरू रमा श्रेष्ठ, शान्ता पन्त, आशा राई र सानु शाक्यको उम्मेदवारी परेको छ ।
बारको विधानअनुसार एकजना अध्यक्ष र सातै प्रदेशबाट एक–एकजना उपाध्यक्षसहित एकजना महिला उपाध्यक्ष रहन्छन् । महासचिव र कोषाध्यक्ष एक–एकजना रहने व्यवस्था छ । एक दलित सदस्य, उपत्यकाबाहिर र खुलाबाट गरी दुईजना मधेसी–मुस्लिम सदस्यहरू रहने व्यवस्था विधानले गरेको छ । साथै, दुई–दुईजना आदिवासी–जनजाति र महिला सदस्य चयन हुन्छन् । यसैसरी, २५ सदस्यीय कार्यसमितिमा खुलाबाट सातजना सदस्य रहन्छन् ।