सेयर बजार परिसूचक नेप्से हालसम्मको उच्च बिन्दु तीन हजार एक सय ९८ बाट २० प्रतिशतले घटेको छ । प्रवृत्ति विश्लेषणमा २० प्रतिशतको घटबढलाई महत्वपूर्ण मानिन्छ । बजार नजिकको न्यून बिन्दुबाट २० प्रतिशतले बढेमा बुलिस प्रवृत्ति सुरु भएको र उच्च बिन्दुबाट २० प्रतिशतले घटेमा बियरिस प्रवृत्तिमा प्रवेश गरेको विश्लेषण गरिन्छ ।
‘बजार त्यतिखेरसम्म वास्तविक अर्थमा बियरिस प्रवृत्तिमा प्रवेश गरेको मानिन्न, जबसम्म नजिकको उच्च बिन्दुबाट बजार–सेयर मूल्य २० प्रतिशत वा सोभन्दा बढीले घट्दैन,’ लगानीसम्बन्धी समाचार तथा शैक्षिक सामग्री पस्किने इन्भेस्टोपिडियामा उल्लेख छ । सातागत आधारमा कारोबार रकम ४० प्रतिशतले घटेको देखिए पनि गत साता तीन दिन मात्र बजार खुलेको थियो । औसत कारोबार रकममा भने शून्य दशमलव ७४ प्रतिशतले मात्रै कमी आएको छ ।
साताभरमा १० अर्ब ५५ करोड रुपैयाँको सेयर किनबेच भएको हो । गत साता सबै समूहगत परिसूचक घटेका छन् । तेह्रथुम पावरको मूल्य सबैभन्दा धेरै १८ दशमलव ३९ प्रतिशतले घटेको छ भने रिलायन्स लाइफको सेयर मूल्य सबैभन्दा धेरै ४ दशमलव ३८ प्रतिशतले बढेको छ । गत साता नेपाल टेलिकमको सबैभन्दा धेरै रकमको कारोबार भएको छ । यसको ४४ करोड २२ लाख रुपैयाँको सेयर कारोबार भएको हो । बैंकहरूमा रहेको तरलता दबाब समस्या कायमै रहेको र ब्याजदर वृद्धि भइरहेकाले पनि बजार प्रभावित भइरहेको छ ।
प्राविधिक विश्लेषण
गत साता कारोबार भएको तीनै दिन बजार घटेपछि सबै दिन रातो (कालो) मैनबत्ती बनेको छ । यसले बजार बियरिस प्रवृत्तिमा रहेको संकेत गर्छ । आइतबार बजार बढेर सेतो (हरियो) मैनबत्ती नै बने पनि यदि गत सोमबारको उचाइ तोड्न सकेन भने बियरिस प्रवृत्तिमा जाने संकेत कायमै रहने देखिन्छ ।
नेप्सेको मुभिङ एभरेज रेखाले डेथ क्रस ओभर भइसकेको र बजार बियरिस प्रवृत्तिमा देखिएको संकेत गरेको छ । अर्थात्, २१ दिने रेखाले सातदिने रेखालाई काटेर माथि लागेको छ । सातदिने मुभिङ एभरेज रेखा माथि नै रहेमा बुलिस प्रवृत्ति कायम रहने, तर २१ दिने रेखा माथि लागेमा बियरिस प्रवृत्ति सुरु हुने विश्लेषण गरिन्छ ।
नेप्सेको आरएसआई सूचक हाल २० दशमलव ९६ मा छ । यसले बजार न्यूनतम बिन्दु नजिक आइसकेकाले छिट्टै नै बजार सामान्य भए पनि बढ्ने संकेत गर्छ । यो सूचक स्केल ३० मुनि भए बजारमा अधिक बिक्री रहेको, ३० देखि ७० सम्म रहे बजार सन्तुलित र ७० माथि भए बजारमा अधिक खरिद रहेको विश्लेषण गरिन्छ ।
इमर्जिङ नेपालको आइतबारबाट कारोबार
इमर्जिङ नेपालको आइतबारबाट कारोबार गर्न सकिने भएको छ । कम्पनीको ५५ लाख ५६ हजार कित्ता सेयर नेप्सेमा सूचीकृत भएको छ । कम्पनीले पहिलो कारोबारका लागि एक सय पाँच रुपैयाँ ११ पैसादेखि तीन सय १५ रुपैयाँ ३३ पैसासम्म पाएको छ । लगानी समूहमा यो कम्पनी छैटौँ कम्पनीका रूपमा रहनेछ ।