विशेष अदालतमा सात महिनापछि अध्यक्ष र सदस्य तोकिएका छन् । फागुन १६ गते बसेको मन्त्रिपरिषद् बैठकले विशेष अदालतको अध्यक्षतामा उच्च अदालत पाटनका न्यायाधीश श्रीकान्त पौडेल र सदस्यहरूमा न्यायाधीशहरू रमेशकुमार पोखरेल, यमुना भट्टराई, शालिग्राम कोइराला, बलभद्र बास्तोला र खुसीप्रसाद थारूलाई तोक्ने निर्णय गरेको हो।
फागुन ११ मा कायममुकायम प्रधानन्यायाधीश दीपककुमार कार्कीको अध्यक्षतामा बसेको न्याय परिषद् बैठकले विशेष अदालतको अध्यक्ष र सदस्यका लागि ६ जना न्यायाधीशको नाम सिफारिस गरेको थियो।
६ न्यायाधीशको व्यवस्था रहेको विशेष अदालतमा उच्च अदालतका न्यायाधीशलाई काज सरुवा गर्ने व्यवस्था रहँदै आएको छ । परिषद् बैठकले विशेष अदालतमा रहेका न्यायाधीशद्वय नित्यानन्द पाण्डेय र अब्दुल अजिज मुसलमानको काज सरुवा गर्दै अध्यक्ष र सदस्यको नाम सिफारिस गरेको थियो।
विशेष अदालतमा गत साउन १ देखि अध्यक्षसहित ४ न्यायाधीशको पद रिक्त थियो। लामो समयसम्म न्यायाधीश रिक्त नहुँदा अदालतको काम प्रभावित हुँदै आएको थियो।