स्थानीय तह निर्वाचनका लागि दर्ता हुन चाहने दलको संख्या २९ पुगेको छ। निर्वाचन आयोगले नियमित पत्रकार सम्मलेनमार्फत दल दर्ताका लागि फागुन ५ देखि हालसम्म २९ दलले दर्ताका लागि निवेदन गरेकाे जानकारी दिएको हो।
पत्रकार सम्मेलनमा आयोगका सहायक प्रवक्ता सूर्यप्रसाद अर्यालले निर्वाचन आचारसंहिता तयार हुने क्रममा रहेको जानकारी दिएका छन्। उनका अनुसार कानुन मन्त्रालयले राजपत्रमा सूचना प्रकाशित गरेपछि आयोगले मिति तोकेर आचारसंहिता लागू गर्नेछ।
निर्वाचनमा खटिने एक लाख १० हजार ७१३ जनशक्तिको बिमाको प्रक्रियासमेत अगाडि बढेको अर्यालले जानकारी दिए। त्यस्तै, मतदानमा संलग्न हुनेहरूका लागि मास्क, सेनिटाइजर र प्राथमिक स्वास्थ्य सामग्री खरिदका लागि पनि बोलपत्र आह्वान गरिएको उनले बताए।