नेपाली कांग्रेसका नेता रामचन्द्र पौडेलले सर्वोच्च अदालतका चार न्यायाधीशविरुद्ध प्रमुख प्रतिपक्ष दल एमालेले महाभियोग प्रस्ताव ल्याउन नमिल्ने बताएका छन्। सोमबार काठमाडौंमा आयोजित एक कार्यक्रममा सञ्चारकर्मीहरूले राखेका जिज्ञासाको जवाफ दिने क्रममा उनले यस्तो बताएका हुन्।
एमालेले संसद् विघटनको मुद्दामा आफूलाई हराएबापत सर्वोच्चको निर्णयविपरीत सो महाभियोग प्रस्ताव ल्याउन नमिल्ने नेता पौडेलको तर्क छ। सर्वोच्च अदालतको निर्णय अन्तिम हुने र त्यसलाई चुनौती दिने गरी एमालेले कुनै पनि न्यायाधीशविरुद्ध संसदमा महाभियोग प्रस्ताव ल्याउन नमिल्ने उनले टिप्पणी गरे।
‘खै, अब उहाँहरूले त्यो प्रस्ताव ल्याउनुहोला जस्तो लाग्दैन। त्यो प्रस्ताव ल्याउनुहोला भन्ने विश्वास छैन। र, एउटा कुरा के हो भने आफूलाई मुद्दा हराएबापत महाभियोग ल्याउन पाइँदैन। त्योचाहिँ सरासर अनुचित हो। किनभने मुद्दाको हकमा सर्वोच्चको निर्णय नै अन्तिम हुन्छ। त्यसलाई चुनौती दिनुहुँदैन, त्यो पाइँदैन,’ उनले भने।
पौडेलले आफूले प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरालाई सम्मानजनक बहिर्गमनका लागि राजीनामा दिन पटकपटक सुझाएको स्मरण गराए। उनले जनतालाई न्याय दिन सत्तारुढ दलका सांसदहरूले जबराविरुद्ध संसदमा महाभियोग प्रस्ताव ल्याएको दाबीसमेत गरे।