विगतको तुलनामा निर्वाचन खर्च बढ्छ : आयोग

मंगलबार, २५ माघ, २०७८
डिजिटल संस्करण

आगामी स्थानीय तहको निर्वाचनमा विगतको तुलनामा खर्च बढ्ने निर्वाचन आयोगले बताएको छ । निर्वाचन आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले विगतको निर्वाचनको तुलनामा आगामी २०७९ वैशाख ३० को स्थानीय तहको निर्वाचनमा खर्च बढ्ने बताएका हुन् । 

मंगलबार पत्रकारसँगको कुराकानीमा उनले निर्वाचन प्रयोजनका लागि १२० दिन पाउनुपर्नेमा अब केवल ९५ दिन मात्रै आयोगसँग भएकाले सबै काम फास्ट ट्रयाकबाट गर्नुपर्दा खर्च बढ्ने बताएका हुन् । सामान खरिदका लागि लामो समय राखेर प्रतिस्पर्धा गराउन नसक्दा, आयोगको कर्मचारीले नपुगेर बाहिरबाट कर्मचारी ल्याउनुपर्ने अवस्थालगायतका कारणले निर्वाचनमा खर्च बढ्ने उनको भनाइ छ ।

उनले भने, ‘पक्कै पनि चुनौतीपूर्ण छ । हामीले १२० दिन समय प्राप्त गर्नुपर्नेमा ९०, ९५ दिनको समय प्राप्त भएको छ । यसले करिब करिब निर्वाचनका लागि आवश्यक पर्ने समयको २५ प्रतिशत जति समय कटौती भएको अवस्था हो । कतिपय कामहरू फास्ट ट्रयाकमा गर्नुपर्ने अवस्था छ । ३० दिनको म्याद दिनुपर्ने ठाउँमा निर्वाचन आयोग ऐनको दफा प्रयोग गरेर १५ दिन, २० दिन अथवा १० दिनको समय दिएर प्रतिस्पर्धा गराउनुपर्ने, त्यसले गर्दा हामीले जुन मूल्यमा प्राप्त गर्नुपर्ने हो त्योभन्दा बढी पनि हुन सक्ने अवस्था छ ।’

आयोगले निर्वाचनमा भाग लिनका लागि कुनै राजनीतिक दलको सम्बन्धमा विवाद नभएको बताएको छ । पछिल्लो समय दर्ता भएका नयाँ राजनीतिक दलहरूको विवाद पनि सर्वोच्च अदालत तथा निर्वाचन आयोगले सल्ट्याइसकेको आयोगका प्रवक्ता पौडेलले बताए । 

हाल आयोगमा १०५ वटा राजनीतिक दल दर्ता भएका र निर्वाचन प्रयोजनका लागि दल दर्ताको सूचना प्रकाशित नभएसम्म अरू दल पनि दर्ता हुन सक्ने र निर्वाचनमा भाग लिन सक्ने उनले स्पष्ट पारे ।  उनले भने, ‘सर्वोच्च अदालत, निर्वाचन आयोगले अहिले हाम्रो निर्वाचन आयोगमा त्यो सबै कुराहरू सल्टिएर १०५ दल कायम छन् ।  र, यी १०५ दल र अझै पनि हामीले स्थानीय तह निर्वाचन प्रयोजनका लागि दल दर्ताका लागि आह्वान गर्ने सूचना प्रकाशित नभएको मितिसम्म दर्ता हुन सक्छन् । ती सबै दलहरू स्थानीय तहको निर्वाचनको लागि यदि हामीले निर्वाचन प्रयोजनका लागि पुनः दल दर्ता गर्न आह्वान गरेको सूचनाबमोजिम उहाँहरू दर्ता हुन आउनुभयो भने हाल कायम रहेका सबै दलहरू निर्वाचनको लागि योग्य हुन्छन् ।’

निर्वाचन कार्यतालिका प्रकाशनको तयारी 
आयोगले स्थानीय तहको निर्वाचन कार्यतालिका केही दिनभित्रमै प्रकाशित गर्ने बताएको छ । निर्वाचन कार्यतालिकाको विषयमा छलफल भइरहेको आयोगका प्रवक्ता पौडेलले जानकारी दिए  । उनले मतदाता नामावली संकलनको कार्य स्थगित भएको उल्लेख गर्दै अब मतदाता नामावलीको अद्यावधिकको काम सुरु हुने बताए । अन्तिम मतदाता नामावली प्रकाशित हुन भने अझै डेढ महिना लाग्ने आयोगले जनाएको छ ।

सुझावित समाचार