मधेस प्रदेशअन्तर्गतका दुईवटा विषयगत समितिको सभापति पदका लागि आज प्रदेश सभामा मतदान हुँदै छ । प्रदेश सभा सचिवालयका अनुसार आज बिहान ९ बजे बस्ने प्रदेश सभाको बैठकमा कृषि तथा भूमि व्यवस्था समिति सभापतिका लागि मतदान हुनेछ भने दिउँसो १ बजे सार्वजनिक लेखा समितिको सभापति पदका लागि मतदान हुने कार्यतालिका छ ।
लामो समयदेखि रिक्त प्रदेश सभाअन्तर्गतको सार्वजनिक लेखा समिति र कृषि तथा भूमि व्यवस्था समिति सभापति पदमा सत्तागठबन्ध र प्रतिपक्षी गठबन्धनका तर्फबाट चारजनाले उम्मेदवारी दर्ता गराएपछि मतदान हुन लागेको हो । सार्वजनिक लेखा समिति सभापतिमा सत्तारुढ गठबन्धनका तर्फबाट नेपाली कांग्रेस नरेशकुमार राय यादव र प्रतिपक्षी गठबन्धनतर्फ लोकतान्त्रिक समाजवादी पार्टीका प्रह्लाद गिरीले उम्मेदवारी दर्ता गराएका छन् ।
यस्तै, कृषि तथा भूमि व्यवस्था समिति सभापति पदमा सत्तागठबन्धनको तर्फबाट नेकपा (एकीकृत समाजवादी)का मदनसेन श्रीवास्तव र प्रतिपक्षी गठबन्धनको तर्फबाट नेकपा (एमाले)का जगतारनदेवी साह सुडीले उम्मेदवारी दर्ता गराएका छन् । प्राकृतिक स्रोत तथा वातावरण समितिको सभापतिमा भने नेकपा (माओवादी केन्द्र)का जगतप्रसाद यादव निर्विरोध निर्वाचित भएका छन् । सो समितिको सभापतिमा उनको मात्र उम्मेदवारी परेकाले निर्विरोध निर्वाचित भएको प्रदेश सभा सचिवालयका सचिव रञ्जितकुमार यादवले जानकारी दिए ।
प्राकृतिक स्रोत तथा वातावरण समितिका तत्कालीन सभापति माओवादी केन्द्रका प्रदेश सभा सदस्य रामचन्द्र मण्डल बर्खास्त भएपछि सो पद रिक्त भएको थियो । यस्तै कृषि तथा भूमि व्यवस्था समिति सभापति भएका वीरेन्द्र सिंह मन्त्री नियुक्त भएपछि उक्त समिति रिक्त छ । सार्वजनिक लेखा समिति भने सुरुदेखि नै सभापति चयन हुन सकेको छैन । सार्वजनिक लेखा समितिमा ज्येष्ठताका आधारमा नेकपा (एमाले)का लगनलाल चौधरीलाई सभापतिको जिम्मेवारी दिएको थियो । सार्वजनिक लेखा समिति पद अहिले रिक्त रहेको प्रदेश सभा सचिवालयका सचिव यादवले बताए ।
प्रदेश सभाअन्तर्गतको अर्थ तथा योजना समिति सभापतिमा जनता समाजवादी पार्टीका मनीष सुमन, विकास समितिमा जसपाकै शेष अब्दुल कलाम आजाद र प्रदेश मामिला सभापतिमा जसपाकै अशोक यादवलाई चयन गरिसकेको छ । महिला बालबालिका समितिको सभापतिमा लोसपाका जयनुल राइन छन् ।