सरकारले आगामी ३० वैशाखका लागि स्थानीय तहको निर्वाचन घोषणा गरेकामा राजनीतिक दलहरूले स्वागत गरेका छन् । दलहरूले शान्तिपूर्ण, निष्पक्ष र धाँधलीरहित निर्वाचन गर्न आफूहरूको तर्फबाट सहयोग हुने प्रतिबद्धता पनि जनाएका छन् ।
संविधानको मर्मअनुसार सरकारले घोषणा गरेको निर्वाचनले जनअभिमतलाई आवधिक निर्वाचनमार्फत अभिव्यक्त गर्ने र लोकतन्त्रको रक्षा तथा कार्यान्वयमा महत्वपूर्ण भूमिका खेल्ने दलहरूको भनाइ छ । मिति घोषणा भएको र निर्वाचनको वातावरण निर्माणमा दलहरूले जोड दिनुपर्ने उनीहरूको मत छ ।
प्रमुख सत्तारुढ दल कांग्रेसले सरोकारवाला सबै पक्षसँग छलफल गरेर सरकारले निर्वाचनको मिति घोषणा गरेको भन्दै यसलाई सफल पार्न सबै पक्ष लाग्नुपर्ने बताएको छ । कांग्रेसका नवनियुक्त प्रवक्ता डा. प्रकाशशरण महतले आफ्नो पार्टीले निर्वाचनलाई केन्द्रित गरेर जनतासँग जोडिने गरी योजनाहरू तय गर्ने बताए ।
‘निर्वाचन गर्नुपर्ने नै थियो, सरकारले सबै सरोकारवाला पक्षसँग छलफल गरेर मिति तोकेको छ । यो खुसीको विषय हो । अब निर्वाचन प्रक्रियामा सबै होमिनुपर्छ,’ प्रवक्ता महतले भने, ‘आमनागरिक पनि निर्वाचन प्रक्रियामा भाग लिन उत्साहित छन् । हाम्रो पार्टी पूर्ण रूपमा जोडिने, जनताको बीचमा जाने, आफ्ना कामहरूको समीक्षा गर्ने र भविष्यमा जनताका आकांक्षालाई कसरी सशक्त ढंगले पूरा गर्न सकिन्छ भनेर योजना बनाएर लाग्छौँ ।’
प्रमुख विपक्षी दल एमालेले स्थानीय तहको निर्वाचन घोषणालाई सतर्कतापूर्वक स्वागत गरेको छ । मन्त्रिपरिषद्को सोमबारको बैठकले ३० वैशाखमा एकै चरणमा निर्वाचन आयोजना गर्ने गरी निर्वाचन गर्ने निर्णय लिएपछि एमालेले त्यस्तो प्रतिक्रिया जनाएको हो । स्थानीय तहको निर्वाचनको मिति घोषणाका लागि एमालेले सरकारमाथि लगातार दबाब बनाउँदै आएको थियो ।
चुनाव घोषणा भए पनि सत्तारुढ पाँचदलीय गठबन्धनभित्रैको दाउपेचका कारण जुनसुकै वेला व्यवधान खडा हुन सक्ने भएकाले सतर्कता अपनाउनुपर्ने अवस्था रहेको एमालेको टिप्पणी छ । ‘स्थानीय तहको निर्वाचन घोषणालाई सकारात्मक रूपमा लिएका छौँ, किनभने हाम्रो मुख्य माग नै मिति घोषणा हुनुपर्छ भन्ने थियो । संविधानअनुसार समयसीमाभित्र गर्नुपर्ने स्थानीय तहको निर्वाचन टार्न पाइँदैन भन्दै आएका थियौँ,’ एमाले उपमहासचिव तथा निर्वाचन विभागका प्रमुख विष्णु रिमालले नयाँ पत्रिकासँग भने, ‘यद्यपि, चुनाव हुन नदिन अझै पनि व्यवधान खडा हुन सक्छ, किनभने अहिलेको गठबन्धन त्यति भरपर्दो पनि छैन । अनेक दाउपेच र षड्यन्त्र गरेर प्रतिबद्धता खेर फ्याल्ने सम्भावना नकार्न सकिन्न । विगतका पृष्ठभूमि हेर्दा पनि शंका गर्ने ठाउँ छ, त्यसैले घोषणालाई सतर्कतापूर्वक नै हेर्नुपर्ने स्थिति रहे पनि अहिल्यै आशंका गर्दैनौँ, स्वागत नै गर्छौँ ।’
उपमहासचिव रिमालले चुनाव भइसकेको परिप्रेक्ष्यमा प्रदेश भेलाहरूलाई चुनावी तयारीको प्रशिक्षण भेलामा रूपान्तरण गर्दै पार्टीको सम्पूर्ण पंक्ति तयारीमा परिचालित हुने बताए । ‘चुनाव घोषणा भइसकेको परिप्रेक्ष्यमा नेकपा एमालेले सम्पूर्ण पार्टीपंक्तिलाई चुनावको तयारीका लागि परिचालन गर्नेछ । निर्णय गरेरै हामीले पार्टीको स्थानीय तह विभाग र स्कुल विभागलाई निर्वाचनलक्षित प्रशिक्षण सञ्चालन गरेर चुनावको तयारीमा केन्द्रित हुनेछौँ,’ रिमालले नयाँ पत्रिकासँग भने ।
त्यस्तै, सत्तारुढ दल माओवादी केन्द्रले पनि सत्तागठबन्धनको सिफारिसअनुसार निर्वाचनको मिति घोषणा भएको भन्दै स्वागत गरेको छ । माओवादी केन्द्रका नेता देवप्रसाद गुरुङले पाँचदलीय गठबन्धनले दिएको सुझावअनुसार सरकारले निर्वाचनको मिति घोषणा गरेको भन्दै त्यसको कार्यान्वयनका लागि सबैले जोड दिनुपर्ने बताए ।
‘नेकपा माओवादीसहितको पाँचदलीय गठबन्धनले चुनावको मिति तोक्नुपर्छ भनेर सिफारिस गरेको हो । चुनावको मिति तोक्ने अधिकार सरकारलाई संविधानले नै दिएको छ । त्यसअनुसार सरकारले गरेको हुँदा हाम्रो त्यसमा समर्थन छ,’ गुरुङले भने, ‘हामी यसलाई सफल पार्नका लागि सबै जुट्न अनुरोधसमेत गर्न चाहन्छौँ ।’ उनले निर्वाचनलाई संविधानअनुसार सम्पन्न गर्ने काम सरकारको भएको भन्दै त्यसमा आफ्नो दलले सहयोग गर्ने बताए ।
सत्तागठबन्धन दल एकीकृत समाजवादीका महासचिव बेदुराम भुसालले निर्वाचनको मिति घोषणालाई स्वागत गर्दै नयाँ दल भए पनि सबै पालिकामा उत्साहपूर्वक सहभागिता जनाउने बताए । ‘हामीले गठबन्धनका तर्फबाट जेठ महिनाभित्र चुनाव गर्नका लागि दिएको सुझावअनुसार सरकारले निर्वाचनको मिति घोषणा गरेको छ । यो स्वागतयोग्य छ,’ भुसालले भने, ‘हामीले सबै पालिका तहसम्म आफ्नो संगठन बनाइसकेका छौँ । हामी निर्वाचनमा सहभागिता जनाउँछौँ ।’
त्यस्तै, जनता समाजवादी पार्टीका नेता मोहम्मद इस्तियाक राईले पनि सरकारको निर्णयको स्वागत गरे । ‘निर्वाचन घोषणा हुनु स्वागतयोग्य छ । आवधिक निर्वाचन समयमा नै गर्नुपर्छ, त्यसका लागि निर्वाचनको मिति घोषणा हुनु सकारात्मक कुरा हो,’ उनले भने, ‘राज्यले कानुनी विषयलाई पनि मिलाउनुपर्ने थियो । यसले जटिलता आउन सक्ने सम्भावना छ । त्यसलाई सम्बोधन गरेर अघि बढेको भए राम्रो हुन्थ्यो ।’
अर्को दल लोकतान्त्रिक समाजवादी पार्टीका नेता केशव झाले पनि आफूहरू चुनावको तयारी गरिरहेको भन्दै मिति घोषणा भएपछि थप सक्रिय भएर लाग्ने बताए । ‘सरकारले निर्वाचन गर्नु सकारात्मक छ । हामी पनि चुनावको तयारीमा नै थियौँ । अब, चुनावमा भाग लिने गरी थप अगाडि बढ्छौँ,’ उनले भने, ‘तर, संविधान र ऐन बाझिएका छन् । यस्तो अवस्थामा समस्या आउन सक्छ भन्ने चिन्ता पनि छ ।’ उनले संविधानसँग बाझिने गरी छुट्टै व्यवस्था राखेर ऐन बनाउनु कमजोरी भएको भन्दै यसलाई सच्याएर निर्वाचनको मिति घोषणा गरेको भए राम्रो हुने बताए ।
त्यस्तै, नेपाल मजदुर किसान पार्टीका महासचिव प्रेम सुवालले निर्वाचन आयोगले सिफारिस गरेको मितिभन्दा ढिलो भएको बताए । ‘निर्वाचन आयोगले सिफारिस गरेको १४ र २२ वैशाखमा हुने गरी मिति घोषणा गर्नुपथ्र्यो । ढिलो हुने गरेर सरकारले निर्वाचन घोषणा गरेको छ,’ उनले भने, ‘ ढिला भए पनि घोषणा भएको निर्वाचन समयमा नै सम्पन्न गर्नुपर्छ ।’ उनले निर्वाचन स्वच्छ, निष्पक्ष र धाँधलीरहित हुनुपर्ने भन्दै यसअघि जस्तो सत्तामा रहेका दलहरूले जस्तो मतदातालाई प्रभावमा पार्ने कार्य बन्द गर्नुपर्ने बताए । निर्वाचनमा दलहरूका चुनावी घोषणापत्रबारे आमनागरिकले प्रश्न गर्नुपर्ने उनको भनाइ छ । साथै, निर्वाचन चिह्नबारे कानुनमा गरिएको व्यवस्था विवादास्पद रहेको भन्दै सच्याएर मात्रै अघि बढ्नुपर्ने बताए ।
त्यस्तै, राष्ट्रिय प्रजातन्त्र पार्टीका प्रवक्ता मोहन श्रेष्ठले चुनावको मिति घोषणा हुनुलाई अत्यन्तै सकारात्मक र स्वागतयोग्य कदमका रूपमा लिएको बताए । ‘अनेक अन्योल, आशंका र सरकारले चुनाव टार्ने प्रयास गरेको भन्ने अड्कलबाजीबीच पनि चुनाव घोषणा भयो । यो सकारात्मक छ,’ उनले भने, ‘आवधिक निर्वाचनलाई कुनै पनि बहानामा टारेर जनताको मताधिकारको अवमूल्यन हुनुहुँदैन थियो ।’ उनले राप्रपाले केही दिनमा पार्टीको पदाधिकारी बैठक बोलाएर कसरी जाने भन्नेबारेमा निर्णय गर्ने बताए ।