ललितपुरको चाकुपाटस्थित ‘क्लासिक आर्ट ग्यालरी’मा गत बिहीबारदेखि ‘कनेक्टेड क्रिएटिभिटी’ शीर्षकमा ११ जना कलाकारका सिर्जना प्रदर्शनी भइरहेको छ । कोरोना महामारीले घरभित्रै सीमित रहेका कलाकारलाई एकैथलोमा गाँस्ने उद्देश्यले कला प्रदर्शनी सुरु भएको हो ।
ग्यालरी सञ्चालिका तथा प्रदर्शनीकी क्युरेटर सरिता डंगोलले घरमै थन्किएर बसेको सिर्जनालाई कलापारखीसम्म पुर्याउन प्रदर्शनीको आयोजना गरेको बताइन् । प्रदर्शनीमा राखिएका आधिकांश चित्र वर्तमान परिस्थितिकेन्द्रित छन् । ‘कोरोना कहरमा जनजीवनमा उत्पन्न समस्या र संकटको अवस्थालाई चित्रमार्फत देखाउन खोजेका हौँ,’ डंगोल भन्छिन्, ‘समसामयिक विषय र परिस्थितिले उत्पन्न तमाम समस्या चित्रमा देखाइएको छ, जसमा विविध रङ घोलेर सिर्जना तयार भएका छन् ।’ नेपालमा पहिलो लकडाउनदेखि नै यस्ता ग्यालरी पूर्ण रूपमा बन्द भएका थिए । सोही कारण लामो समयदेखि कलाकारहरूले आफ्ना सिर्जना बाहिर ल्याउन पाएका थिएनन् । उनी थप्छिन्, ‘क्लासिक आर्ट ग्यालरीको यो प्रर्दशनी महामारीपछि पहिलो हो । हाम्रो सिर्जनालाई बाहिर ल्याउन मात्रै खोजेका हौँ । पेन्टिङ किन्नैपर्छ भन्ने छैन । सिर्जना हेरिदिए मात्रै पनि पुग्छ ।’
प्रदर्शनीमा कलाकार सन्जित महर्जनले फरक–फरक शीर्षकमा आफ्ना तीन चित्र राखेका छन् । उनले चित्रमा कोरोना महामारीले मानव जीवनमा निम्त्याएको संकटलाई देखाउन खोजेका छन् । कोरोना महामारीका कारण देशमा लकडाउन भयो । उनी भन्छन्, ‘मैले चित्रमा महामारीले निम्त्याएका समस्यालाई थिम बनाएर सिर्जना गरेको छु । महामारीले मानसिक तनावसँगै थुप्रै समस्या झेल्नुप¥यो । तर, जस्तोसुकै समस्या र कष्टलाई चिर्दै मान्छे अगाडि बढ्नुपर्छ भन्ने आत्मविश्वासी सन्देश चित्रमार्फत दिन खोजेको हुँ ।’
कलाकार मुकेश श्रेष्ठले प्रेमभावनालाई चित्रमार्फत अभिव्यक्त गर्न खोजेका छन् । उनले चित्रमा राधाकृष्णको स्वरूप दिएर प्रेमभावना व्यक्त गर्न खोजेको बताए । उनी भन्छन्, ‘मैले प्रेमलाई शक्तिमा रूपान्तरण गर्नुपर्छ भन्ने सन्देश दिन खोजेको छु । अझै पनि प्रेमको कुरा गर्दा राधाकृष्णलाई उदाहरण दिन्छाँै ।’