पश्चिमी न्यूनचापीय प्रणालीको प्रभावले आज देशभर वर्षा हुनुका साथै उच्च पहाडी तथा हिमाली क्षेत्रमा हिमपात भएको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। अहिले देशभर सामान्यदेखि पूर्ण बदली भई धेरै स्थानमा मेघगर्जन/चट्याङसहित हल्का वर्षा भइरहेको छ । महाशाखाले जारी गरेको पछिल्लो मौसमी विवरणमा काठमाडौंमा ४१ मिलिमिटर वर्षा भएको छ ।
बदली र वर्षासँगै उपत्यकाका उच्च डाँडामा हल्का हिमपात भएको छ । फुल्चोकी, चन्द्रागिरी, शिवपुरी, नगरकोटलगायतका अग्ला डाँडामा हिमपात भएको छ । काठमाडौं उपत्यकामा दिनभर घाम नदेखिएकाले आज निकै जाडो महसुस गरिएको छ । आज काठमाडौंको न्यूनतम ४ दशमलब ९ र अधिकतम तापक्रम ९ डिग्री सेल्सियस रहेको छ ।
आज सबैभन्दा बढी नेपालगन्जमा ६४, वीरेन्द्रनगरमा ५२, जुम्लामा ५० मिलिमिटर वर्षा भएको छ । त्यस्तै घोराहीमा ३३, भैरहवामा ३०, पोखरामा २९, ओखलढुंगामा २२ र जनकपुरमा १८ मिलिमिटर वर्षा भएको छ ।
हाल पश्चिमी न्यूनचापीय प्रणालीको प्रभाव कायमै रहेको र केही दिनबाट यो प्रणाली हटेर क्रमिक रूपमा मौसममा सुधार आउने महाशाखाले जनाएको छ। आज राति देशभर सामान्यदेखि पूर्ण बदली रहनेछ । प्रदेश नं १, मधेस, बागमती र गण्डकी प्रदेशका केही स्थानहरूमा मेघगर्जन/चट्याङ/असिनासहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । साथै सुदूरपश्चिम, कर्णाली र लुम्बिनी प्रदेशका थोरै स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ । देशका उच्च पहाडी तथा हिमाली भेगका केही स्थानमा हिमपातको सम्भावना रहेको छ ।