म्याग्दीको बेनी नगरपालिका– ४ तातोपानी फापरखेत र मंगला गाउँपालिका– ३ पखेर जोड्ने गरी म्याग्दी नदीमा निर्माणाधीन मोटरेबल पुलको ढलान बिग्रिएर ‘नागबेली’ भएको छ । तीनवटा स्पाममध्ये पखेरतर्फको तेस्रो खण्डको ढलान गर्ने क्रममा लापरबाही हुँदा पुलको दायाँ र बायाँ दुवै तर्फको भाग नागबेली भएपछि चौतर्फी रूपमा आलोचना भएको छ।
निर्माणाधीन पुलको ढलान दबिएपछि बिहीबार जिल्ला समन्वय समितिका प्रमुख देवेन्द्रबहादुर केसीको नेतृत्वमा प्राविधिकहरू सम्मिलित टोलीले स्थलगत अनुगमन गरेको छ । अनुगमनको क्रममा ३ देखि साढे ६ सेन्टिमिटरसम्म पुलको ढलान दबिएको भेटिएको टोलीले जनाएको छ । पुलको पहिलो ढलान ३० सेन्टिमिटर बाक्लो रहेकोमा कतिपय स्थानमा साढे ६ सेन्टिमिटरसम्म दबिएको पाइएको हो ।
पुलको ढलान गर्दा गरिएको सटिङको टेका मजबुत नभएपछि ढलान दबिएको स्थानीयबासी वीरेन्द्रमान शाक्यले बताए। ढलानमा भएको कमजोरीले पुलको दिगोपनामा पर्ने प्रभाबबारे सडक डिभिजन र निर्माण कम्पनीका प्रतिनिधिको ध्यानाकर्षण गराइएको र दीर्घकालीन रूपमा पर्न सक्ने असरलाई न्यूनीकरण र रोकथाम गर्नतर्फ सजग गराइएको जिसस प्रमुख केसीले बताए । उनले सडक डिभिजनका प्राविधिक टोलीलाई ढलानको लेबल तलमाथि भएको अवस्थाको अध्ययन गरी प्रतिवेदन तयार गरी उपलब्ध गराउन सुझाब दिएको र प्राविधिक रूपमा टुंगोमा नपुग्दासम्म तेस्रो स्पामको थप कामलाई रोक्न लगाइएको समेत बताए । म्याग्दी नदीमा चारवटा पिलरसहितको १०५ मिटर लामो र ११ मिटर चौडाइ रहेको पुल निर्माण गर्न लागिएको हो ।
वास्तविकता पत्ता नलाग्दासम्म बाँकी काम अगाडि नबढाइने
अनुगमन टोली, सडक डिभिजन कार्यालय र निर्माण कम्पनीले प्राविधिक रूपमा थप नापजाँच गरी वास्तविकता पत्ता नलाग्दासम्म तेस्रो स्पामको थप काम रोक्ने र अन्य बाँकी कामलाई गुणस्तर कायम गरी तीव्रता दिने समझदारीसमेत गरेका छन् । सडक डिभिजन कार्यालय बाग्लुङले आर्थिक वर्ष २०७३–०७४ मा लुम्बिनी–प्राकृतिक जेभीसँग भ्याटबाहेक ९ करोड ३९ लाख ९३ हजार २७७ मा पुल निर्माणको ठेक्का सम्झौता गरेको थियो । ३५ –३५ मिटरका तीनवटा स्पाममध्ये पखेरतर्फको तेस्रो स्पामको ढलानको सटिङमा भएको लापरबाहीले पुलको सतह ६ ठाउँमा दबिएको देखिएपछि निर्माण कम्पनी र सम्बन्धित सरोकारवालाहरूलाई जानकारी गराइएको तातोपानीका स्थानीय कुमार केसीले बताए ।
सडक डिभिजनले के गर्छ अब ?
मोटरेबल पुलको ढलान नागबेली भएको बाहिर आएपछि सडक डिभिजनका प्राविधिकहरूको टोलीले समेत स्थलगत निरीक्षण गरेका छन् । निरीक्षणमा पुगेका सडक डिभिजन कार्यालय बाग्लुङका इन्जिनियर किरण पोखरेलले ढलानको लेबल नापजाँच गरी विज्ञहरूसमेतको सल्लाह लिएर कार्यालयले आवश्यक निर्णय लिने प्रतिक्रिया दिए ।
‘बीच भागमा समस्या देखिएको छैन, छेउछेउको भाग दबिएको छ, प्राविधिक रूपमा अन्य समस्या आउँछ कि आउँदैन भन्ने कुरा महत्वपूर्ण हो, त्यसको बारेमा थप नापजाँच र अध्ययन गछौँ, दबिएको लेबल थप १० सेन्टिमिटर ढलान गर्ने काममा मिलाउन सकिन्छ,’ उनले भने । ३० सेन्टिमिटर बाक्लो ढलानमा थप १० सेन्टिमिटर फिनिसिङ ढलान गर्न बाँकी रहेको छ । अनुगमन टोलीमा जिसस सदस्य शेरबहादुर केसी, पूर्वाधार विकास कार्यालयका इन्जिनियर सुवास श्रेष्ठलगायत तातोपानी र पखेरका स्थानीयको समेत सहभागिता रहेको थियो ।
निर्माण कम्पनी भन्छ, ‘पुलको ८० प्रतिशत काम पूरा भयो’
चारवटा पिलर र तीन स्पाम रहेको यस पुलको करिब ८० प्रतिशत भौतिक प्रगति भएको छ । आगामी चैत मसान्तसम्म म्याद थप भएको पुलको तीनवटै स्ल्याब ढलानको काम सकिएको छ भने अन्य काम बाँकी रहेको छ । कम्पनी र सडक डिभिजन कार्यालयका प्राविधिकहरूकै सुपरिवेक्षणमा ढलान गरिएको भए पनि ढलानको सटिङमा लगाइएका टेकाहरू दबेको कारण समस्या आएको र प्राविधिकहरूको सल्लाहबमोजिम थप काम अघि बढाउने निर्माण कम्पनीका प्रतिनिधि गोपाल शाहले जानकारी दिए ।
सडक विभागले मंगला गाउँपालिका– २ बाबियाचौरको माटेबगर र वडा नं. ५, अर्मनको मसानघाटमा समेत अर्को मोटरेबल पुल निर्माण गरिरहेको छ । लुम्बिनी–प्राकृतिक जेभीले नै ठेक्का लिएर निर्माण गरिरहेको उक्त ८० मिटर लामो पुलको समेत एउटा स्पाम ढलान गरी अर्को स्पामको ढलान गर्ने तयारी गरिएको छ । यी दुई पुल निर्माण भएमा मंगलाको वडा नम्बर ३ र ४ बरंजा तथा वडा नम्बर ५, अर्मनका नागरिकले म्याग्दी नदीमा सहज रूपमा सवारी वारपार र आवतजावत गर्ने सुविधा पाउनेछन् ।