दोलखा । दोलखामा वर्षौँदेखि अलपत्र परेका विकास निर्माणका आयोजना अघि नबढाउने २२ निर्माण व्यवसायीका ठेक्का सम्झौता तोडिएको छ।
पूर्वाधार विकास मन्त्रालयअन्तर्गतको सडक डिभिजन कार्यालय चरिकोटले विभिन्न आयोजना निर्माणको जिम्मा लिएर सम्झौताअनुसार काम नगर्ने निर्माण व्यवसायीका ठेक्का सम्झौता तोडेको हो।
आर्थिक वर्ष ०७९/८० देखि ठेक्का सम्झौता गरी दोलखा जिल्लाका विभिन्न स्थानमा निर्माण कार्य अलपत्र पार्ने निर्माण व्यवसायीमाथि कानुनी कारबाहीको प्रक्रिया अघि बढाइएको कार्यालयले जनाएको छ।
कार्यालयका अनुसार पटक–पटक लिखित ताकेता गर्दा पनि निर्माण कार्य अघि नबढाएपछि ठेक्का सम्झौता तोड्ने निर्णय गरिएको हो।
ठेक्का सम्झौता तोडिएसँगै बाँकी निर्माण कार्य सम्पन्न गर्न लाग्ने खर्च तथा भएको क्षतिको मूल्यांकन गरी कायम हुने रकम ३० दिनभित्र सम्बन्धित निर्माण व्यवसायीबाट सरकारी बाँकीसरह असुलउपर गर्ने सूचना जारी गरिएको छ।
