६ महिनामा चितुवाले तीन सय ३९ वटा घरपालुवा पशुचौपाया मार्‍यो

शुक्रबार, २१ माघ, २०७८
डिजिटल संस्करण

३० लाखभन्दा बढी क्षतिपूर्ति वितरण

चालू आर्थिक वर्षको हालसम्म चितुवाको आक्रमणबाट तीन सयभन्दा धेरै घरपालुवा पशुचौपाया मारिएका छन् । मनास्लु संरक्षण क्षेत्र आयोजना सम्पर्क कार्यालय गोरखाका अनुसार ६ महिनाको अवधिमा चितुवा आक्रमणबाट तीन सय ३९ वटा घरेलु पशुचौपाया मारिएका हुन् ।

चितुवाको आक्रमणमा परी क्षति पुगेका तीन सय ३९ पशुधन र तीनजना मानिसलाई गरी ३० लाख ८९ हजार पाँच सय ५५ रुपैयाँ क्षतिपूर्ति वितरण गरिएको कार्यालयका सम्पर्क अधिकृत पशुपति अधिकारीले जानकारी दिए । चितुवाले मारेका खसी, बोका, गाई, बाच्छाबाच्छी, पाठापाठीको पूर्ण विवरण  आउन बाँकी रहेको उनले बताए । वन्यजन्तुबाट घरपालुवा जनावरमा पुगेको सबै क्षति डिभिजन वन कार्यालयमा आउने र वन कार्यालयले मनास्लु संरक्षण क्षेत्रमा एकमुष्ट रुपमा पठाउने गरेकाको यकिन तथ्यांक नभएको कार्यालयले जनाएको छ । केही दिनअघि मात्र वन कार्यालयबाट एक सयवटा निवेदन प्राप्त भएको र उनीहरूलाई क्षतिपूर्ति वितरण गर्न बाँकी रहेकोसमेत अधिकारीले बताए । 

पछिल्लो समयमा चितुवाको आक्रमणबाट घरपालुवा जनावरको क्षति हुने क्रम बढ्दै गएको कार्यालयको तथ्यांकमा उल्लेख छ । आव ०७५/७६ मा नौ लाख ३३ हजार एक सय रुपैयाँ क्षतिपूर्ति वितरण गरेको कार्यालयले आव ०७६/७७ मा ३३ लाख ७५ हजार वितरण गरेको थियो । ०७७/७८ मा दोब्बर बढेर ६६ लाख ७८ हजार दुई सय रुपैयाँ क्षतिपूर्ति वितरण गरिएको कार्यालय प्रमुख अधिकारीले जानकारी दिए । उनका अनुसार ०७७/७८ मा चितुवाले चार सय ६७ घरपरिवारको ६ सय २२ वटा पशु चौपाया मारेको थियो । 

सबैभन्दा बढी गोरखा नगरपालिकामा चितुवाले आक्रमणमा गरेको छ । भीमसेन थापा गाउँपालिका, शहिद लखन गाउँपालिका, बारपाक सुलिकोट गाउँपालिका, पालुङटार नगरपालिका र आरुघाट गाउँपालिकामा पशुहरू चितुवाको आक्रमणमा गर्ने गरेका छन् । चितुवाले सबैभन्दा बढी बाख्रालाई आक्रमण गर्ने गरेको छ । जंगलमा चराउन लगेको बेला वा घरमै खोरमा राखेका बेला पनि चितुवाले आक्रमण गर्ने गरेको सम्पर्क कार्यालयले जनाएको छ ।

संख्यात्मक हिसाबमा घरपालुवा पशुचौपाया चितुवाको आक्रमण धेरै परेको देखिए पनि क्षतिपूर्ती पाउने विषयमा धेरै किसानले जानकारी नपाएको र पाएकाहरूले पनि प्रक्रिया झन्झटिलो र डिभिजन वन कार्यालयलले सिफारिस बनाउन ढिलासुस्ती गर्ने गरेको स्थानीयको गुनासो छ । वन्यजन्तुबाट हुने क्षतिको राहत सहयोग निर्देशिकाका अनुसार बाघ, हात्ती, गैंडा, भालु, चितुवा, हिउँचितुवा, ध्वाँसे चितुवा, ब्वाँसो, जंगली कुकुर, जंगली बँदेल, अर्ना, मगर गोही, गौरीगाई र अजिंगर मानिस, घरपालुवा पशु वा गोठमा क्षति पु¥याएमा पीडितले क्षतिपूर्ति पाउने व्यवस्था छ ।
 

See More On

सुझावित समाचार