नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान)का नवनियुक्त महानिर्देशक प्रदीप अधिकारीले बिहीबार कार्यभार सम्हालेका छन् । कार्यभार सम्हाल्दै उनले हवाई सुरक्षा र पूर्वाधार निर्माणलाई प्राथमिकतामा राख्ने बताएका छन् । उनलाई १७ माघमा बसेको मन्त्रीपरिषद् बैठकले क्यानको महानिर्देशक पदमा नियुक्त गर्ने निर्णय गरेको थियो ।
यसअघि एघारौं तहमा कार्यरत ४२ बर्षीय अधिकारी प्राधिकरणमा चार बर्षका लागि महानिर्देशक नियुक्त भएका हुन् । उनले पुल्चोक इञ्जिनियरिङ कलेजबाट एमई गरेका छन् । २०६४ सालमा आठौं तहबाट प्राधिकरणमा सेवा प्रवेश गरेका उनी आन्तरिक खुला प्रतिस्पर्धाबाट एघारौं तहमा पुगेका थिए । राष्ट्रिय गौरवका आयोजना निर्देशनालयको निर्देशक समेत रहेका उनले निर्माणाधिन गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल र पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थलको आयोजना प्रमुखका रुपमा काम गरिरहेका थिए ।
निवर्तमान महानिर्देशक राजकुमार क्षेत्रीले उमेर हदका कारण अवकाश पाएपछि महानिर्देशक पद रिक्त थियो । महानिर्देशक बन्नका लागि बाह्रौं तहमा कार्यरत प्रेमनाथ ठाकुर, प्रतापबाबु तिवारी, देवचन्द्रलाल कर्ण, भेला गुरागाईं, हंसराज पाण्डे र गोविन्द प्रसाद दाहाल प्रतिस्पर्धामा थिए । उमेर हदका कारण अवकास पाएका निवर्तमान महानिर्देशक क्षेत्रीले पनि सोही पदमा पुनः बहाल पाउँ भन्दै सर्वोच्चमा मुद्दा दायर गरेका छन्, जुन मुद्दाको अझै फैसला भइसकेको छैन ।