काठमाडौं/ नेपाल विज्ञापन संघ (आन)ले आयोजना गरेको रेडबुल १३औँ कृति अवार्डस्–२०८३ को उद्घाटन सत्र ‘कृति इग्नाइट’ सम्पन्न भएको छ । काठमाडौंमा आयोजित कार्यक्रममा सञ्चार तथा सूचना प्रविधिमन्त्री डा. विक्रम तिमिल्सिनाको प्रमुख आतिथ्यमा उद्घाटन गरिएको हो ।
कृति अवार्डस्ले नेपाली विज्ञापन तथा सञ्चार क्षेत्रमा सिर्जनशीलता र उत्कृष्टताको सम्मान गर्दै आएको छ । नेपाल उद्योग वाणिज्य महासंघ, नेपाल उद्योग परिसंघ, नेपाल चेम्बर अफ कमर्स तथा नेपाल सरकारको विज्ञापन बोर्डले अवार्डस्लाई समर्थन गरेका छन् ।
त्यस्तै, ब्रोडकास्टिङ एसोसिएसन अफ नेपाल (बान), सामुदायिक रेडियो प्रसारक संघ (अकोराब), रेडियो ब्रोडकास्टर्स फोरम, नेपाल मिडिया सोसाइटी र मिडिया एलायन्स नेपाल यस वर्षदेखि कृति अवार्डस्का सहआयोजकका रूपमा सहभागी भएका छन् । अवार्डस्मा आनका गैरसदस्यका लागि समेत मनोनयन खुला गरिएको आयोजकले जनाएको छ ।
कार्यक्रममा आनका पूर्वअध्यक्ष तथा कृति अवार्डस्का प्रवर्द्धक एवं मिडिया एलायन्स नेपालका संस्थापक अध्यक्ष भाष्करराज राजकर्णिकारले स्वागत मन्तव्य राखेका थिए । कार्यक्रममा नेपाली विज्ञापन तथा आमसञ्चार क्षेत्रको विकासक्रम झल्काउने अडियो–भिज्युअल प्रस्तुतिसमेत गरिएको थियो ।