काठमाडौं/ बाढीपछि अवरुद्ध मुस्ताङस्थित कोरोला नाका सोमबारदेखि केन्द्रीय सडकमा जोडिने भएको छ । ८–११ असोजमा कालीगण्डकी नदीमा आएको बाढीले कालीगण्डकी करिडोरका विभिन्न सडकखण्ड बगाएपछि कोरोला नाकासँग सडक सम्पर्क टुटेपछि चीनसँग सडकमार्फत हुने व्यापार पनि ठप्प थियो ।
बाढीले कालीगण्डकी करिडोरको मालढुंगा–बेनी–जोनसोम–कोरोला खण्डका ४६ ठाउँमा अवारेध पुर्याएको थियो । सोमबारदेखि बेनी–जोमसोम–कोरोला सडकखण्ड सञ्चालनमा आउने पूर्वाधार विकासमन्त्री सुनील लम्सालले बताए । ‘बेनी–जोमसोम–कोरोला सडकखण्ड आगामी सोमबारदेखि पुनः सञ्चालनमा ल्याउने तालिका छ,’ उनले फेसबुकमा लेखेका छन् । त्यसपछि चीनतर्फको व्यापार पनि पुनः सुरु हुनेछ ।
चीनतर्फको व्यापारमा मुख्यतः तातोपानी, रसुवागढी र मुस्ताङको कोरोला नाका प्रयोग हुन्छन् । त्यसमा रसुवागढी र तातोपानी नाका बढी प्रयोग हुन्थ्यो । कोरोला नाका भने कम प्रयोग हुन्थ्यो । तर, कोदारी राजमार्ग अवरुद्ध भएसँगै साउनदेखि नै तातोपानी नाकाबाट हुने व्यापार अवरुद्ध छ ।
यसैगरी, १० भदौको बाढीले रसुवागढी नाका पनि ठप्प बनाएको छ । त्यसपछि चीनतर्फको व्यापार मुस्ताङको कोरोला नाकामा सिफ्ट भएको थियो । तर, ११ असोजको बाढीले कालीगण्डकी करिडोर अवरुद्ध गराएसँगै कोरोला नाका पनि ठप्प भएको अवस्था छ । अहिले सयौँ संख्यामा कन्टेनर नाकामै अड्किएका छन् । सोमबारदेखि कोरोला नाकासम्मको सडक खुल्ने भएसँगै चीनसँगको व्यापारले पुनः चलायमान हुने अपेक्षा छ ।