सरकारी निकायको समन्वयमा उद्योगीले काठमाडौंमा उपलब्ध जुनसुकै ब्रान्डका खाली सिलिन्डर साटेर उपभोक्तालाई ग्यास दिने भएका छन् । भारतबाट नियमित आयात भइरहेको र राजमार्गमा पनि कुनै अवरोध नभएको अवस्थामा उपत्यकामा ग्यास आपूर्ति सहज हुन नसकेपछि उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयको निर्देशनमा एकीकृत बिक्री केन्द्रमार्फत उपभोक्ताले जुनसुकै ब्रान्डको सिलिन्डर साटफेर गर्न पाउने व्यवस्था हुन लागेको हो ।
मन्त्रालयका अनुसार आयल निगम र उपत्यकाका तीनवटै जिल्ला प्रशासन कार्यालयको समन्वयमा ग्यासको एकीकृत बिक्री केन्द्र राख्न निश्चित ठाउँ तोकिनेछन् । एक जिल्लामा तीनभन्दा बढी बिक्री केन्द्र राख्ने मन्त्रालयको योजना छ । सरकारले तोकेको बिक्री केन्द्रमा १५–२० वटा ब्रान्डका ग्यास राखेर उपभोक्ताले मागेअनुसार दिने योजना बनाएको ग्यास उद्योग संघका अध्यक्ष दिवान चन्दले जानकारी दिए । ‘उपत्यकामा ग्यास आपूर्ति सहज गर्न एकै ठाउँमा सबै ब्रान्डका सिलिन्डर राखौँ न भनेर एक खालको निर्णय भएको छ । यस्तो एकीकृत ठाउँमा उपभोक्ताले ल्याएको खाली सिलिन्डर साटेर ग्यास दिने योजनामा छौँ,’ चन्दले भने, ‘सरकारी निकायले शुक्रबारसम्म ठाउँ सुनिश्चित गरिदिने हो भने आइतबारबाटै एकीकृत बिक्री केन्द्र सुरु गर्छौँ ।’
सरकारले तोकेको बिक्री केन्द्रमा कुनै–कुनै ब्रान्डको उपस्थिति छुटिहाल्यो भने पनि उपभोक्ताले रोजेरै ग्यास भरिएको अन्य ब्रान्डको सिलिन्डर लैजान पाउने व्यवस्था गरिने उनले बताए । ‘भारतबाट मागअनुसार ग्यास आयात भएको छ, बाटोको असुविधा पनि छैन । यस्तो वला पनि असहज हुँदा हामी आफैँ अचम्मित छौँ,’ अध्यक्ष चन्दले भने, ‘त्यसैले, जुनसुकै उपाय लगाएर भए पनि दसैँअगाडि ग्यासको आपूर्ति सहज गराउनुपर्छ भन्ने सरकारसँगै हाम्रो पनि प्रयास जारी छ ।’
आयल निगमका कार्यकारी निर्देशक नागेन्द्र साहले उद्योगीसँगको समन्वयमा उपभोक्तालाई सहजता प्रदान गर्न खोजिएको बताए । ‘अहिले ग्यास आपूर्तिमा धेरै सहजता आइसकेको छ । तैपनि, खाली सिलिन्डर सटहीमा समस्या भोगिरहेका उपभोक्तालाई लक्षित गरी केही स्थानमा दसैँसम्मका लागि बिक्री केन्द्र नियमित रूपले सञ्चालन गर्ने गृहकार्य भएको हो,’ उनले भने, ‘भिडभाड नदेखिने गरी अलि व्यवस्थित रूपमा कसरी गर्न सकिन्छ भनेर हामी सल्लाह गर्दै छौँ । शुक्रबार उद्योगीसँग थप छलफल गरेर निर्णय हुन्छ ।’ हाल दैनिक ११५ देखि १३५ बुलेटसम्म ग्यास आयात भइरहेको उनले जानकारी दिए ।