काठमाडाैं/जलवायुजन्य विपत्का कारण नेपालको औद्योगिक क्षेत्र जोखिममा पर्न थालेको छ । खासगरी जलवायुजन्य विपत्का कारण आयात–निर्यात र आपूर्ति शृंखला (सप्लाई चेन) प्रभावित हुँदाको असर औद्योगिक क्षेत्रमा देखिन थालेको हो ।
छोटो समयमै हुने अत्यधिक वर्षा र त्यसले निम्त्याउने बाढीपहिरो, डुबान तथा हिमताल फुटेर आउने लेदोसहितको बाढीपहिरोका अतरिक्त खडेरी र हिटवेभका कारण नेपालको आपूर्ति शृंखलालाई भत्काइदिँदा औद्योगिक करिडोरमा असर देखिन थालेको हो ।
विश्व बैंकको हालैको रिपोर्टले पनि गत १० भदौको रसुवा भोटेकोशी बाढीबाट भएको क्षतिका कारण नेपालको आर्थिक वृद्धिमा औद्योगिक क्षेत्रको क्षति मुख्य बाधक बन्ने अनुमान गरेको जनाएको छ । ‘सौर्य ऊर्जा, विद्युत् प्रसारण तथा यातायात पूर्वाधारमा भएको व्यापक क्षतिले विद्युत् उत्पादन, उत्पादनमूलक गतिविधि तथा वस्तुको आयात–निर्यातमा प्रत्यक्ष असर पार्नेछ,’ रिपोर्टमा भनिएको छ, ‘व्यापार, यातायात, पर्यटन तथा वित्तीय गतिविधिमा परेको अवरोधले सेवा क्षेत्र पनि प्रभावित हुने देखिन्छ ।’
असन्तुलनका कारण उत्तरतर्फका रणनीतिक नाकादेखि देशका लाइफलाइन मानिएका राजमार्ग र मुख्य आर्थिक करिडोर जलवायुजन्य विपत्को चपेटामा छन् । नेपालले सन् २०२५ मा सार्वजनिक गरेको तेस्रो राष्ट्रिय निर्धारित योगदान (एडिसी ३) अनुसार सन् २०१८ देखि २०२४ सम्म नेपालमा जलवायु परिवर्तनजन्य घटना ३२ हजार रेकर्ड हुँदा २६ अर्ब ६ करोड रुपैयाँबराबरको भौतिक क्षति भएको छ ।
नेपाल उद्योग परिसंघ (सिएनआई)का अध्यक्ष वीरेन्द्रराज पाण्डे पछिल्ला वर्षमा बाढीपहिरोका कारण उद्योगसँगै सप्लाई चेनमा क्षति भइरहेको बताउँछन् । ‘जलवायु परिवर्तनको असर सबैतिर देखिएको छ । नेपालमा पनि हिमताल विस्फोट हुँदा नाका ठप्प हुने अनि तराईका औद्योगिक प्रतिष्ठान डुब्ने गरेका छन्,’ उनले भने, ‘जोखिम न्यूनीकरण गरेर आत्मसात् गर्दै जानुपर्छ । औद्योगिक प्रतिष्ठान पनि सुधारिएको प्रणालीमा जानुपर्छ ।’
थिलथिलो उत्तरी नाका र ढुवानीको सास्ती
जलवायुजन्य विपत्को प्रत्यक्ष असर नेपाल–चीन व्यापारका मुख्य नाकामा देखिएको छ । उत्तरी छिमेक चीनसँग जोडिएका मुख्य दुईवटा नाका तातोपानी र रसुवा थिलोथिलो छन् । अर्को नाका कोरोलासमेत बन्द अवस्था छ । तीनैवटा नाका नचल्दा उद्योगका लागि चाहिने कच्चा पदार्थ, मेसिनरी तथा उपभोग्य वस्तुको आयातसमेत प्रभावित भएको छ ।
तातोपानी प्रभावित भएपछि वैकल्पिक रूपमा चम्किएको रसुवागढी नाका १० भदौले क्षतिग्रस्त बनाएपछि अनिश्चित बनेको छ । भोटेकोशीमा गत वर्ष २३ असारमा पनि भीषण बाढी आउँदा ६ महिना नाका ठप्प भएको थियो । यस नाकाबाट चालू आर्थिक वर्षमा २५ अर्ब राजस्व उठाउने लक्ष्य राखिएको थियो । तर, दुई अर्ब ७२ करोड राजस्व उठेपछि नाका बन्द भएको छ ।
१२ वैशाख ०७२ को विनाशकारी भूकम्पपछि तातोपानी नाका तंग्रिन सकेको छैन । पटक–पटकको बाढीपहिरोले यो नाका प्रभावित छ । पछिल्लोपटक ३२ असारमा इकोमा पहिरो खस्दा दुई महिना आयात–निर्यात ठप्प बनेको थियो । तातोपानी भन्सारका भन्सार अधिकृत रमेशबहादुर शाह खासामा रहेका कन्टेनर कोरोला नाकापट्टि स्थानान्तरण भएको बताए । ‘पोहोर पहिरोले बर्खाका चार महिना भन्सार बन्द भएको थियो । २४ अर्ब राजस्व लक्ष्य रहेको तातोपानी नाकाबाट १४ अर्ब ५० करोड रुपैयाँ मात्रै भन्सार उठ्यो,’ उनले भने, ‘यसपटक पनि त्यस्तै भयो ।’ यो नाकाबाट फलफूल, विद्युतीय गाडी, रेडिमेट सरसामान र जलविद्युत्का मेसिनरी सामान आयात हुन्छ ।
बिथोलिएको राजधानीको सप्लाई चेन
१० भदौको बाढीले त्रिशूली नदीको सडकको तल्लो भूभाग कटान गरेर १४ भदौमा कृष्णभिरमा पहिरो खस्दा पृथ्वी राजमार्ग १८ दिन ठप्प बन्यो । कृष्णभिर खण्डमा अहिले अस्थायी ट्र्याक छ । असोज दोस्रोको बाढीपहिरोले काठमाडौं उपत्यकासँगको सडक सञ्जाल लगभग ठप्प रह्यो । यसअघि १०–१२ असोज ०८१ मा मध्य नेपालमा अत्यधिक वर्षा हुँदा काठमाडौंसँग जोडिएका सबै राजमार्ग ठप्प भएका थिए । सबैभन्दा धेरै आर्थिक गतिविधि हुने काठमाडौंको स्पलाई चेन अवरुद्ध हुँदा त्यसले उद्योग–व्यवसायसमेत प्रभावित बने ।
विश्व मौसम संगठनद्वारा १५ भदौ ०७८ मा सार्वजनिक प्रतिवेदनले पछिल्लो ५० वर्षमा (सन् १९७०–२०१९) अतिजन्य मौसम, जलवायु तथा जलका कारण सिर्जित विपत्का घटना वृद्धि भएको औँल्याएको छ । प्रतिवेदनअनुसार पछिल्लो ५० वर्षमा एसियामा मात्र १.२ ट्रिलियन अमेरिकी डलरबराबरको आर्थिक क्षति भएको छ । विश्वमा भएका मौसम र जलवायुजन्य कारणबाट सिर्जित विपत्का घटनामध्ये ३१ प्रतिशत हिस्सा एसियाले ओगटेको छ ।
तर, ०८१ मा रोशी खोलाको बाढीले बिपी राजमार्गको धुलिखेल–बर्दिबास खण्डको नौ किलोमिटर बगायो, जुन अहिले पनि पुनर्निर्माण भएको छैन । अस्थायी डाइभर्सनका भरमा चलिरहेको छ । यसबाहेक पृथ्वी राजमार्ग, मुग्लिन–नारायणगढ सडक, त्रिभुवन राजपथलगायतका सडक पछिल्लोपटक हरेक बर्खामा ठुलो वर्षा हुनेबित्तिकै अवरुद्ध हुन्छन् ।
ढुवानी व्यवसायीहरूको छाता संगठन ढुवानी व्यवसायी महासंघ नेपालका अध्यक्ष माधवप्रसाद नेपालले पहिरोका कारण ठुला राजमार्ग वेला–वेला अवरुद्ध हुँदा ढुवानी प्रभावित भएको बताउँछन् । ढुवानी दर प्रतिकिलो तीन रुपैयाँ ३० पैसादेखि तीन रुपैयाँ ५० पैसा भाडादर रहेकामा बर्खामा सडक अवरुद्ध हुँदा तीन रुपैयाँ ७० पैसासम्म पर्ने गरेको र यसले उद्योगसँगै उपभोक्ताको मूल्यमा असर पर्ने गरेको उनले बताए ।
औद्योगिक करिडोरमा डुबानको समस्या
अनुसन्धानकर्ता रेगन सापकोटाका अनुसार नेपालमा १० वर्षमा एकपटक आउने बाढी अब प्रत्येक केही वर्षमै र सय वर्षमा एकपटक आउने बाढी प्रत्येक केही दशकमै आउन थालेको छ । यही ‘रिटर्न पिरियड’ घट्दा पहाडबाट बगेर आएको पानीले तराईका मुख्य औद्योगिक करिडोरलाई बर्सेनि जलमग्न बनाउने गरेको छ । ०७८ कात्तिकको पहिलो साता सुनसरी–मोरङ र विराटनगर–कटहरी क्षेत्रका ४१ वटा उद्योग प्रभावित हुँदा दुई अर्ब ४७ करोड रुपैयाँको क्षति भएको थियो । उद्योग परिसंघ कोशीका अनुसार मेसिन औजारमा मात्र ९८ करोड, कच्चा मालवस्तुमा ७१ करोड र तयारी वस्तुमा ७६ करोडभन्दा बढी नोक्सानी भएको थियो ।
उद्योग संगठन मोरङका महानिर्देशक चूडामणि भट्टराई सुनसरी–मोरङ औद्योगिक करिडोर डुबानको मुख्य कारण सडक रहेको बताउँछन् । ‘उद्योग पहिलेदेखि नै बसेका हुन् । तर, हुलाकी सडक अग्लो बनाइएको छ, निकास छैन,’ उनले भने, ‘कल्भर्ट बनाउनुपर्यो भन्ने हाम्रो माग हो ।’ ०७८ भदौमा रुपन्देहीमा लगातार परेको झरीले बुटवल–भैरहवा, भैरहवा–परासी र भैरहवा–लुम्बिनी करिडोरका धेरै उद्योग डुबानमा परेका थिए । ०८० असारमा पूर्वी नेपालका संखुवासभा र पाँचथर क्षेत्रका नदीमा आएको बाढीले ३० वटा जलविद्युत् आयोजनामा साढे आठ अर्बको क्षति पुर्याएको थियो ।