काठमाडौं/ सांग्रिला डेभलपमेन्ट बैंकको २२औँ साधारणसभाले १०.५२६३ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेको छ ।
बिहीबार काठमाडौंमा सम्पन्न साधारणसभाले बैंकको हाल कायम जारी तथा चुक्ता पुँजी तीन अर्ब ७३ करोड ४० लाख ६८ हजार पाँच सय पाँच रुपैयाँको ६.५२६३ प्रतिशतबराबरको नगद लाभांश (करसहित) र हाल कायम चुक्ता पुँजीको चार प्रतिशतबराबरको बोनस सेयर दिने भएको हो ।
यो प्रस्ताव पारित भएसँगै अब डेभलपमेन्ट बैंकको चुक्ता तीन अर्ब ८८ करोड ३४ लाख ३१ हजार दुई सय ४५ रुपैयाँ पुग्ने भएको छ ।
साधारणसभाले आगामी चार वर्षका लागि ६ सदस्यीय नयाँ सञ्चालक समितिसमेत निर्विरोध चयन गरेको छ । जसमा संस्थापक सेयरधनीका तर्फबाट उज्ज्वल सत्याल, सुशीलकाजी बानियाँ र श्यामकुमार शर्मा तथा सर्वसाधारण सेयरधनीका तर्फबाट विष्णुप्रसाद ढकाल, कृष्णप्रसाद रेग्मी र भावना अग्रवाल रहेका छन् ।