स्थानीय तहको निर्वाचन संविधानसम्मत हुनुपर्छ : महामन्त्री थापा

शुक्रबार, १४ माघ, २०७८
डिजिटल संस्करण

नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले स्थानीय तहको निर्वाचन संविधानसम्मत गर्नुपर्ने बताएका छन्। शुक्रबार नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठकपछि सञ्चारकर्मीसँग संक्षिप्त कुरा गर्दै महामन्त्री थापाले सत्तारुढ गठबन्धनले स्थानीय तहको निर्वाचनको सम्बन्धमा अघि सारेका विकल्पहरू संविधानसम्मत नभएको प्रतिक्रिया दिए। कानुन संशोधन गरेर निर्वाचन गरे संविधानसम्मत नहुने भन्दै उनले संविधानसम्मत नभएको कुरालाई कांग्रेसले बोक्न नहुने बताए। पार्टी सभापति शेरबहादुर देउवालाई आफूहरूले सो कुरा राखिसकेको उनले उल्लेख गरे। गठबन्धनले संविधानसँग बाझिने गरी कुनै पनि काम नगर्नेमा उनले विश्वास व्यक्त गरे। 

 ‘नेपाली कांग्रेसको सभापतिजीलाई मैले आजको छलफलमा पनि भनिसकेको छु। र, योभन्दा अगाडि पनि भनिसकेको छु। गठबन्धनका नेताहरूसँग मेरो प्रत्यक्ष रूपमा भेटघाट नभएको हुनाले म यो माध्यमबाट पनि उहाँहरूलाई के भन्न चाहन्छु भने स्थानीय निर्वाचनका सन्दर्भमा अहिले जे–जस्ता विषयहरू गठबन्धनभित्र प्रवेश भएको छ, र जुनजुन विकल्पहरूका बारेमा छलफल भयो भनेर सञ्चारमाध्यमबाट बाहिर आएका छन्। ती कुनै पनि विषयहरू संविधानसम्मत छैनन्। हामीले त्यो कोणबाट हाम्रो संविधानलाई बुझ्यौँ र त्यसको आधारमा स्थानीय निर्वाचनका बारेमा हामी अहिले कानुन संशोधन गरेर निर्णय गर्छौँ भनेर जुन कुरा आइरहेको छ, गर्यौँ भने यो संविधानसम्मत हुँदैन,’ थापाले भने। 

सभापति देउवाले सो कुरा गठबन्धनको बैठकमा राख्ने प्रतिबद्धता गरेको पनि महामन्त्री थापाले जानकारी दिए। शनिबार बस्ने गठबन्धनको बैठक स्थानीय तहको निर्वाचन तय गर्नेतर्फ जानेमा आफूले अपेक्षा गरेको उनको भनाइ छ।

सुझावित समाचार