लुम्बिनी प्रदेशको नेतृत्व फेर्ने छलफल भएको छैन : मुख्यमन्त्री

शुक्रबार, १४ माघ, २०७८
डिजिटल संस्करण

लुम्बिनी प्रदेशका मुख्यमन्त्री कुलप्रसाद केसीले प्रदेशको नेतृत्व फेर्ने कुरा गठबन्धनको उच्चतहमा छलफल हुनुपर्ने विषय भएको बताएका छन् । शुक्रबार रोल्पाको लिबाङमा प्रेस सेन्टरले आयोजना गरेको कार्यक्रममा बोल्दै केसीले लुम्बिनी प्रदेशमा मुख्यमन्त्री परिवर्तनको हल्ला चले पनि त्यस विषयमा गठबन्धनमा छलफल नभएको दाबी गरे ।

प्रदेशको नेतृत्व आलोपालो गर्ने कुरा राजनीतिक विषय भएको भन्दै उनले अहिले गठबन्धनमा सम्मिलित नेपाली कांग्रेस, माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादीले दुई–दुई र जसपाले एक प्रदेशको नेतृत्व गरिरहेकाले लुम्बिनी प्रदेशको नेतृत्वको कुरा पनि गठबन्धनको उच्च तहमा सबै प्रदेशलाई दृष्टिगत गरी छलफल हुनुपर्ने बताए ।

केन्द्रीय सरकारको वैचारिक अगुवाइमा सातै प्रदेशको हेरफेर भइसकेको र लुम्बिनी प्रदेशको गठबन्धन नबन्दै सरकार बनेकाले अब कसरी जाने भन्ने कुरा राजनीतिक उच्च नेतृत्वको हातमा रहेको उनको भनाइ छ ।

भर्खरै सम्पन्न राष्ट्रिय सभा निर्वाचनमा गठबन्धनका उम्मेदवारलाई भारी मतले विजयी गराएको भन्दै मुख्यमन्त्री केसीले गठबन्धनको राजनीतिक यात्रा लामो रहेको चर्चा गरे । गठबन्धनको अन्तिम भोज भन्ने नेकपा एमालेका महासचिव तथा यसअघिका मुख्यमन्त्री शंकर पोखरेलको भनाइप्रति कटाक्ष गर्दै केसीले राष्ट्रिय सभा निर्वाचनमा भोग्नुपरेको पराजयको पीडा र आक्रोश अभिव्यक्त भएको टिप्पणी गरे । ‘कतै जस्केलाबाट मोर्चामा छिर्न पो सकिन्छ कि भन्ने कोसिस पनि हुन सक्छ,’ केसीले भने, ‘त्यसबाट हामी आत्तिनुहुँदैन, अहिलेसम्मका उपलब्धिलाई बचाउने हाम्रो लक्ष्य जे हो, त्यसमा अडिग रहनुपर्छ ।’ लुम्बिनी प्रदेशले गठबन्धनलाई बलियो बनाउनका लागि थप बल पुर्याएको दाबीसमेत केसीले गरे ।

सुझावित समाचार