क्याम्पसको लापरबाहीले विद्यार्थी मौका परीक्षाबाट वञ्चित

सोमबार, ३ माघ, २०७८
डिजिटल संस्करण

जलेश्वरस्थित रामानन्द विश्वेश्वर महेन्द्र (राविम ) क्याम्पसका शिक्षा संकायअन्तर्गत कक्षा  १२ मा पढ्दै गरेका  दश विद्यार्थी क्याम्पसको लापरबाहीका कारण मौका परीक्षा दिनबाट वञ्चित भएका छन् । उनीहरूका अनुसार क्याम्पस प्रशासनले परीक्षा फारम सम्बन्धित निकायमा नपठाइदिँदा अब एक वर्षसम्म परीक्षा दिन नपाउने भएका हुन् । आइतबार रामगोपालपुरस्थित परीक्षा केन्द्रमा जानलाई प्रवेशपत्र लिन क्याम्पस पुगेका विद्यार्थीले आफूहरूको फारम नै नगएको थाहा पाएको बताए । 

क्याम्पसले लापरबाही गरेपछि आक्रोसित हुँदै विद्यार्थीले क्याम्पस प्रशासन र परीक्षा शाखामै तालाबन्दीसमेत गरेका छन् । उनीहरूले क्याम्पस प्रमुख बलराम पाण्डेय, परीक्षा नियन्त्रक श्रीराम मिश्र र क्याम्पस व्यवस्थापन समिति अध्यक्ष देवेन्द्र चौधरीसमेतको राजीनामा माग गरेका छन् । झन्डै एक हजार दुई सयभन्दा बढी विद्यार्थी अध्ययनरत सो क्याम्पसमा पहिले पनि क्याम्पस प्रशासनले विद्यार्थीको भविष्यमाथि खेलबाड गर्ने गरेको बताउँदै त्यस्तो प्रशासनलाई त्यसै नछाड्ने विद्यार्थीले चेतावनी दिएका छन् । 

क्याम्पसले नेहा राउत, अम्बिका महरा, अञ्जु मिश्र, सोनु यादव, अमृता मण्डलसहित दशजना छात्र तथा छात्राको फारम क्याम्पसमै राखेपछि उनीहरू आन्दोलित भएका हुन् । क्याम्पस प्रशासनले भूल भएको स्विकार्दै यस विषयमा नियमानुसार कारबाही गर्ने बताए पनि विद्यार्थीहरू भने क्याम्पस प्रमुख, परीक्षा नियन्त्रक र व्यवस्थापन समिति अध्यक्षले राजीनामा दिनुपर्ने अडान राखका छन् । माग पूरा नहुँदासम्म तालाबन्दी नखुल्ने विद्यार्थीले बताएका छन् । 

सुझावित समाचार