नेकपा एमाले रौतहटको जिल्ला अध्यक्षमा त्रिभुवन साह चयन भएका छन्। आइतबार साँझ जिल्लाको कटहरियामा सम्पन्न नवौँ जिल्ला अधिवेशनबाट साह सर्वसम्मत अध्यक्ष चयन भएका हुन्। उपाध्यक्षमा दीपक यादव, सचिवमा बालविक्रम कार्की, उपसचिवमा पल्ट चौधरी, रूपेश पटेल सर्वसम्मत चयन भएको अध्यक्षमण्डलका अध्यक्ष उपेन्द्र साहले जानकारी दिए।
साहका अनुसार हलले नेतृत्व चयन गर्न दिएको म्यान्डेटअनुसार छलफल र सर्वसम्मत रूपमा नेतृत्व चयन गरिएको हो। त्यसैगरी अधिवेशनले एक सय ३५ सदस्यीय जिल्ला कमिटी पनि गठन गरेको छ।
नवनिर्वाचित पदाधिकारीलाई नेकपा एमाले प्रदेश नम्बर २ का अध्यक्ष रामअवतार यादवले पद तथा गोपनीयताको शपथग्रहण गराएका थिए। नवनिर्वाचित अध्यक्ष साहले रौतहट जिल्लामा नेकपा एमालेलाई पहिलो नम्बरको पार्टी बनाउन सबै एकजुट भएर लाग्ने प्रतिबद्धता व्यक्त गरे।
एमाले रौतहटको नवौँ जिल्ला अधिवेशनमा अध्यक्षमण्डलले एकलौटी गरेको भन्दै पूर्वजिल्ला अध्यक्ष तुलसीराज गिरीले आपत्ति जनाएका छन्। आइतबार साँझ सहमतिको नाममा अध्यक्षमण्डलले मनोमानी गरेको गिरीको भनाइ रहेको छ। निर्वाचन समिति र अध्यक्षमण्डलले गरेको एकलौटी नाम घोषणाको विरोध गर्दै आफूहरूले आज दिउँसो जिल्लाको गरुडास्थित पार्टी कार्यालयमा अधिवेशनलाई निरन्तरता दिएर नयाँ नेतृत्व चयन गर्ने गिरीले बताए।