गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल निर्माणको काम ९८.७६ प्रतिशत सम्पन्न

शनिबार, १७ पुष, २०७८
डिजिटल संस्करण

वैशाखसम्म उडान सुरु गर्न मन्त्री आलेको निर्देशन

भैरहवामा निर्माणाधीन गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको निर्माण कार्य ९८.७६ प्रतिशत सम्पन्न भएको छ । विमानस्थलमा रनवे लाइट, यान्त्रिक अवतरण प्रणाली, सञ्चार उड्डयन सहायक उपकरणहरू, ब्यागेज ह्यान्डलिङ सिस्टम, एक्सरेलगायत आवश्यक उपकरणहरू जडान भइसकेको नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान)ले जनाएको छ । 

विमानस्थलमा चाँडै क्यालिब्रेसन फ्लाइट गरेर वैशाखदेखि उडान सुरु गर्ने लक्ष्य राखेको प्राधिकरणका महाप्रबन्धक राजकुमार क्षत्रीले बताए । प्राधिकरणले यसअघि नै क्यालिब्रेसन फ्लाइट गर्न खोजे पनि विभिन्न कारणले रोकिँदै आइरहेको छ । विमानस्थलमा व्यावसायिक उडान सुरु गर्नुअघि त्यहाँ जडान गरिएका उपकरणहरूले ठीकसँग काम गरेको वा नगरेको भनेर परीक्षण गर्नका लागि पहिला विदेशबाट विशेष उपकरणजडित विमान ल्याएर उडान–अवतरण गरी निरीक्षण गर्नुपर्ने हुन्छ ।

शुक्रबार आयोजित प्राधिकरणको २३औँ वार्षिकोत्सव कार्यक्रममा उनले क्यालिब्रेसन फ्लाइट छिटोभन्दा छिटो गर्न प्रयास गरिरहेको बताएका छन् । सोही कार्यक्रममा पर्यटनमन्त्री प्रेमबहादुर आलेले पनि वैशाखसम्म विमानस्थल सञ्चालनमा आउने गरी काम गर्न प्राधिकरणलाई निर्देशन दिए । 

पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको प्रगति ८९ प्रतिशत
पोखरामा निर्माणाधीन पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको निर्माण कार्य ८९ प्रतिशत सम्पन्न भएको महानिर्देशक क्षत्रीले जानकारी गराए । यस्तै, निजगढ अन्तर्राष्ट्रिय विमानस्थलको गुरुयोजना तयारीको ८० प्रतिशत काम सम्पन्न भएको उनको भनाइ छ । 

एसियाली विकास बैंक (एडिबी)को सहयोगमा सन् २०१० देखि सुरु भएको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको क्षमता अभिवृद्धिको कामलाई प्राथमिकता दिएको उनको दाबी छ । विमानस्थलको उत्तरतर्फ इन्ड–टू–इन्ड ट्याक्सी वेको निर्माण र वायुयान विकास क्षेत्र विस्तारका लागि अन्तर्राष्ट्रिय टेन्डरका माध्यमबाट तीन वर्षभित्र सम्पन्न गर्ने गरी काम अगाडि बढाइएको छ । एडिबीकै ऋण सहयोगमा विमानस्थलको दक्षिणतर्फ करिब १२ सय मिटर लम्बाइको इन्ड–टू–इन्ड ट्याक्सी वे निर्माण, पूर्वतर्फ अन्तर्राष्ट्रिय वायुयानका लागि ह्यांगर निर्माण र एप्रोन निर्माणका लागि अन्तर्राष्ट्रिय टेन्डर आह्वान गरेको उनले बताए । त्रिभुवन विमानस्थलको क्षमता विस्तारपश्चात् ट्राफिक व्यवस्थापन क्षमता करिब १५ प्रतिशतसम्म बढ्न सक्ने अपेक्षा प्राधिकरणको छ । 

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको डोमेस्टिक टर्मिनल भवनको विस्तार कार्य ७० प्रतिशत सम्पन्न भएको प्राधिकरणले जनाएको छ । विमानस्थलमा हवाई यात्रुहरूका लागि तीन सय थान ब्यागेज ट्रली थपिएका छन् । आन्तरिक हवाई यात्रुहरूको सहजताका लागि आन्तरिक टर्मिनल भवनदेखि विमानस्थल प्रवेश गेटसम्म दुईतर्फी निःशुल्क सटल बस सेवा सञ्चालन गरिएको पनि महानिर्देशक क्षत्रीले जानकारी गराए ।

पर्यटन प्रवर्द्धनमा सबै जुटौँ : मन्त्री आले
शुक्रबार आयोजित नेपाल पर्यटन बोर्डको २३औँ वार्षिकोत्सवमा पर्यटनमन्त्री आलेले कोभिडले थलिएको पर्यटनलाई उकास्न नयाँ रणनीतिका साथ अगाडि बढ्नुपर्ने बताए । महामारीमा पर्यटन क्षेत्रले भोगेका समस्याहरू समाधान गर्दै पर्यटनलाई चलायमान बनाउनमा आफ्नो ध्यान केन्द्रित रहेको उनको भनाइ थियो । कार्यक्रममा पर्यटन सचिव एवं बोर्डका अध्यक्ष महेश्वर न्यौपानेले कोभिड प्रभावित पर्यटन क्षेत्रको पुनरुत्थानका लागि मन्त्रालयले काम गरिरहेको बताए । उनले पर्यटन व्यवसायीलाई आर्थिक तथा नीतिगत सहुलियत आवश्यक रहेको औँल्याउँदै त्यसका लागि मन्त्रालयले समेत पहल गरिरहेको जानकारी गराए । 

बोर्डका उपाध्यक्ष चन्द्रप्रसाद रिजालले पर्यटन क्षेत्रको समग्र विकासका लागि नीतिगत सुधारको आवश्यकता रहेको औँल्याए । बोर्डकी निमित्त कार्यकारी प्रमुख नन्दिनी लाहे थापाले अझै पनि पर्यटन क्षेत्र समस्यामै रहेको बताउँदै  सरकार र निजी क्षेत्रको संयुक्त प्रयासमा पर्यटन पुनरुत्थान सम्भव रहेको बताइन् । बोर्डका वरिष्ठ निर्देशक हिक्मत सिंह ऐरले कोभिडले छिट्टै देशका सातै प्रदेशमा पर्यटन मेला आयोजना गर्न लागेको समय जानकारी गराए । 

सुझावित समाचार