सिराहामा प्रशासनले जारी गरेको निषेधाज्ञाबीच सिके राउत नेतृत्वको जनमत पार्टीले प्रदर्शन गरेको छ। मंगलबारदेखि निषेधाज्ञा जारी गरिए पनि राउतका कार्यकर्ताले मिर्चैया कटारी चोकमा सडकमा टायर बालेर प्रदर्शन गरेका हुन्।
निःशुल्क बाँड्न भण्डारण गरेर राखेको गहुँको बिउ लुटपाट गरेको आरोपमा प्रहरीले औरही क्षेत्रका १४ किसानलाई पक्राउ गरेको थियो। त्यसको विरोधमा सिके राउत नेतृत्वको पार्टीले प्रहरीले पक्राउ गरेका किसानको रिहाइलगायतका सातबुँदे माग राख्दै आइतबारदेखि सिराहामा हडताल र चक्काजाम गर्दै आएको छ। औरही गाउँपालिकाको कृषि शाखाले अनुदानमा बाँड्ने भनिएको बिउ बाँड्न ढिलाइ गरेपछि किसानले गोदाममा भण्डारण गरी राखेको एक सय ३४ क्विन्टल ८० किलोग्राम गहुँको बिउ ६ पुसमा जबर्जस्ती आफैँ लगेका थिए।

स्थानीय प्रशासन ऐन, २०२८ को दफा (२) र (३) अनुसार पूर्वमा बलान नदीदेखि पश्चिममा कमला नदीसम्मको राष्ट्रिय लोकमार्ग तथा लोकमार्गको उत्तर–दक्षिण पाँच सय मिटर आसपासका क्षेत्र र चोहर्वादेखि जिल्ला सदरमुकाम सिराहा पी.के इन्टरप्राइजेज (पेट्रोल पम्प)सम्मको सडक र उत्तर दक्षिण पाँच सय मिटर आसपासका क्षेत्रमा निषेधाज्ञा जारी गरेको छ। मंगलबार र बुधबार बिहान ५ बजेदेखि साँझ ७ बजेसम्मका लागि जारी गरेको निषेधाज्ञा अवधिमा कुनै किसिमको भेला हुन, बाहिर हिँडडुल गर्न तथा राजनीतिक सभासहितको गतिविधि गर्न नपाइने भनिएको छ।
निषेधाज्ञा अवधिमा पूर्व–पश्चिम तथा सहायक सडकमा लामो तथा छोटो दूरीका सवारीसाधन चलिरहेका छन् भने लहानलगायतका केही ठाउँमा प्रहरी आफैँ आएर पसल बन्द गराएको व्यापारीहरूले गुनासो गरेका छन्। राउत कार्यकर्ताले सडकमै टायर बालेर प्रदर्शन गर्दासमेत प्रहरीले संयमता अपनाएको छ।
जिल्ला प्रहरी प्रमुखलाई २४ घन्टे अल्टिमेटम
हडतालसँगै प्रदर्शनका क्रममा पक्राउ गरिएका आफ्ना कार्यकर्तालाई दुर्व्यवहार गरिएको भन्दै जनमत पार्टीका अध्यक्ष सिके राउतको सचिवालयमार्फत सिराहाका प्रहरी प्रमुख हिराबहादुर पाण्डेलाई जनकारबाहीको धम्की दिइएको छ। राउतको सचिवालयले पक्राउ गरिएकाहरूलाई जाडोमा कपडा उपलब्ध नगराएको, लगाएको ज्याकेटसमेत खोल्न लगाएको, परिवार र वकिलसँग सम्पर्क गर्न नदिइएको, प्राथमिक उपचार गर्न नदिइएको आरोप लगाएको छ। जिल्ला प्रहरी प्रमुख पाण्डेलाई २४ घन्टाभित्र आन्दोलनकारीसँगको व्यवहार र सुविधा सुधार नभए सिराहा बजारको बीचचोकमा जनकारबाही गर्ने धम्की दिएको छ।