किसानलाई पक्राउ गरेको विरोधमा सिके राउत नेतृत्वको जनमत पार्टीले आइतबारदेखि सिराहामा आमहडतालसहित चक्काजाम गर्दै आएको छ
प्रहरीद्वारा पक्राउ गरिएका किसानको रिहाइलगायत सातबुँदे मागसहित सिके राउत नेतृत्वको जनमत पार्टी सिराहाले आमहडताल र चक्काजामलाई निरन्तराता दिएपछि सिराहा प्रशासनले मंगलबार बिहानदेखि निषेधाज्ञा जारी गरेको छ ।
जिल्ला प्रशासन कार्यालय सिराहाले सोमबार साँझ निषेधाज्ञासम्बन्धी सूचना जारी गर्दै मंगलबार र बुधबार बिहान ५ बजेदेखि साँझ ७ बजेसम्मका लागि निषेधाज्ञा जारी गरेको हो । जनमत पार्टीको पछिल्लो केही दिनदेखि जारी आमहडताल र चक्काजामका कारण सर्वसाधारणमा पर्न सक्ने जोखिमलाई मध्यनजर गर्दै निषेधाज्ञा अवधिभर कुनै किसिमको भेला हुन, बाहिर हिँडडुल गर्न तथा राजनीतिक सभासहितको गतिविधि गर्न नपाउने गरी निषेधाज्ञा जारी गरिएको छ ।
स्थानीय प्रशासन ऐन, २०२८ को दफा (२) र (३) अनुसार पूर्वमा बलान नदीदेखि पश्चिममा कमला नदीसम्मको राष्ट्रिय लोकमार्ग तथा लोकमार्गको उत्तर–दक्षिण पाँच सय मिटर आसपासका क्षेत्र र चोहर्वादेखि जिल्ला सदरमुकाम सिराहा पि.के. इन्टरप्राइजेज (पेट्रोल पम्प) सम्मको सडक र उत्तर–दक्षिण पाँच सय मिटर आसपासका क्षेत्रमा निषेधाज्ञा जारी गरिएको सूचनामा उल्लेख छ ।
निषेधाज्ञा अवधिमा राष्ट्रिय लोकमार्ग र सिराहा चोहर्वा सडकखण्डमा यातायातका साधन सुचारु रहने जनाइएको छ । निषेधाज्ञाको आदेश उल्लंघन गर्नेलाई सुरक्षाका लागि खटिएका सुरक्षाकर्मीले नियन्त्रणमा लिई कानुनबमोजिम कारबाही गर्ने सूचनामा उल्लेख छ ।
तीन दिनदेखि जनमतको चक्काजाम
किसानलाई निःशुल्क बाँड्न भण्डारण गरेर राखेको गहुँको बिउ लुटपाटमा संलग्न रहेको आरोपमा प्रहरीले औरही क्षेत्रका १४ जना किसानलाई पक्राउ गरेको विरोधमा सिके राउत नेतृत्वको जनमत पार्टीले आइतबारदेखि सिराहामा आमहडतालसहित चक्काजाम गर्दै आएको छ ।
आमहडतालको क्रममा जनमत पार्टीसम्बद्ध कार्यकर्ताले आइतबार दिउँसो सिराहाको नरहा गाउँपालिका– ३ को चोहर्वा खण्डमा रोकेर राखेको मालबाहक ट्रकमा आगजनी गर्नुका साथै १३ वटा सवारीसाधनमा तोडफोड गरेका थिए ।
औरही गाउँपालिकाको कृषि शाखाले स्थानीय किसानलाई अनुदानमा बाँड्ने गरी गोदाममा भण्डारण गरेर राखेको दुई सय ३७ बोराको एक सय ३४ क्विन्टल ८० किलो गहुँको बिउ ६ पुसमा लुटिएको थियो । गहुँको बिउ लुट्न किसानलाई उक्साएको आरोपमा प्रहरीले ८ पुसमा औरही– २ कडहर्वाका मिथिलेश यादवसहित १४ जनालाई पक्राउ गरेपछि जनमत पार्टी सिराहाले गाउँपालिकामा तालाबन्दी गर्नुका साथै आइतबारदेखि जिल्लामा आमहडतालसहित आन्दोलन गर्दै आएको छ।
