पार्टी एकता किन जोगाउन सकिएन आत्मसमीक्षा जरुरी छ : अध्यक्ष प्रचण्ड (भिडियोसहित)

आइतबार, ११ पुष, २०७८
डिजिटल संस्करण

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले नेकपा एमालेसँग एकता गर्नु गल्ती नभएको बताएका छन्। पार्टीको आठौँ महाधिवेशनको उद्घाटन समारोहमा बोल्दै उनले पार्टी एकता जोगाउन किन सकिएन भन्ने आत्मसमीक्षा गर्न जरुरी भएको बताए।

उनले उद्घाटन समारोहमा विभिन्न पार्टीका नेताहरूले दिएका शुभकामना प्रेरणा बनेको बताए। उनले प्रधानमन्त्री शेरबहादुर देउवाले खास खास समयमा खास स्टेटमेन्ट दिने गरेको बताए। एमाले महाचिव शंकर पोखरेलले दिएको मन्तव्य महत्वपूर्ण रहेको बताए। 

इतिहासका खास खास मोडमा शेरबहादुर देउवाले खास स्टेटमेन्ट दिएको उनले बताए। विद्रोही नेतालाई समेत प्रधानमन्त्री भएकै वेला देउवाले बहादुर नेता भनेर भनेको उनले सुनाए। गठबन्धन चुनावपछि पनि लैजान चाहेको प्रधानमन्त्रीले बताउनु खास स्टेटमेन्ट भएको प्रचण्डको भनाइ छ। ‘एमसिसीमा राष्ट्रघात कहाँ छ देखाइदिनु भन्नुभयो यो पनि ठूलो कुरा हो,’ उनले भने। 

महाधिवेशनमा अन्तर्राष्ट्रिय परिस्थितिको विश्लेषण गर्ने प्रचण्डको भनाइ छ। नेपालको ऐतिहासिक पृष्ठभूमिसहित व्याख्या विश्लेषण दस्ताबेजमा भएको उनले बताए। ‘विज्ञान प्रविधिमा चामत्कारिक विकास भएको छ। यसको विश्व अर्थतन्त्र, राजनीति र आपसी सम्बन्धमा कस्तो सम्बन्ध छ समाजवादलाई के भनेको छ त्यसको विश्लेषण गरेका छौँ,’ उनले भने, ‘समाजवादउन्मुख समृद्धि भनेको के हो त्यसको विषयमा कार्यनीति प्रस्तुत गरिएको छ।‘

जलवायु परिवर्तनको विषयमा पनि महाधिवेशनमा छलफल हुने प्रचण्डले बताए। ‘पर्यावरण विनासको समस्या, जलवायु परिवर्तनको विषयमा पनि केन्द्रित गरेका छौँ। पर्यावरण विनासलाई रोक्नका लागि समाजवादीहरूले के पहल गर्न सक्छन् भन्ने विषयमा केन्द्रित भएका छौँ। यो सबै प्रक्रियामा पुँजीवादी उत्पादन प्रक्रियाको भूमिका के छ भन्नेबारे पनि केन्द्रित भएको छ। पर्यावरणको विषयमा अन्तर्राष्ट्रिय अभियान चलाउनुपर्छ,’ प्रचण्डले भने।

सुझावित समाचार