बागबजारको एउटा निजी कलेजमा अध्ययनरत विद्यार्थीको होस्टेलमा मृत्यु भएपछि अनुसन्धानको माग गर्दै आन्दोलनरत १७ जना विद्यार्थीलाई प्रहरीले नियन्त्रणमा लिएको छ। प्रदर्शनीमार्गस्थित नेपाल ल क्याम्पसअगाडि प्रदर्शन गरिरहेका उनीहरूलाई नियन्त्रणमा लिएर तीनकुनेस्थित प्रहरी चौकीमा राखेको आन्दोलनरत विद्यार्थीहरूले जानकारी दिएका छन्।
आरआर क्याम्पसका विद्यार्थी सञ्जय केसीका अनुसार पक्राउ पर्नेमा नेपाल मानविकी क्याम्पसका सुरेन्द्र ब. शाही, संगम लामा, नवीन कोइराला, काठमाडौं मोडेल कलेजका ज्ञानेन्द्र साउद, सचिन गुरुङ, सुबिना खनाल, बृक्क्ष्या चन्द, जेनिसा ढुंगाना, खगेन्द्र महतो, निहार रेग्मी र नेपाल ल क्याम्पसका बिष्णु ढुंगेल, अस्मिता लकान्द्री, आशा उपरकोटी, छत्रबहादुर थापा, श्रीराम शाह र आशिष पन्त रहेका छन्।
काठमाडौं मोडल कलेजमा अध्ययनरत १८ वर्षीय सुशील सहनी बाथरुममा मृत अवस्थामा भेटिएका थिए। काठमाडौं प्रहरी परिसर, टेकुका एसपी दिनेशराज मैनालीले घटनाको अनुसन्धान भइरहेको जानकारी दिएका छन्। प्रहरीले अनुसन्धानका लागि मृतकको परिवारलाई काठमाडौं बोलाएको छ। परिवारले जाहेरी दिएपछि पोस्टमार्टमका लागि शव पठाउने प्रहरीको भनाइ छ। सहनी धेरै बेरसम्म ननिस्किएपछि ढोका फुटाएर हेर्दा ११ कक्षामा अध्ययनरत उनी मृत भेटिएको कलेज प्रशासनले बताउँदै आएको छ।