भूकम्पमा भत्केका क्याम्पसमा साढे ६ वर्षसम्म पुगेन पुनर्निर्माण प्राधिकरण

बुधबार, ७ पुष, २०७८
डिजिटल संस्करण

०७२ को भूकम्पले देशका सयौँ शिक्षण संस्थाका भवन क्षतिग्रस्त बने । धेरै सरकारी विद्यालय र क्याम्पसका भवन भत्किए, जीर्ण भए । तर, भूकम्प गएको साढे ६ वर्ष बितिसक्दा पनि ती भवनको पुनर्निर्माण भएको छैन । त्यसैले चर्किएका भवनमै बसेर विद्यार्थीहरू पढ्न बाध्य छन् । राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले समेत अहिलेसम्म ती क्याम्पसका भवन पुनर्निर्माणमा चासो देखाएको छैन ।

रातो स्टिकर टाँसेको धौलागिरी क्याम्पसमा स्नातकोत्तर तहको पढाइ

बाग्लुङको धौलागिरी बहुमुखी क्याम्पस

साढे ६ वर्षअघि भूकम्पबाट चर्किएको धौलागिरी बहुमुखी क्याम्पसका चारवटा भवनको मर्मत तथा पुनर्निर्माण अझै पनि हुन सकेको छैन । भवन चर्किएपछि राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले जोखिम रहेको भन्दै रातो स्टिकर टाँसेको तीन वर्ष बितिसकेको छ । तर, अहिलेसम्म पनि कुनै काम अगाडि बढ्न नसकेको क्याम्पस प्रमुख रामप्रसाद उपाध्यायले जानकारी दिए ।

क्याम्पसको पुरानो प्रशासनिक भवन, हालको विज्ञान प्रयोगशाला, छात्रावास र कर्मचारी आवास भवन भूकम्पकमा कारण चर्किएको थियो । प्राधिकरणका प्राविधिकले लागत स्टिमेट पनि गरेका थिए, तर अहिलेसम्म काम अगाडि नबढेको उपाध्यायले गुनासो गरे । क्याम्पसमा अन्य कक्षाकोठा अभावका कारण चर्किएकै भवनबाट स्नाकोत्तर (डिग्री) र स्नातक तहको कक्षा सञ्चालन गर्नुपर्ने बाध्यता छ । विज्ञान प्रयोगशाला र कर्मचारी आवास भवन पनि जोखिममै छन् ।

‘त्रिभुवन विश्वविद्यालयबाट महिला छात्रावासका लागि केही रकम प्राप्त भएको थियो । त्यो कामचलाउ मात्र भएको छ,’ क्याम्पस प्रमुख उपाध्यायले भने, ‘अन्य भवनको कुनै काम अगाडि बढेको छैन, पहिले टाँसेका स्टिकरसमेत उप्किएका छन् । प्राधिकरणले कुनै वास्ता नगरेपछि अहिले रङ लगाएर बस्न मिल्ने बनाएका छौँ, तर जोखिम उत्तिकै छ ।’ उनले चारवटै भवन पुनर्निर्माण गर्न पुल्चोक इन्जिनियरिङ कलेजबाट लागत स्टिमेट गरेर पठाए पनि काम हुन नसकेको बताए । पुनर्निर्माणको काम अगाडि बढ्न नसक्दा अहिले विद्यार्थीहरू जोखिम मोलेर पढ्न बाध्य छन् । 

भूकम्पले चर्किएको कोठा टालेर विद्यार्थी पढाउँदै वीरेन्द्र क्याम्पस

भरतपुरको वीरेन्द्र बहुमुखी क्याम्पस

देशकै पुरानोमध्येको एक भरतपुरको वीरेन्द्र बहुमुखी क्याम्पसले भूकम्पले चर्किएकै भवनमा विद्यार्थीलाई पठनपाठन गराउँदै आएको छ । ६ मंसिर ०३४ मा राजा वीरेन्द्र शाहले समुद्घाटन गरेको सो भवन पुरानो भएकाले ठाउँठाउँमा चिरा परेका छन् । धेरै ठाउँमा भत्केको छ । क्याम्पसका प्रायः कोठामा सिमेन्टले टालिएको देखिन्छ । त्यसमध्ये पनि १२ वर्षअघि माथिल्लो तलामा थपिएको तीनवटा कोठामा भूकम्पले क्षति पुर्‍याएको थियो । 

क्याम्पसको आवास गृह पनि भूकम्पबाट क्षति पुगेको क्याम्पसका सामान्य प्रशासन प्रमुख सरोज लामिछानेले बताए । ‘भूकम्पले क्षति गरेको ६ महिनासम्म विद्यार्थीलाई चर्किएको कोठामा पढाएनौँ, हामीले सिमेन्टको घोला हाल्यौँ, इन्जिनियरले हुन्छ भने । केही वर्षयता ती कोठामा नियमित कक्षा सञ्चालन गरेका छौँ,’ उनले भने, ‘भवन पनि पुरानो भएको छ ।’ 

भूकम्पले मात्र नभई अन्य ठाउँमा पनि भवन पुरानो भएर चर्किएका छन् । सिमेन्ट झरेका छन् । भूकम्पले भवन असुरक्षित भएका भन्दै विद्यार्थीले पटकपटक कलेज प्रशासनसमक्ष जोखिम मोलेर नपढाउन अनुरोध गरे पनि प्रशासनले सुनुवाइ नै नगरेको विद्यार्थी नेता अंकित दवाडीले बताए । 

गोरखा क्याम्पसका १५ कोठामा रातो स्टिकर, तर पढाउँदै प्रशासन 

गोरखाको गोरखा क्याम्पस

साढे ६ वर्षअघि गएको भूकम्पका कारण क्षतिग्रस्त बनेको गोरखा क्याम्पस हालसम्म पनि पुनर्निर्माण हुन सकेको छैन । भूकम्पले चर्किएको भवनमा विद्यार्थी जोखिम मोलेरै पठनपाठन गर्न बाध्य छन् । बजेट अभावका कारण पुनर्निर्माण गर्न नसकेको गोरखा क्याम्पस व्यवस्थापन समितिका अध्यक्ष तथा क्याम्पस प्रमुख रामशरण बानियाँले जानकारी दिए ।

गोरखा क्याम्पसमा हाल ३७ वटा कक्षाकोठामा पठनपाठन हुँदै आएको छ । तीमध्ये २२ कोठा सुरक्षित भवनमा छन् । भूकम्पपछि इन्जिनियर टोलीले क्याम्पसको रेल भवनको सात कोठा र शिक्षा भवनको नौ कोठा गरी १५ वटा कोठामा पठनपाठन गर्न नमिल्ने भन्दै रातो स्टिकर टाँसेको थियो । तर, हालसम्म पनि नयाँ भवन पुनर्निर्माण हुन नसक्दा विद्यार्थी पठनपाठन गर्न बाध्य भएको क्याम्पस प्रमुख बानियाँले बताए ।

‘०७२ को भूकम्पले क्याम्पसको १५ कोठामा सबैभन्दा धेरै क्षति पुगेको थियो । भवन पूरै चर्किएको छ । अहिले टालटुल गरी पठनपाठन गरिरहेका छौँ,’ उनले भने, ‘विद्यार्थीको चाप कम भएका वेलामा सबैलाई सुरक्षित भवनमै लैजान्छौँ । तर, धेरै विद्यार्थी भएका वेलामा भने कक्षाकोठामा खतराको संकेत देखाए पनि बाध्य भएर पठनपाठन गर्नुपरेको छ ।’ 

प्राविधिकले अयोग्य भनेको क्याम्पसमै पठनपाठन 
सुन्दरबजार नगरपालिकामा रहेको कृषि र पशु विज्ञान अध्ययन संस्थानमा भूकम्पले जताततै चर्किएको छ । तर, अहिलेसम्म पुनर्निर्माण नहुँदा विद्यार्थी सोही भवनमा बसेर बढ्न बाध्य छन् । क्याम्पसको अधिकांश भवन चर्किएपछि प्राविधिक टोलीले पठनपाठनका लागि अयोग्य ठहर गरेको थियो । तर पनि मनमा डर पालेर पढ्दै आएको लमजुङ कृषि क्याम्पस बिएस्सीएजी छैटौँ सेमेस्टरमा अध्ययनरत विशाल सापकोटाले बताए । चारवर्षे बिएस्सीएजी पढाइ हुने क्याम्पसमा चार सय बढी विद्यार्थी अध्ययनरत छन् । तर भूकम्पले भत्किएको संरचना पुनर्निर्माण नहुँदा समस्या भएको छ । 

क्याम्पस स्थापनाको ४६ वर्ष बित्दासमेत भौतिक संरचना निर्माणले फड्को मार्न सकेको छैन । ‘०३२ सालमा जुन संरचना थियो, त्यसमा सामन्य परिवर्तन भए पनि अरू संरचना अहिले पनि त्यही कायम छ । विद्यार्थी संख्या बढी छ । तर, हामीसँग थोरै र कमजोर जनशक्ति र भौतिक संरचनाका बीच क्याम्पस चलाउनुपर्ने बाध्यता छ,’ क्याम्पसका मुख्य कार्यालय सहायक सन्तोष अर्यालले भने । क्याम्पसमा प्राविधिक टोलीले अनुगमन गरी चर्किएको भवनमा बसेर पठनपाठन गर्न नमिल्ने भन्दै अन्य वैकल्पिक व्यवस्था गर्न सुझाव दिएको थियो । 

पुनर्निर्माणको प्रतीक्षामा रेसुंगा बहुुमुखी क्याम्पस

गुल्मीको रेसुंगा बहुमुखी क्याम्पस

०७२ को भूकम्पले रेसुंगा बहुमुखी क्याम्पसको सरस्वती भवन चर्किएपछि राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले रातो स्टिकर लगाएको थियो । ०५६ मा निर्माण गरिएको १० कोठे भवनमा प्रशासन र लेखाले प्रयोग गर्दै आइरहेका छन् । तर, लामो समयसम्म पनि पुनर्निर्माण हुन सकेको छैन । गत वर्ष क्याम्पसको फाइल बनाएर केन्द्रीय कार्यालयमा पठाएको क्याम्पस प्रमुख हरिबहादुर केसी बताउँछन् । तर, अहिलेसम्म पुनर्निर्माणको कुनै काम अगाडि नबढेको उनको भनाइ छ ।

चर्किएकै भवनबाट क्याम्पस प्रशासन र लेखा सञ्चालन गरिएको शिक्षा तथा समन्वय एकाइ प्रमुख लोकनाथ मरासिनीले बताए । उनका अनुसार भवनको अनुगमन मूल्यांकनसहित डिपिआरको काम भइरहेको छ । जिल्लाका दुई विद्यालय साउदी फन्डमार्फत निर्माण भएकाले क्याम्पस निर्माणको काम पनि उसकै सहयोगमा हुने सम्भावना रहेको मरासिनीले बताए । 

भूकम्पले चर्किएको पाणिनि बहुमुखी क्याम्पस अझै बनेन

अर्घाखाँचीको पाणिनि बहुमुखी क्याम्पस

अर्घाखाँचीको पाणिनि बहुमुखी क्याम्पसका भवन अहिलेसम्म पुनर्निर्माण हुन सकेको छैन । साढे ६ वर्षअघि गएको भूकम्पबाट चर्किएको भवन पुनर्निर्माण नहुँदा विद्यार्थीलाई त्यहीँ राखेर पठनपाठन गराउँदै आएको क्याम्पसका प्राध्यापक माधवराज चुदालीले बताए ।

०५८ मा युरोपेली युनियनको सहयोगमा निर्माण भएको आठकोठे भवन भूकम्पले चर्किएर बस्न नमिल्ने भए पनि सरोकारवाला निकाय मौन छन् । क्याम्पसको माथिल्लो चार कोठामा पठनपाठन हुँदैन । तर, तल्लो चार कोठामा पठनपाठन सुरु गरिएको चुदालीले बताए 

सुझावित समाचार