गृहमन्त्री बालकृष्ण खाणले एमसिसी सम्झौतालाई अगाडि बढाउनु सरकारको दायित्व भएको बताएका छन्। मंगलबार जनकपुरमा सञ्चारकर्मीसँग संक्षिप्त कुराकानी गर्दै गृहमन्त्री खाणले एमसिसी सम्झौता पूर्ववर्ती सरकारकै पालामा सुरु भएको भन्दै यो सम्झौतालाई अगाडि बढाउनु सरकारको दायित्व भएको प्रतिक्रिया दिएका हुन्। उनले एमसिसीको प्रस्ताव देशको विकासका लागि नेपाल सरकारले नै अघि बढाएको बताए।
नेपाली कांग्रेसका नेतासमेत रहेका गृहमन्त्री खाणले भने, ‘एमसिसी पूर्ववर्ती सरकारहरूको पालोमै अगाडि बढेको हो। नेपालको विकासका लागि नेपाल सरकारले नै एमसिसीको प्रस्तावलाई अगाडि बढाएको हो। नेपाल सरकार र एमसिसी परियोजनाको बीचमा धेरै वर्षअगाडि नै सम्झौता भएको हो। त्यो सम्झौतालाई अगाडि बढाउनु सरकारको दायित्व हो।’
गृहमन्त्री खाणले एमसिसी परियोजना ऋणमा नभई निःसर्त अनुदान भएको स्पष्ट पारे। सरकारले नेपालको विद्युतीकरण र सडक निर्माणका लागि गरेको प्रस्तावलाई अमेरिकी सरकारले स्वीकार गरी एमसिसी परियोजना आएको उनले उल्लेख गरे। एमसिसी संसदबाट पारित गर्ने सम्बन्धमा राजनीतिक दलहरूबीचमा छलफल चलिरहेको उल्लेख गर्दै उनले छलफलबाट निष्कर्ष निकालेर अघि बढ्ने बताए।