सिक्का पैसाको महत्‍व देखाउने काठको मुढो

सोमबार, ५ पुष, २०७८
डिजिटल संस्करण

भोलिका पुस्ताले हिजोका सिक्का पैसा कस्ता थिए भनेर जान्न पाऊन् भनेर ‘आर्ट पिस’ बनाएको कलाकार रवीन्द्र श्रेष्ठले बताए । आफूले तयार पारेको आर्ट पिसलाई अब सार्वजनिक संग्रहालयमा राख्ने उनको भनाइ छ । 


हिन्दू समुदायमा धार्मिक तथा सांस्कृतिक अवसरमा सिक्का पैसा अनिवार्यजस्तै छ । ढोगभेटमा होस या पूजाआजामा सिक्का पैसा (दाम) नभई हुँदैन । काठमाडौं बांगेमुढाको वाँस्याः देगः मा त काठमा पुराना सिक्का पैसा ठोकेमा दाँतको दुखाइ कम हुने विश्वासले धेरै मानिस पुग्नेसमेत गर्छन् । 

नेपाली समुदायमा सिक्का पैसाको यस्तै महŒवलाई केलाउँदै कलाकार रवीन्द्र श्रेष्ठले वाँस्याः देगःजस्तै सिर्जनात्मक स्वरूप दिएका छन् । उनले चार फिट अग्लो चाँपको मुढामा सिक्का पैसा ठोकेर कलात्मक रूप दिएका छन् । हालै उनले यो कलाकारिता काठमाडौं बौद्धस्थित तारागाउँ संग्रहालयमा नौ दिनसम्म प्रदर्शनीमा पनि राखेका थिए । 

झट्ट देख्दा बागेमुढाको जस्तै झल्को दिने गरी उनले मुढाको आकृति तयार पारेका छन् । मुढामा एक पैसा, दुई पैसा, पाँच पैसा, एक मोहोर, पाँच मोहोरका सिक्का टाँसेका छन् । श्रेष्ठले करिब डेढ दशकदेखि भोगे र देखेका सिक्का पैसालाई आफ्नो कलामा प्रस्तुत गरेका छन् ।

सिक्कामाथि यसकारण कलाकारिता 

कलाकार श्रेष्ठले सिक्का पैसा पगालेर भाँडा, गरगहना र अन्य सामग्री निर्माण गरेको देखेपछि यसलाई संरक्षण पनि गर्ने गरी केही काम गर्ने सोच बनाए । उनी भन्छन्, ‘सिक्का पैसा सुनजस्तो देखिने भएकाले औँठी र  सिक्री बनाउनेले गरेको देखे । यसो गर्दा कालान्तरमा पुराना सिक्का त लोप नै हुने अवस्था छ । आगामी पुस्तालाई पनि पुराना सिक्का पैसा देखाउने गरी मैले यस्तो कला प्रस्तुत गरेको हुँ ।’ 

सिक्का पैसा संरक्षणलाई पनि कलात्मक रूपमा प्रस्तुत गर्ने गरी मुढामा पैसा टाँसेको उनले बनाए । उनले भने, ‘यो काम गर्दा सिक्का पैसासँग मैले बिताएका बाल्यकालका स्मृति पनि आए । साथमा हाम्रो संस्कृति र परम्परा त आउने नै भए ।’ उनले यो योजना करिब डेढ दशकदेखि बनाएको बताए । उनी भन्छन्, ‘मेरो बाल्यकाल सिक्का पैसासँगै जोडिएको छ । दसैँमा टीका लगाएर दक्षिणामा पाएको सिक्का पैसाले चंगा किनिन्थ्यो, मिठाई किनेर खाइन्थ्यो । त्यही सिक्का पैसा पगालेको देखेर दुःख लाग्यो ।’

सिक्का दुरुपयोग रोक्नेबारे निकै समय घोत्लिए । ‘फेरि पैसा प्वाल पारेर कसरी संरक्षण होला भन्ने पनि लाग्यो । पैसामा प्वाल पार्ने विषयमा कानुन व्यवसायीसँग पनि सल्लाह गरे । संरक्षण गर्ने उद्देश्य सुनाएपछि कानुनविपरीत नहुने थाहा पाए ।’ त्यसपछि पूराना पैसा संकलनमा लागेको उनले बताए । १० वर्षमा उनले दुई बोरा सिक्का पैसा जम्मा गरे र त्यही सिक्कालाई कलाको रूप दिएको उनले बताए । 

सिक्का पैसा जम्मा गर्न उनी काठमाडौंका धेरै मठमन्दिरमा पुगे । उनले भने, ‘सिक्का पैसा भेट्टाउनै मुस्किल भयो । सिक्का खोज्दै जाँदा ‘भिजिट नेपाल १९९८’ लेखिएको नयाँ पैसा र जानकी मन्दिरको चित्र भएको पैसा पनि फेला पारे । त्यसपछि झन् संकलन गर्न जोस जाग्यो ।’ काठमाडौंको पशुपति र वसन्तपुर क्षेत्रबाट धेरै सिक्का जम्मा गरेको उनले बताए । उनले सिक्का ठोक्न प्रयोग गरेको काँटी प्रतिगोटा दुई रुपैयाँ परेको सुनाए । 

नेपालमा १५–२० वर्षअघिसम्म पनि सार्वजनिक गाडी चढ्दा होस् या समान किन्दा सिक्का पैसा निकै नै प्रचलित थियो । तर, अहिले कागनी नोट छ्यापछप्ती भएपछि यस्ता सिक्का लोप हुँदै गएका छन् । भोलिका पुस्ताले हिजोका सिक्का पैसा कस्ता थिए भनेर जान्न पाऊन् भनेर ‘आर्ट पिस’ बनाएको उनले बताए । यी सिक्काहरू भएको मुढालाई अब सार्वजनिक संग्रहालयमा राख्ने रवीन्द्रले सुनाए । 

नेपालमा पनि विदेशतिरको जस्तै सार्वजनिक स्थान आर्ट राख्नुपर्ने उनको सुझाव छ । यसरी खुला स्थानमा आर्ट राख्दा सबैले हेर्न र बुझ्न पाउँछन् । उनी भन्छन्, ‘अहिले ग्यालेरीमा जानेले मात्रै आर्ट हेर्ने गर्छन् ।’

सुझावित समाचार