ग्यालरीमा कलाका फरक माध्यम

शनिबार, ३ पुष, २०७८
डिजिटल संस्करण

आर्ट ग्यालरीहरुमा प्रायः रङ र कुचीको मिश्रणबाट तयार भएका चित्रहरू मात्रै प्रदर्शन हुन्छन्। कलाकारहरूले रंगीबिरंगी बनाएर चित्र सजाउँछन् ग्यालरीमा। ग्यालरीमा प्रदर्शनमा राख्नुको एक उद्देश्य बिक्री गरेर अर्थोपार्जन गर्नु पनि हो। तर, यसपटक तारागाउँ संग्रहालयमा कलाको फरक अभ्यास भयो। संग्रहालयमा १० कलाकारले फरकफरक विषय भिन्न माध्यमबाट आफूलाई व्यक्त गरे। यो कन्सेप्चुअल आर्ट (अवधारणात्मक कला) न बिक्री हुन्छ न मूल्य नै तोकिएको हुन्छ। यसमा कलाकारहरूले फरकफरक माध्यम प्रयोग गरी आफ्नो धारणा अभिव्यक्त गर्छन्।

९ डिसेम्बरदेखि १७ डिसेम्बरसम्म ‘बियोन्ड द बोर्डर’ शीर्षकमा कलाकारहरूले आफ्ना अवधारणा व्यक्त गरेका थिए। कलाकारहरुले विभिन्न सामग्रीको प्रयोग गरेर मानवीय संवेदना, समाज, धार्मिक सांस्कृतिक कुरा मिहीन रूपमा देखाएका थिए। संग्रहालयमा जुपिटर प्रधान, अमृत कार्की, नवेन्द्र लिम्बू, प्रतिमा थकालीलगायतका कलाकारहरूले आ–आफ्ना अवधारणा व्यक्त गरे।

कलाकार रवीन्द्र श्रेष्ठले पुराना सिक्काबारे नयाँ पुस्तालाई स्मरण गराएका छन्। उनले पछिल्लो समय नेपाली सिक्का पैसा पगालेर भाँडाकुँडा निर्माण गर्न थालेकाले यसको जगेर्ना गर्न र महत्व बुझाउन मूढामा सिक्का ठोकेर अभिव्यक्त गर्न खोजेका  छन्। उनी भन्छन्, ‘सिक्का पैसासँग मेरो थुप्रै सम्बन्ध छ। यसले मलाई बाल्यकालतिर फर्काउँछ। सिक्का पैसा मैले थुप्रैपटक प्रयोग गरेको छु। त्यसैले मैले सय वर्ष पुराना सिक्का पैसा पनि प्रयोग गरेको छु।’

सिक्काले नेपाली संस्कृतिको अनुभूत गराउने श्रेष्ठ बताउँछन् । उनले काठको मूढामा पैसाका सिक्क ठोकेर आफ्नो कला देखाएका छन्। काठमाडौंको बांगेमुढास्थित बाँस्याः देगमा पैसा ठोक्ने मानिसहहरूको धार्मिक जनविश्वसलाई कलाको माध्यमबाट पछिल्लो पुस्तालाई देखाउनका लागि उनले आफूलाई यसरी व्यक्त गरेको बताए। सिक्कालाई पगालेर भाँडाकुँडा बनाउन थालिएकोमा उनी चिन्ता व्यक्त गर्छन्। ‘पछिल्लो समय सिक्क पैसालाई पगालेर भाडा बनाउन थालेका छन् । यो पैसा विस्तारै लोप भइसकेको छ । पछिल्लो पुस्ताले यस्तो पैसा देख्न पनि नपाउने भएका छन्,’ उनले भने, ‘यो पैसाले मिठाइ किनेर खाएको याद आउँछ । अझ  हाम्रो धार्मिक तथा संस्कृति रूपमा लोप हुन लागेको छ । अहिले मानिसहरूले आफ्नो धर्म संस्कृतिलाई विस्तारै बिर्सँदै छन्। कुनै समय थियो, सिक्का पैसाले मानिसको खरिद बिक्री गर्थे।’

त्यस्तै, कलाकार कपिलमणि दीक्षितले पुरानो खिया लागेको निलो ड्रमलाई च्यातेर मानिसको पीडाको अभिव्यक्त गरेका छन्। ड्रमको प्रयोग गरेर उनले पृथ्वीमा रहेका हरेक मानिसका पीडालाई दर्साउन खोजेको उनी बताउँछन्। उनी भन्छन्,‘संसारका हरेक मानिसका पीडा हुन्छन्, पीडा लुकाएर बसेका हुन्छन्। ड्रमभित्र हात देखाइएको छ। ती पृथ्वीमा रहेका मानिसको हात हुन्।’ पीडाबाेध भएका मानिसलाई बाहिर ल्याउन नीलो रङको एउटा पुरानो फलामे ड्रमलाई च्यातेरर व्यक्त गरेको उनको भनाइ छ।

अभिव्यक्तिका लागि कलाकारहरूले क्यानभासबाहेकको माध्यम प्रयोग गरेको बताउँछन् संग्रहालयका निर्देशक रोशन मिश्र। उनी भन्छन्, ‘क्यानभासभन्दा बाहेक अभिव्यक्त गर्ने माध्यम पनि हुन्छ भनेर यस अवधारणा अगाडि ल्याउन खोजेको हो। नेपालमा यस्तो अभ्यास हुँदै नभएको होइन। धेरै वर्षपछि नेपालमा यो अवधारणाको अभ्यास गरिएको हो।’ मिश्र भन्छन्, ‘क्यानभासबाहिर पनि आर्टका सिर्जनात्मक कामहरू कसरी बाहिर देखाउन सकिन्छ भन्ने हेतुले यो अभ्यास गरिएको हो। कलाकारहरूले विभिन्न माध्यमहरू प्रयोग गर्छन्। यसपटक पनि फरक माध्यम प्रयोग गरेर अभिव्यक्त गरिएको छ।’

कलाकार जुपिटर प्रधानले बगरमा छरपस्ट छरिएका ढुंगा र माटोको थुप्रोको बीचमा मुखौटाहरू राखेर साबेलले घेरेका छन्। विभिन्न भावभंगीका यी मुखौटाले विभिन्न मानवीय भावना अभिव्यक्त गरिरहेझैँ लाग्छ। 

आर्थिक रूपमा खर्चिलो हुने भएकाले नेपालमा यस्ता खालका कला प्रदर्शनी आयोजना गर्न कठिनाइ हुने मिश्र बताउँछन्। ‘यस्तो प्रदर्शनीमा कलाकारले आफ्नो अवधारणा व्यक्त गर्न मात्रै पाउँछन्। कलाकारलाई जीविकोपार्जन  गर्न गाह्रो हुन्छ। त्यसैले नेपालमा यस्तो कला प्रदर्शनी निकै कम हुन्छ’, उनले भने।
 
यस्तो अवधारात्मक आर्टलाई नेपालमा लगानी नभएकाले मूलधारमा आउन नसकेको कलाकार दीक्षितको तर्क छ। ‘यस्तो अभ्यास नेपालमा पहिलोपटक गरिएको होइन। यसको लागि लगानी धेरै लाग्ने भएकाले कलाकारले आफैँ खर्च गर्न सक्दैनन्। यसको लागि आर्थिक जोहो भयो भने प्रदर्शनी गर्न सकिन्छ’, दीक्षितले भने।
 
कुची र रङ  कागजमा पेन्टिङ गर्नु र कुनै सामग्री प्रयोग गरेर अनुभूत गराउनु फरक कुरा हो । कलाकारले वर्षाैँ लगाएर आफ्नो अवधारणा विकास गरेको हुन्छ अनि प्रदर्शनी राख्छ। यो आर्टले क्यानभासलाई छुट्याउँछ। उनी भन्छन् ,‘यसमा रहेर बाँच्न कठिन छ। यसको कुनै मूल्य पनि हुँदैन। यो मात्रै सिर्जना हो। कलाकारले आफ्नो अवधारण पस्कन पाउँछन् र कुनै मुद्दा उठाउनका लागि सहयोग पुग्छ।’
 
आर्थिक सहयोग नहुँदा आर्ट प्रदर्शन गर्न नसकेको दुःखेसो पोख्छन् कलाकार रवीन्द्र श्रेष्ठ। ‘आर्ट ग्यालरीले यस्ता आर्ट राख्न मान्दैनन्। नेपालमा यस्ता आर्ट देखाउने कुनै पनि फेस्टिभल हुँदैन। यो बिक्री हुने सम्भावना निकै कम हुन्छ’, उनले भने। यो आर्टलाई कलाकारले संग्रहालय र विदेशका फेस्टिलभ थलो मात्रै कुर्नुपर्ने हुन्छ। ‘यो आर्टको सम्भावना नभएको होइन। तर, समय लाग्छ। धैर्यता पनि चाहिन्छ’, उनी भन्छन् ‘यसमा लगानी गर्याे भने प्रशस्त सम्भावना छ। आर्टले दिन  खोजेको सन्देश जनमानसमा पुगिसकेको हुन्छ। कलाकारलाई आर्थिक उपार्जन कम भएको छ। त्यही भएर पनि यसको अभ्यास कम भएको हो।’

सुझावित समाचार