संयुक्त राष्ट्रसंघ मातहत रहेर नेपाल सरकारले पठाउने शान्ति सेनाको योगदानमाथि विमर्श गरिएको छ। ‘कन्सोर्टियम अफ साउथ एसियन थिंक ट्यांक्स’ (कोसाट)को मुख्य आयोजनामा काठमाडौंमा भएको कार्यक्रममा विज्ञ तथा सुरक्षा मामिला पत्रकारहरूले शान्ति सेना मिसनमाथि विमर्श गरेका हुन्।
संस्थाले शान्ति सेनामा नेपालको योगदान विषयक पुस्तिकासमेत प्रकाशन गरेको छ, जसमा प्रा. राजामोहन, रथी बालानन्द शर्मा, डिबी सुवेदी, राजेश श्रेष्ठ, पूर्वडिआइजी नवराज सुवेदी, डा. दिनेश भट्टराई तथा चिरन थापाको लेख समावेश गरिएको छ। उक्त पुस्तिकामाथि रहेर विज्ञहरूले विमर्श गरेका हुन्।
कार्यक्रममा बाल्दै डा. दिनेश भट्टराईले शान्ति स्थापनार्थ नेपालले उत्कृष्ट प्रदर्शन गर्दै आएको बताए। ‘सरकारले आर्थिक उपार्जनको लागि मात्र शान्तिसेनालाई केन्द्रमा राख्नुहुँदैन’ उनले भने, ‘विश्वमा नेपालको उपस्थिति र योगदान स्थापित गर्न शान्तिसेनालाई उपयोग गर्नुपर्छ। त्यसैअनुसार तालिम गराउनुपर्छ।’
पूर्वरथी नेपालभूषण चन्दले राष्ट्रसंघले शान्ति स्थापनार्थ सेना परिचालन गर्न थालेको सुरुवाती चरणदेखि नै नेपाली सेनालाई सहभागी गराएको स्मरण गरे। चन्दले भने, ‘शान्ति सेनाको योगदान र इतिहास विशेष महत्त्वको छ। नेपाली सुरक्षा दस्ताले अनेकौं जोखिम सामना गरेर आफूलाई प्रमाणित गरेको छ।’ यस्तै डा. निश्चलनाथ पाण्डेले विश्व भूराजनीतिमा आएको परिवर्तनअनुसार नेपालले पनि शान्ति स्थापनामा अझ प्रतिबद्ध भएर लाग्नुपर्नेमा जोड दिए।