पार्टीलाई एकढिक्का र लोकप्रिय बनाउने प्रमुख जिम्मेवारी सभापतिमा छ : फर्मुल्लाह मन्सुर

शनिबार, ३ पुष, २०७८
डिजिटल संस्करण
पार्टीलाई एकढिक्का र लोकप्रिय बनाउने प्रमुख जिम्मेवारी सभापतिमा छ : फर्मुल्लाह मन्सुर

फर्मुल्लाह मन्सुर, नवनिर्वाचित सहमहामन्त्री

अन्तर्वार्ता

१४औँ महाधिवेशनबाट कांग्रेसको केन्द्रीय पदाधिकारीको टिम कस्तो बन्यो ?
शेरबहादुर देउवाको नेतृत्वमा हामी चुनाव लडेका थियौँ । सभापतिजीलाई जिताउन पूरा सहयोग भयो । धेरै साथीको सहयोग पनि मिल्यो । धेरै साथीको व्यवस्थापन पनि गर्नुपर्ने भयो । त्यसैले अपेक्षा गरेअनुसारको नतिजा आएन । शेरबहादुरलाई पहिलो चरणमै चुनाव जिताउने योजना थियो । तर, त्यो सम्भव भएन । प्रचार–प्रसार उहाँमा केन्द्रित भयो, त्यसैले चाहेअनुसारको परिणाम निकाल्न सकेनौँ । आन्तरिक प्रतिस्पर्धामा जो–जो साथी आउनुभएको छ, राम्रो टिम बन्यो । 

टिमको नेतृत्वको हैसियतले सभापतिले कसरी पार्टी चलाउनुहुन्छ ? 
शेरबहादुर देउवाले १३औँ महाधिवेशनमा उहाँसँग पराजित भएका रामचन्द्र पौडेल र कृष्णप्रसाद सिटौला र उहाँको टिमबाट चुनाव लडेर पराजित भएका गगन थापा र उमाकान्त चौधरीलगायतका नेतालाई केन्द्रीय कार्यसमितिमा मनोनीत गर्नुभयो । पार्टीको ९९ प्रतिशत निर्णय सहमति र उहाँहरूको सल्लाहमा भयो । पार्टीलाई एकढिक्का बनाउनुभयो । पार्टीलाई एकढिक्का राख्ने सभापतिमा क्षमता छ, त्यसैले अहिले पदाधिकारीमा जसले जहाँबाट जिते पनि केही फरक पार्दैन । सभापति देउवाको नेतृत्वलाई मानेर सबैजना हिँड्नुहुन्छ र सबैलाई सम्मानका साथ समेटेर सभापति अगाडि बढ्नुहुन्छ । १३औँ महाधिवेशनदेखि १४औँ महाधिवेशनसम्म उहाँको कार्यपद्धति पनि त्यही देखिन्छ । आन्तरिक चुनावका वेलामा एक–अर्काको विरोध हुनु स्वाभाविक हो । तर, पार्टी एकढिक्का भएर अगाडि जान्छ । 

कांग्रेस अब कस्तो बन्छ र कसरी चल्छ ? 
केन्द्रीय कार्यसमितिमा शेरबहादुर देउवाको पूर्ण बहुमत आउँछ । तैपनि, पार्टीका सबै साथीलाई मिलाएर लैजानुपर्ने हुन्छ । कांग्रेस पार्टीको विशेषता भनेको सबैलाई महत्व दिएर लैजाने हो । कसैलाई स्पेस दिइएन भने पार्टी एकढिक्का बनाउन सकिँदैन नि । अर्कोलाई सम्मान र अवसर दिएर मिलाएर जाँदा पनि भागबन्डा भयो भन्छन् । अर्कोतिर स्वेच्छाचारी भयो पनि भन्छन् । सबैलाई मिलाएर लाँदा भागबन्डा भयो भन्न मिल्दैन । 

अब सभापतिका चुनौती के–के हुन सक्छन् ? 
चुनौती त म भन्दिनँ । उहाँलाई जिम्मेवारी थपिएको छ । देशभरिका कार्यकर्ताले व्यापक रूपमा रूपान्तरण र पुस्तान्तरणको विषय उठाएका थिए । पार्टीबाहिर पनि उस्तै मुद्दा थियो । पार्टी ठीक ढंगले चलेन भनिएको थियो । तैपनि, देशभरिका कार्यकर्ताले देउवाले नै सबैलाई मिलाएर लान सक्छन् भन्ने विश्वास गरे । १३औँ महाधिवेशनदेखि १४औँ महाधिवेशनमा उहाँले पार्टीलाई जुन किसिमबाट अगाडि बढाउनुभयो, त्यसको प्रभाव होला । तपाईंको भाषामा चुनौती होला । मेरो भाषामा त्यो जिम्मेवारी हो ।

पार्टीलाई एकढिक्कासहित गतिशील बनाउने, बढीभन्दा बढी जनतामा पार्टीलाई लोकप्रिय बनाउने र कांग्रेससँग धेरै जनता जोड्ने उहाँको प्रमुख जिम्मेवारी छ । अर्कोतिर तीनै तहको आगामी निर्वाचनमा कांग्रेसको वर्चस्व कायम गर्ने र सरकार बनाउने हो । यो दुईवटा जिम्मेवारी उहाँमा आएको छ । ओली सरकारले लोकतान्त्रिक मूल्य र मान्यतामाथि घात गरेको थियो । एमालेले अहिले पनि संसद्लाई अवरुद्ध गरेर लोकतान्त्रिक मूल्य–मान्यताको खिलाफमा काम गरेको छ । यस्तोमा लोकतान्त्रिक शक्तिलाई एकढिक्का गराएर त्यस्तो प्रवृत्तिविरुद्ध लड्नुपर्ने अर्को जिम्मेवारी छ । 

निर्वाचनमा देशलाई लगेर निर्वाचन सम्पन्न गराउनुपर्नेछ । विगतमा कांग्रेसको नेतृत्वमा पनि संविधान बन्यो । त्यसपछि केपी ओलीको सरकार बन्यो, निर्वाचन गराउन एक वर्षमा एउटा पनि कानुन बनाउन सकेन । देउवाको सक्षमताले प्रचण्डजीलाई यता ल्याएर सरकार बनाइयो र तीन तहको निर्वाचन गराइयो र संविधानको कार्यान्वयन सुरु भयो । त्यो क्षमता देउवामा छ । सबैलाई मिलाएर लोकतन्त्रलाई बलियो बनाउँदै निर्वाचन गराएर लोकतन्त्रलाई लिकमा ल्याउने जिम्मेवारी पनि सभापतिको काँधमा छ । चुनौतीका रूपमा भन्दा पनि यसलाई जिम्मेवारीका रूपमा हेर्नुपर्छ ।  

सुझावित समाचार