शेरबहादुर देउवाको दोस्रो इनिङ्स सुरु भयो : धनराज गुरुङ

देउवाले दोस्रो इनिङ्समा सेन्चुरी हान्न नसके पनि अर्धशतक हान्छन्

शुक्रबार, २ पुष, २०७८
डिजिटल संस्करण

नेपाली कांग्रेसका नवनिर्वाचित उपसभापति धनराज गुरुङले प्रधानमन्त्री तथा पार्टी सभापति शेरबहादुर देउवाको दोस्रो इनिङ्स सुरु भएको बताएका छन्। शुक्रबार काठमाडौंमा आयोजित एक कार्यक्रममा उपसभापति गुरुङले पार्टीमा सभापति देउवाको दोस्रो इनिङ्स सुरु भएको बताएका हुन्।

उनले  सभापति देउवाले दोस्रो इनिङ्समा सेन्चुरी हान्न नसके पनि अर्धशतक हान्ने दाबी गरे। उपसभापति गुरुङले पार्टीलाई विधिसम्मत बनाउने ठाउँमा आफू पुगेको भन्दै अब पार्टी विधि र पद्धतिअनुसार चल्ने बताए। उनले  यो अग्निपरीक्षा भएकोले यसमा खरो उत्रिनु आफ्नो कर्तव्य भएको पनि बताए।

उपसभापति गुरुङले भने, ‘क्रिकेट कहिलेकाहीँ म पनि हेर्छु, यहाँहरूले पनि हेर्नुहोला ? क्रिकेट म्याचमा टेस्ट म्याच भन्ने हुन्छ एउटा, त्यसमा एउटै ब्याट्सम्यानले दुईपल्ट ब्याटिङ गर्नुपर्छ। पहिलो इनिङ्स, दोस्रो इनिङ्स । भलै श्रद्धेय नेता शेरबहादुर देउवाको पहिलो इनिङ्स राम्रो भएन होला । क्रिकेटमा पहिलो इनिङ्समा डकआउट हुने ब्याट्सम्यानले पनि दोस्रो इनिङ्समा सेन्चुरी हानिरहेको हुन्छ। हो त्यस्तै गरेर हाम्रो शेरबहादुर देउवाज्यूको पहिलो इनिङ्स त्यति राम्रो हुन नसके पनि दोस्रो इनिङ्स सुरु भयो। यसमा हामी पनि छौँ नि ब्याट्सम्यान। तर हामी आशा गरौँ, हाम्रो प्रिय, श्रद्धेय सभापति सेन्चुरी नहाने पनि हाफ सेन्चुरी पक्कै हान्नुहुनेछ। त्यो ठाउँमा हामी पुर्याउँछौँ। विधिबमोजिम चल्ने पार्टी बनाउँछौँ। विधानबमोजिम चल्ने पार्टी बनाउँछौँ। हामी अग्निपरीक्षामा छौँ। रूपान्तरित भनेको विधि, पद्धतिबाट चल्ने पार्टी हामी बनाउँछौँ।’

नव–निर्वाचित उपसभापति गुरुङले महाधिवेशनमा आफूहरूले ४० प्रतिशत मत प्राप्त गरेको भए पनि ६०–४० जसरी पहिलेको झैँ भाग खोज्न नजाने बताए। उनले भागबन्डा खोज्दा पार्टीको स्तर गुमेको अनुभवबाट अब पार्टीलाई भागबन्डारहीत बनाएर पुरातन र परम्परावादी सोच नराख्ने स्पष्ट पारे। उपसभापति गुरुङले न्यायोचित व्यवस्थापन गरेर पार्टीलाई रूपान्तरित र न्यायोचित ढंगले अघि बढाउने बताए। उपसभापति गुरुङले भ्रष्टाचारका कारण जनताले सुशासन पाउन नसकेको दाबीसमेत गरे। 

सुझावित समाचार