नेकपा एमालेका महासचिव शंकर पोखरेलले संसद्को गतिरोध हटाउन सभामुख अग्निप्रसाद सापकोटाले राजीनामा दिनुपर्ने बताएका छन्। शुक्रबार ललितपुरको च्यासलस्थित तुल्सीलाल स्मृति भवनमा नेकपा एमाले केन्द्रीय प्रचार विभागले आयोजना गरेको पत्रकार सम्मेलनमा उनले यस्तो बताएका हुन्।
आफ्नो पार्टीले कारबाही गरेका सांसदहरूको सूचना जारी नगर्ने गल्ती सभामुखले गरेको भन्दै उनले त्यसलाई सच्याउने वा राजीनामा दिने काम भए मात्रै संसद्को गतिरोध अन्त्य भएर जाने बताए। महासचिव पोखरेलले सञ्चारकर्मीहरूले राखेका जिज्ञासाको जवाफ दिने क्रममा संसद्को अवरोध नहटेसम्म एमसिसीलगायतका कुनै पनि बिजनेस संसदमा प्रवेश गर्न नसक्ने बताए।
‘वास्तवमा भन्ने हो भने संसद्को गतिरोधसँग जोडिएर हामीले हाम्रा कुराहरू राखिराखेका छौँ। विशेषगरी हामीले के भनेका छौँ भने पार्टीको तर्फबाट कारबाही गरेका सदस्यहरूलाई सभामुखले सूचना मात्रै प्रकाशित गर्नुपर्ने अधिकार पाएको सभामुखले अन्यथा गरेको कुराप्रति हाम्रो असहमति छँदै छ। अर्कोतर्फ निर्वाचन आयोगको प्रक्रियाप्रति पनि हाम्रो असहमति छ। त्यसैगरी, हामी असहमति प्रकट गर्दै अदालतमा त्यस विषयमा मुद्दा दर्ता गरेका छौँ । यस अर्थमा हाम्रो भनाइ के हो भने– जबसम्म यी विषयको सम्बोधन हुँदैन, हामीले कारबाही गरेका सदस्यलाई राखेर संसद् चलाउने काम हुन्छ, त्यसमा हाम्रो असहमति रहन्छ,’ उनले भने, ‘सभामुखले नैतिक आधारमा सच्याउन नसक्ने हो भने राजीनामा दिएर मार्गप्रशस्त गर्ने। उहाँले अब मैले यसो गरिसकेँ पछाडि हट्न सक्दिनँ भन्ने हो भने संसद् चलाउने कर्तव्य उहाँको पनि हो। त्यस अर्थमा उहाँले मार्गप्रशस्त गरेर राजीनामा दिने हो भने नयाँ प्रक्रियाको सुरुवात हुन्छ ।’