अर्थतन्त्रका अधिकांश सूचक नकारात्मक

विदेशी मुद्राको सञ्चिति १० वर्षयताकै कमजोर, शोधनान्तर घाटा डेढ खर्ब पुग्यो

बिहिबार, १ पुष, २०७८
डिजिटल संस्करण

मुलुकको विदेशी मुद्राको सञ्चिति तीव्र रूपमा घट्दै १० वर्षमा सबैभन्दा कमजोर तहमा पुगेको छ । हाल मुलुकमा विदेशी मुद्राको सञ्चिति १२ खर्ब ४४ अर्ब रुपैयाँमा झरेको छ, जुन गत असार मसान्तको तुलनामा ११ प्रतिशतले कमी हो । यो सञ्चितिले ७ दशमलव दुई महिनाको वस्तु तथा सेवा आयात धान्न पर्याप्त रहने नेपाल राष्ट्रबैंकले बुधबार सार्वजनिक गरेको चालू आर्थिक वर्षको चार महिनाको आर्थिक स्थितिसम्बन्धी प्रतिवेदनले देखाएको छ । गत असार मसान्तमा १३ खर्ब ९९ अर्ब रुपैयाँ सञ्चिति थियो । 

विदेशी मुद्राको सञ्चिति ६ महिनाभन्दा कम अवधिको वस्तु तथा सेवा आयात धान्न मात्रै पर्याप्त हुने अवस्थालाई चिन्ताजनक मानिन्छ । यसअघि १० वर्षअघि सन् २०११ मा ५ दशमलव आठ महिनाको मात्रै वस्तु तथा सेवा आयात धान्न पुग्ने सञ्चिति रहेको थियो । त्यसअघि सन् २०१० मा ५ दशमलव चार महिनाको वस्तु तथा सेवा आयात मात्रै धान्ने स्तरमा सञ्चिति पुगेको थियो । त्यसयता विनिमय सञ्चिति क्रमशः सुधार हुँदै आएको थियो । त्यसपछि सन् २०१९ को जुनमा ७ दशमलव सात महिनाको मात्रै वस्तु तथा सेवा आयात गर्न सक्ने स्तरमा सञ्चिति पुगेको थियो । इतिहासमा हेर्यो भने सन् १९८५ मा २ दशमलव दुई महिनाको मात्रै वस्तु तथा सेवा आयात गर्न पुग्ने स्तरमा सञ्चिति पुगेको थियो । 

त्यस्तै, भुक्तानी सन्तुलनको अवस्था पनि निकै कमजोर बनेको छ । चालू आर्थिक वर्षको चार महिनामा शोधनान्तर घाटा एक खर्ब ५० अर्ब ३८ करोड पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा शोधनान्तर स्थिति रु.११० अर्ब ६५ करोडले बचतमा थियो । गत महिना सोधनान्तर घाटा ७६ अर्ब १३ करोड रहेकोमा एकै महिना त्यो करिब दोब्बरले बढेको हो । 

त्यस्तै, यस अवधिमा चालू खाता रु. दुई खर्ब २३ अर्ब १९ करोडले घाटामा रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा चालू खाता रु. १९ अर्ब एक करोडले बचतमा रहेको थियो । बढ्दो व्यापार घाटा तथा घट्दो रेमिट्यान्सका कारण मुलुकको सञ्चिति घटेको तथा सोधनान्तर घाटा बढेको हो । यस अवधिमा विप्रेषण आप्रवाह ७.५ प्रतिशतले कमी आई रु. तीन खर्ब १२ अर्ब ४२ करोड कायम भएको छ । अघिल्लो वर्षको सोही अवधिमा विप्रेषण आप्रवाह ११.२ प्रतिशतले बढेको थियो । त्यस्तै, आर्थिक वर्ष २०७८÷७९ को चार महिनामा कुल वस्तु व्यापार घाटा ५६.८ प्रतिशतले वृद्धि भई रु. पाँच खर्ब ६८ अर्ब १७ करोड रुपैयाँ पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो घाटा १२.५ प्रतिशतले घटेको थियो ।
 
 मूल्यवृद्धि साढे पाँच पतिशत
२०७८ कात्तिक महिनामा उपभोक्ता मुद्रास्फीति ५.३२ प्रतिशत पुगेको छ । अघिल्लो वर्षको सोही महिनामा यस्तो मुद्रास्फीति ४.०५ प्रतिशत थियो । उपभोक्ता मूल्यवृद्धिदर अझै बढने सम्भावना रहेको नेपाल राष्ट्रबैंककी डेपुटी गभर्नर निलम ढुंगानाले एक कार्यक्रममा बताइन् । २०७७ कात्तिकको तुलनामा २०७८ कात्तिकमा घ्यू तथा तेलको मूल्य सबैभन्दा धेरै २९.११ प्रतिशतले बढेको छ । त्यस्तै, यातायात, माछा तथा मासु, गैरमदिराजन्य पेय पदार्थ, सुर्तीजन्य वस्तु र दाल तथा गेडागुडी उपसमूहको मूल्यवृद्धि क्रमशः १२.३६ प्रतिशत, १०.९१ प्रतिशत, १०.७० प्रतिशत, १०.३० प्रतिशत र १०.२४ प्रतिशत रहेको छ ।

सुझावित समाचार